बिहिबार, बैशाख १३, २०८१

दूधबाट तीन अर्बभन्दा बढी आम्दानी

मङ्गलवारे (इलाम), २ माघ । इलाममा यो वर्ष दूध उत्पादनमा ४.५६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष एक लाख पाँच हजार ९७८ मेट्रिक टन दूध उत्पादन भएकामा यो वर्ष ४.५६ प्रतिशतले वृद्धि भई एक लाख १० हजार ८१७ मेट्रिक टन दूध उत्पादन भएको हो । दूध उत्पादनमा वृद्धि भई किसानको आर्थिकस्तर समेतमा वृद्धि भएको छ । यो वर्ष जिल्लाका किसानले करिब सवा तीन अर्ब रुपैयाँको दूध बिक्री गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । किसानले गाई र भैँसीको एक लाख १० हजार ८१७ मेट्रिक टन उत्पादन गरेका छन् । आर्थिक वर्ष २०६८÷६९ एक लाख पाँच हजार ९५ मेट्रिक टन, आर्थिक वर्ष २०६७÷६८ मा ९९ हजार ५१३ मेट्रिक टन दूध उत्पादन भएको थियो । उत्पादित दूध प्रतिलिटर औसतमा ३० रूपैयाँमा बिक्री भइरहेको इलाम दुग्ध उत्पादक सहकारी संस्थाका कर्मचारी अर्जुन सिवाकोटी बताउनुहुन्छ । बढी दूध उत्पादन हुनुमा गाईभैँसीमा गरिने कृत्रिम गर्भाधान प्रक्रिया मुख्य रहेको पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा किसानले व्यावसायिक रूपमा उन्नत जातका गाई पाल्दै आएका छन् । होलिस्टिन र जर्सी गरी इलाममा ३३ हजार ३७१ वटा उन्नत (वर्णशङ्कर) जातका गाई पालिएको छ । यसको तुलनामा नौ हजार ६७७ वटा मात्र स्थानीय जातका गाईपालन गरिएको छ । स्थानीय जातका गाईले दूध थोरै दिने भएकाले किसानले उन्नत जातका गाईपालन गर्न थालिसकेका छन् ।
यसैगरी वर्णशङ्कर जातका भैँसीभन्दा स्थानीय जातको भैँसीपालन बढी छ । तीन हजार ३७६ वटा स्थानीय जातका र तीन हजार २०६ वटा वर्णशङ्कर भैँसी छन् । ५५ हजारभन्दा बढी परिवार पशुपालन व्यवसायमा प्रत्यक्ष रूपमा संलग्न रहेको कार्यालयको भनाइ छ । दूध जिल्लाको कुटीडाँडा, फिक्कल, तीनघरे, लक्ष्मीपुर, फाकफोक, विव्ल्याँटे, पुवाखोलालगायत १२ वटाभन्दा बढी चिस्यान केन्द्रबाट विराटनगर दुग्ध वितरण आयोजनामा निकासी हुँदै आएको छ । जिल्लाका ३६ वटाभन्दा बढी गाउँबाट चिस्यान केन्द्रमा दूध ढुवानी हुँदै आएको छ । १२ वटाभन्दा बढी गाविसमा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानले दैनिक पा“चदेखि ४० लिटरसम्म दूध बेच्दै आएको पशुसेवा कार्यालयका प्राविधिक पदम राईले बताउनुभयो । जिल्लाबाट आयोजनामा वार्षिक एक करोड नौ लाख १७ हजार १३९ लिटर, रितिका डेरीमा चार लाख ७४ हजार ५०० लिटर र जीवन विकास समाज चार लाख १९ हजार ६९० लिटर दूध निकासी हुँदै आएको कार्यालयले जनाएको छ । किसानले गठन गरेका दुग्ध सहकारीबाट आएको दूध चिस्यान केन्द्र हु“दै आयोजनामा पुग्ने गरेको छ ।  यसबाहेक जिल्लाको विभिन्न स्थानका सरकारी र निजी चिज कारखाना, ललिपप उद्योग र निजीस्तरका डेरीले पनि किसानले उत्पादन गरेको दूध किन्ने गरेका छन् । जिल्लामा कृत्रिम गर्भाधान सेवामा समेत वृद्धि भएको छ । गाई र भैँसीको दूध उत्पादनमा वृद्धि गर्नका लागि कार्यालयको पहलमा जिल्लाका आठ स्थानमा पशु प्रजनन केन्द्र स्थापना भएका छन् ।

प्रकाशित मिति: बिहिबार, माघ २, २०७०