शनिबार, फाल्गुन १२, २०८०

कृषि विकास मन्त्रालय किसानहरु कै मन्त्रालय हो । त्यसकारण मन्त्रालयले किसानहरुको भलाईका लागि नै काम गर्दछ – जयमुकुन्द खनाल, सचिव, कृषि विकास मन्त्रालय

khanalकृषि विकास मन्त्रालयमा सरुवा भएर आएदेखि नै किसानका लागि उत्कृष्ट कार्य गर्दै आउनु भएका कर्मठ, जेहेन्दार र किसानका पक्षमा वकालत गर्ने सचिवका रुपमा चर्चा बटुल्न सफल कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनाललाई बाली तथा पशुधन बिमा लागू भएपछि झनै किसानका पक्षमा उभिने सचिवका रुपमा परिचित गरायो । विगतमा रसायनिक मलमा टाउको फोड्नु पर्ने किसानहरुलाई खनालकै कार्यकालमा मल सहज रुपमा प्राप्त भयो । कुनै ठाउँमा मल अभाव भएको खवर सुन्नासाथ कुनै पनि समय तत्काल ‘एक्सन’ लिने काम र मलको आपूर्ति सहज बनाउने काममा आफूलाई प्रस्तुत गर्ने खनाल मन्त्रालयले सञ्चालन गरेका आयोजनाहरु कसरी सञ्चालन भईरहेका छन् भन्ने स्थलगत निरिक्षण गर्न समेत पुग्ने गरेको पाइन्छ । मन्त्रालय मातहत रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाको धादिङ्गमा रहेको उपआयोजना निरिक्षण गर्न धादिङ पुगेका खनालसँग उपआयोजन स्थलमा नै गरिएको कुराकानीको अंश :
व्यवसायिक कृषि तथा व्यापार आयोजनाको उप आयोजना निरिक्षणमा आउनु भएको छ आयोजनाका बारेका जानकारी गराईदिनुस् न ?
कृषि विकास मन्त्रालय मातहत रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजना विश्व वैंकको सहयोगमा सञ्चालित आयोजना हो । गतबर्षसम्म यो आयोजना नेपालका २५ जिल्लामा सञ्चालित थियो भने यो आर्थिकबर्षबाट नेपालभर सञ्चालन हुँदै छ । नेपालभरका लागि व्यवसायिक कृषि गर्ने किसान, कृषक समूह, सहकारी लगायतलाई प्रस्ताव आव्हान गरेर आवेदन लिने काम सम्पन्न भएको छ । यो प्रारम्भिक प्रस्तावलाई बिज्ञहरुको टोलीले हेरेर पूर्ण प्रस्ताव माग्ने र प्रस्ताव अनुरुप स्थलगत निरिक्षण समेत गरेर मापदण्ड पूरा भएका समूहलाई पुरक अनुदान दिने गर्दछौं ।
विगतमा २५ जिल्ला थियो अव ७५ जिल्लामा सञ्चालन हुँदै छ यसलाई साना किसानसम्म पु¥याउनका लागि के गर्दैै हुनुहुन्छ त ?
यो कार्यक्रम साना किसानसम्म पनि पुग्ने किसिमले नै प्रस्ताव आव्हान गरिएको छ । आगामी चैत्रसम्ममा हामी १० लाखसम्मको व्यवसायिक कृषि गर्ने किसानहरुलाई जिल्ला कृषि कार्यालयबाट नै पुरक अनुदान पाउने किसिमले काम गर्दै छौं । प्याक्टको अनुदान यो बर्ष ७५ जिल्लामा लगिन लागिएकाले विगत ४ बर्षको अनुभवमा हामीले दिएको रकम उहाँहरुले सदुपयोग गर्नु भएको पाएका छौं । भने उहाँहरुले परम्परागकृषिबाट व्यवसायिक कृषिमा आफूलाई रुपान्तरण गर्न सफल हुनु भएको छ । साथै यो आयोजनाबाट केही भौतिक संरचना पनि निर्माण भएका छन् । ती भौतिक संरचनामा पनि व्यवसायिक कृषि गरिरहुन भएका किसानहरुको पनि लगानी रहेको छ । त्यसकारण पनि यो आयोजना समाप्त हुने वित्तिकै उहाँहरु अन्यत्र मोडिनु हुनुहुन्न र व्यवसायिक कृषिमा नै लाग्नु हुन्छ भन्ने अपेक्षा राखेका छौं ।
यस्ता आयोजनाहरुको विस्तारले खाद्य सुरक्षालाई कत्तिको असर गर्दछ भन्ने लाग्दछ ?
