मङ्लबार, बैशाख ४, २०८१

खेती बालीका लागि अत्यन्त राम्रो शुभ संकेत देखिएको छ –विष्णुलाल श्रेष्ठ

Untitled-1

वसन्त पञ्चमीका दिनबाट हिउँद सकिएर वर्षा लागेको मान्यता राखिन्छ नेपालमा । नेपाली किसानहरु यही विश्वास राख्छन् । सदियौंदेखिको प्रचलन र मान्यता अनुसार नागपञ्चमीबाट हिउँद लाग्ने र वसन्त पञ्चमीबाट वर्षा लाग्ने विश्वास अद्यापि छ किसानहरुमा । सामान्य किसिमले हेर्दा साउनको मध्य वर्षामा कसरी हिउँदको सुरुआत हुने र मध्य हिउँदमा कसरी वर्षात्को संकेत मान्ने हो ? तर परापूर्व कालदेखि पुर्खाहरुले मान्दै आएको प्रचलन, रिति रिवाज र प्रथालाई हामी आउने कैयौं शताब्दिसम्म मानिरहने छौं । वसन्त पञ्चमीकै दिनको अर्को पाटो श्रीपञ्चमी हो । विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आराधना यही दिन गरिन्छ । ससाना नानीहरुलाई अक्षराम्भ पनि यही दिन गरिन्छ । साहित्य सिर्जना गर्ने स्रष्टाहरुका लागि पनि यो दिन महत्वपूर्ण मानिन्छ । पत्रकारहरुले पनि यही दिन नौलो विषयको थालनी गरी कलम चलाउने गरेका हुन्छन् । त्यसैगरी वसन्त पञचमी किसानहरुका लागि मार्ग दर्शन गर्ने दिनका रुपमा सम्झीइन्छ । नागपञ्चमीबाट प्रारम्भ भएको हिउँदको आयामलाई वसन्तपञ्चमीका दिन विसर्जन गरिन्छ र अब वर्षा लाग्यो वर्षे खेतीका लागि जोहो र जरजाम गर्नु पर्ने सन्देश पनि यही पर्वले दिने गरेको छ । त्यसैले त यही दिनमा वर्षे खेतीको सुरुआतका लागि मकै छर्ने र बीउ राख्ने प्रारम्भ पनि गरिन्छ । वर्षे खेतीका निमित्त जमीन बनाउने, बीउको प्रबन्ध आदि गर्ने कामले किसानहरुलाई चटारै हुन्छ ।
यसपटक नेपाली किसानका लागि राम्रो मौसमको सुरुआत पनि भएको छ । परापूर्खादेखि चल्दै आएको ’पुस रुँदे, माघ बुँदे, फागुने झरी समय परी’ भन्ने उखान पनि यसैपालि चरितार्थ भएको किसानहरुको भनाइ रहेको छ । नभन्दै गएको पुुस महिनाको अन्तमा आकासमा काला बादलका धर्साहरु देखिए । केही समय डम्म आकाश ढाक्दा त्यसले राम्रो खेतीको संकेत दिन्छ भन्ने बूढापाकाहरुको भनाइ पनि रहेको छ । माघको पहिलो हप्तामा मुलुकभरि पानी पर्दा किसानहरुका लागि अत्यन्त हर्षको समय रह्यो । जाडै सहेर पनि किसान खेत बारीमा ओर्ले  । आलु , काउली, साग, गहुँ, फापर, हिउँदे मकै, बन्दाकोपी, प्याज, लसुन आदिका लागि राम्रो मौसम रह्यो । नेपाली किसानहरुमा खुसीयाली छाउनु स्वाभाविक पनि हो । भलै जाडोले केही समय गरीब गुरुवाको जीवन तहस नहस त पा¥यो नै तर समष्टिमा खेतीपातीका लागि भने असल मौसमको सुरुआत भएको संकेत भने भयो । २०७० साल मनसुनका हिसाबले अव्वल रहेको कृषि विज्ञहरुको भनाइ रहेको छ । अत्यधिक वर्षाले मेची देखि महाकाली सम्मका जनतालाई कष्ट त बनायो । कतिलाई घर न घाटको बनायो पनि । घर गोठदेखि जमिन बगाएर करोडौंको नोक्सान त ग¥यो नै । नेपालीहरुको मृत्यु पनि भयो । तीर्थ गर्न गएका नेपालीहरुको विचल्ली भएको खबर पनि प्रकाशमा आयो । वर्षाले हरेक वर्ष दुख दिने नोक्सानी गर्ने कुरा त आफ्नो ठाउँमा छँदै छ । कतिपय क्षति नेपालीको आफ्नै असावधानीले भएका छन् । यी र यस्ता कुराहरु वर्षामा सामान्य नै हुन् । तर समग्रमा यसपालीको वर्षा र हिउँद नेपाली किसानहरुका लागि अव्वल सावित भएको कुरामा भने दुई मत छैन । यस पटक राम्रो धान उत्पादन भएको आँकडा पनि सरकारले सार्वजनिक गरेकै छ  । यसले गर्दा आफूलाई खाने अन्न छुट्याएर बाहिर निर्यात गरियो । कृषि उत्पादनमा गुणात्मकता आउनु भनेको राष्ट्रिय आम्दानीमा बढोत्तरी हुनु हो ।
