बिहिबार, बैशाख १३, २०८१

सिन्धुको कफी कोरियामा निर्यात

चौतारा, १३ फागुन । सिन्धुपाल्चोकमा उत्पादित प्राङ्गारिक (अर्गानिक) कफी दक्षिण कोरियामा लोकप्रिय भएपछि प्रतिकेजी साढे छ अमेरिकी डलर मूल्यमा निर्यात गर्नेगरी हालै सम्झौता भएको छ । दक्षिण कोरियास्थित ब्युटिफुल कफी स्टोरले यस वर्ष आठ मेट्रिक टन ग्रिनविन कफी लाने सम्झौता भएको हो । गत वर्ष पार्चमेन्ट र चेरी कफी २३ टन कोरिया पुगेको थियो । तीन वर्षअघि जर्मनीको प्राङ्गारिक प्रमाणिकरण गर्ने संस्था कन्ट्रोल युनियनले यहाँको कफी प्रमाणिकरण गरेपछि गत वर्षदेखि विदेश निर्यात गर्न सुरु भएको हो । यस वर्ष २२ मेट्रिक टन ड्राइ पार्चमेन्ट कफी उत्पादन भएकामा कोरिया पठाएर बाँकी रहेको स्वदेशमा खपत गरी रु एक करोड २५ लाख आम्दानी हुने लक्ष्य राखेको जिल्ला कफी सहकारी सङ्घका अध्यक्ष सुदर्शन वोलखेले जानकारी दिनुभयो । गत वर्ष रु ७५ लाख आम्दानी भएको थियो । प्राङ्गारिक प्रमाणिकरण गरेर पठाइएको कफी विदेशी बजारमा गुणस्तरीय ठहरिएपछि माग बढेको सङ्घकी व्यवस्थापक मन्दु थापाले बताउनुभयो । कृ.स

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १३, २०७०