खाद्य सुरक्षाको कुरा गर्ने हो भने हामीले खाने कुरामा पनि अलि परिवर्तन गर्नु पर्दछ भन्ने मलाई लाग्छ । हामी आजको दिनमा मकै आयात गरिरहेका छौं । कारण हिजोसम्म हामी हाँडीमा मकै भुटेर खाने मान्छे अहिले ‘पपकन’आयात गरिरहेका छौ । हाम्रो खाने बानीमा आएको परिवर्तनले पनि कति असर परिरहेका छ । कोदोकै कुरा गर्ने हो भने पनि तोङवा बनाउनका लागि कोदो आयात भएको अवस्था देख्न सकिन्छ । ती चीजहरुलाई हामीले निरुत्साहित गर्नु पर्दछ त्यसका लागि खानेकुराको जागरण ल्याउनु पर्ने बेला पनि आएको छ । सामान्यतया धान वा अन्य खाद्यबालीमा मनसुनका कारण पनि प्रभाव पर्ने भएकाले पनि हाम्रो उत्पादनमा कहिले काँही गिरावट आउने गरेको पनि छ । मेरो आग्रह के छ भने हाम्रो देशमा जे उत्पादन हुन्छ त्यसैलाई उपभोग गर्ने बानी हामीले गर्नु पर्दछ । त्यो गर्न सक्यौं भने व्यवसायिक रुपमा कृषि गर्नेहरुलाई पनि प्रोत्साहन हुन्छ जस्तो लाग्दछ । सकेसम्म आयात गरिएका खाद्य बस्तु भन्दा आफ्नै देशमा उत्पादन भएका खाद्य बस्तु नै प्रयोग गर्नु अनिवार्य छ ।
यसको मतलव यस्ता आयोजनाहरुबाट सन्तुष्ट हुनुहुन्छ ?
आयोजनाले पुरक अनुदान प्रदान गरेको कुरामा सन्तुष्ट नै छु । किसानहरु अनुदान पाएपछि काम गरिरहनु भएको छ । म आफै अनुदान प्राप्त गरेका व्यवसायिक कृषि फार्महरुको अवस्थाका बारेमा निरिक्षण गर्न हिँडेको छु । सवैतिर उत्पादनमा नै जोड दिएको पाएको छु । यो अर्थले सन्तुष्टि छु । तर आयोजना सकिएपछि आउने परिणाम के हुन्छ भन्ने कुरालाई पनि हामीले दुरदर्शि रुपमा हेर्नु पर्दछ । दीर्धकालिन सोचमा कृषि व्यवसायलाई लैजान सक्नु पर्दछ । त्यसैले पनि आम किसानदाजुभाई दिदी बहिनीहरुलाई पटक पटक भन्दै आईरहेको छु । हामीले निर्वाहखेती भन्दा पनि व्यवसायिक कृषि खेतीमा जोड दिएर आय आर्जन बढाउने तर्फ उन्मूख हुनु पर्दछ । र विगतका ४ बर्षलाई हेर्नेहो भने आम किसानहरुमा त्यो जागरुकता आएको मैले पाएको छु ।
आयोजनापछि कृषि व्यवसायलाई दीर्धकालिन दिन मन्त्रालयले के योजना बनाएको छ त  ?
आयोजनापछि कृषिलाई दीर्धकालिन रुपमा अगाडि बढाउन राम्रो कुराहरुलाई लिएर नेपाल सरकारले आफै पनि कति काम गर्नु पर्ने हुन्छ । विदेशी दातृनिकायहरुले दिएको आयोजना सँधै रहन्छ भन्ने सोच हामीले कहिल्यै पनि लिनु हुँदैन । हामी आफैले नै गर्नु पर्दछ । त्यसकारण राम्रा कुरालाई नेपाल सरकारले नै कार्यक्रम बनाएर अगाडि लैजाने गृहकार्य नभएका होइनन् छन् ।
कृषि विकास मन्त्रालयमा सचिव भएर आएपछि बाली तथा पशुधन बिमा लागू गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नु भयो किसानहरु तपाईकै चर्चा गर्ने गर्दछन्  ?
