कीर्तिपुर, १६ फागुन । काठमाडौँ दक्षिणभेगस्थित चाल्नाखेल, सेतीदेवीलगायतका स्थानमा खुवाको व्यापारका लागि कृषकहरू गाईपालनतर्फ आकर्षित बन्न थालेका छन् ।
काठमाडौँ दक्षिण भेगस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा दैनिकरूपमा खुवाको उत्साहजनक व्यापार हुन थालेसँगै यस क्षेत्रका कृषकहरू गाईपालनतर्फ आकर्षित बनेका हुन् ।
विगतमा परम्परागत तवरबाट गाईपालन हुने गरेको यस क्षेत्रमा विस्तारै यसले व्यावसायिक रूप लिन थालेको छ । पछिल्लो समयमा खुवाको व्यापार व्यावसायिक रूपबाट पनि बढ्न थालेको र यस भेगमा उत्पादित खुवाले काठमाडौँका साथै मकवानपुरको हेटौँडासम्म पनि बजार पाउने थालेका कारण गाईपालनले व्यावसायिक रूप लिन थालेको स्थानीय कृषक चन्द्र बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँ दक्षिणभेगका चाल्नाखेल, सेतीदेवी, टल्कू, छैमले, दक्षिणकालीलगायतका स्थानमा खुवाको उत्पादन गर्ने गरिएको छ ।
प्रतिकिलो लगभग रु ४०० का दरले खुवाको व्यापार हुने गरेको जानकारी गराउँदै उहाँले यस क्षेत्रमा उत्पादित दूधबाट खुवा बनाउनुका साथै काठमाडौँका विभिन्न स्थानमा दूधको व्यापारसमेत गर्ने गरिएको जानकारी गराउनुभयो ।
Add Comment