धान जस्तै गहुँ मकै, आलु, तरकारी आदिमा पनि राम्रो फसल लिन सकियो भने राम्रो आम्दानी हुनेमा शंका गर्नु पर्दैन । खेतीपातीका लागि राम्रो दिनको सुरुआतका रुपमा वसन्तपंचमीले शुभ संकेत दिएको मान्नुपर्दछ । जसरी वर्षे धान खेती राम्रो भएपछि राष्ट्रिय आम्दानीमा बढोत्तरी भयो त्यसरी नै हिउँदे खेती पनि राम्रो हुने देखिन्छ । अहिले हिमालदेखि तराइसम्मका किसानका जमीनमा हिउँदे खेती निकै फस्टाएको देखिएको छ । आलुको फसल पनि राम्रो देखिनछ । यसपालिको हिउँदे वर्षाले विभिन्न खालका तरकारीलाई राम्रो प्रभाव पारेको स्वयं किसानहरुको भनाइ रहेको छ । नेपालको विशेषगरी पूर्वी जिल्लाहरुमा गोलभेंडा खेती राम्रो भएको खबर बाहिर आएको छ । किसानहरुले राम्रो आम्दानी लिएको पनि समाचार सार्वजनिक भएका छन् । गोलभेंँडाका साथै साग पात, आलु , गहुँ, फापर, काउली बन्दाकोपी, खुर्सानी, चम्सुरो पालुङ्गो, प्याज, लसुन, मुला, भन्टाजस्ता मौसमी तरकारी निकै फस्टाएका छन् । यो पनि किसानका लागि खुसीकै कुरा हो । हिउँदे खेती राम्रो भएपछि त्यसमा लगाइएको मल आदिले वर्षे धानलाई राम्रो असर गर्छ भन्ने किसानहरु बताउँछन् । कृषि विज्ञहरुको भनाइ पनि त्यही रहेको छ । जे होस् यसपाली वर्षा सुरुआत हुने संकेतका रुपमा आएको वसन्त पञ्चमीले किसानका लागि भने फलिफाप हुने नै छ ।यति हुँदाहुँदै पनि किसानहरुले बुद्धि पु¥याउनु पर्ने आवश्यकता पनि टड्कारै छ । समय राम्रो भएर पनि त्यसलाई सदुपयोग गर्न सकिएन भने फसल राम्रो लिन सकिन्न । वर्षे धानका लागि व्याडको जोहो गर्ने, मकै छर्ने, खेत बारीमा लगाउने तरकारीका साथै लहरे तरकारीका बीउ राख्ने बेला पनि यसै मौसममा सुरुआत हुने हो । यो असल समयलाई सदुपयोग गरेर बेलैमा राम्रो प्रबन्ध गर्न सकिएमा गएको वर्षामा धान बाली फस्टाए जस्तै हिउँदमा लिन सकिने बाली राम्रो हुनेमा आशा गर्न सकिन्छ । बेलैमा ब्याडको प्रबन्ध, मल बीउको जोहो, औजारको व्यवस्थापन आदिको बन्दोवस्त मिलाउनु जरुरी छ । किसानको एकतर्फी प्रयासले मात्र र मौसमले साथ दियो भन्दैमा पनि फसल राम्रो लिन सकिने होइन । यसमा कृषि मन्त्रालय, कृषि विभाग र अन्य संवद्ध संस्थाहरुले पनि कृषिमा विशेष सहयोग पु¥याउनु जरुरी छ । सिंगो राष्ट्रको आम्दानी बढ्नु भनेको राष्ट्रकै विकास हुनु हो । यसमा कृषि विज्ञ, किसान, सरकार र अन्य निकायको पनि ध्यान जानु जरुरी छ । त्यसो भयो भने मात्र समग्रमा कृषि फसल राम्रो हुने आशा गर्न सकिन्छ । जे होस् यसपालि जसरी वर्षे खेतीले राम्रो संकेत दिएर गयो त्यसरी नै हिउँद सकिएर वर्षा लाग्ने पर्वका रुपमा लिइएको वसन्त पंचमीले पनि त्यही सुखद् सन्देश छाडेको छ । यसलाई अवसरका रुपमा लिएर संपूर्ण किसानहरुले मेहनतका साथ जुट्ने हो भने आउँदो खेतीको आम्दानीले सिंगो देशलाई भरथेग गर्नेमा आशा लिन सकिन्छ ।

प्रकाशित मिति: आइतवार, माघ २६, २०७०