त्यसलाई कसरी बुझ्नु पर्दछ भने कृषि विकास मन्त्रालय  किसानहरु कै मन्त्रालय हो । त्यसकारण मन्त्रालयले किसानहरुको भलाईका लागि नै काम गर्दछ । त्यही काम गर्ने सिलसिलामा बिमा समिति र हामी बसेर यो लागू गर्ने निर्णय गरेका हौं र २०६९ माघ १ गतेदेखि नै यो बिमा लागू भईसकेको छ । किसानहरुलाई आप्mनो बाली तथा पशुधनको बिमा गर्न हामीले आग्रह पनि गरिरहेका छौं । अर्कोकुरा किसानहरुलाई प्रिमियम तिर्नका लागि केही राहत होस् भन्ने किसिमले हामीले प्रिमियमको ५० प्रतिशत सरकारले दिने व्यवस्था पनि गरिदिएका छौं । तर अझै पनि किसानहरुसम्म बाली तथा पशुधन बिमा गर्नु पर्दछ भन्ने धारणा विकसित भईसकेको देखिएको छैन । हिजो जीवन बिमा गर्न पनि त्यत्तिकै गाह्रो थयो अहिले हेर्नु भयो भने जीवन बिमा नगर्ने अत्यन्तै कम छन् । यो पनि त्यस्तै हो समय लाग्छ तर केही बर्षभित्र नै आम किसानहरुल बाली तथा पशुधन बिमा गर्नु हुन्छ भन्नेमा म ढुक्छ छु । अर्कोकुरा म सचिव भएर आएपछि यो बिमा लागू भएको भएर होला तर मेरो जिम्मेवारी किसानका पक्षका भएका र देखिएका समस्यालाई समाधान गर्नु हो । किसानहरुले सहज र सरल रुपमा कृषि पेशामा लाग्न यस्ता कार्यल उहाँहरुलाई उत्प्रेरणा जगाउँछ भन्ने मेरो विश्वास पनि छ ।
तर बिमा कम्पनीहरुले काम गरिरहेका छैनन् भन्छन् नि ?
बिमा कम्पनीहरुले बिमा समितिको निर्देशन मान्नु हुन्छ जस्तो मलाई लाग्छ । बिमा कम्पनीहरुले जो निर्जिवन विमा सञ्चालन गर्नु भएको छ र बिमा समितिले दिएको निर्देशनलाई  उल्लंघन गरेर किसानहरुले बाली तथा पशुधन बिमा गराउन जाँदा गरिदिनु भएन र विमा समितिमा गएर वा हामीकहाँ आएर पनि उजुरी किसानहरुले गर्नु भयो भने बिमा समितिले उहाँहरुको नियम अनुसार कार्वाही गर्नु हुन्छ  ।
युवा लक्षित कार्यक्रमहरु आउन सकेनन् विदेशीने युवाहरुलाई कृषि व्यवसायमा लगाउन सकिएन भन्ने कुरा पनि आईरहेका छ नि  ?
त्यो होइन तपाईले हेर्नु भयो भने कृषि विकास मन्त्रालय मातहत सञ्चालनमा रहेका आयोजनाहरुले दिएका पुरक अनुदान मार्फत व्यवसायिक कृषि गर्ने धेरै भन्दा धेरै युवाहरु नै देख्न सक्नु हुनेछ । नेपाली बेरोजगार युवाहरु पछिल्लो समयमा कृषि व्यवसायतर्फ नै आकर्षित हुनु भएको मैले देखेको पनि छु । कतिपय युवाहरु मन्त्रालयमा नै आएर सल्लाह लिएर पनि जानु भएको छ । विदेशबाट फर्कनु भएका प्राय सवै युवाहरु पुनः विदेश जाने अवस्थाको कृषि व्यवसायका कारण नै अन्त्य भएको छ । प्राय विदेशबाट फर्कनु भएका अधिकांश युवा आफ्नै माटोमा काम गर्नु पर्दछ भन्ने मानसिकता बोकेर कृषि व्यवसायमा संलग्न रहेको मैले पाएको छु । त्यस्ता उत्साहित युवाहरुलाई आयोजनाहले सहयोग गरिरहेको छ ।

प्रकाशित मिति: आइतवार, पुस २८, २०७०