शुक्रबार, चैत्र १६, २०८०

कृषि उत्पादनका लागि बनाइएको शीतभण्डार उपयोगविहीन

इलाम, १८ पुस । पाँच करोड रुपैयाँ लागतमा इलाममा डेढ वर्षअघि निर्माण सम्पन्न भएको शीतभण्डार अझै प्रयोगमा आउन सकेको छैन । नेपालस्थित भारतीय दूतावासको रु पाँच करोडको लागतमा निर्मित शीतभण्डार सञ्चालनका लागि बारम्बार टेन्डर आह्वान गरे पनि अझै लाग्न सकेको छैन । नगरपालिकाले वि.सं. २०६९ पुस ६ गते कान्तिपुर दैनिक, माघ २ गते नागरिक दैनिक तथा स्थानीय पत्रिकामा ठेक्कासम्बन्धी सूचना प्रकाशन गरे पनि ठेक्का नलागेको सबइन्जिनियर मेघनाथ ढुङ्गानाले बताउनुभयो । “बारम्बार ठेक्का आह्वान गरियो तर एकैपटक पनि ठेक्का लागेन, त्यही भएकाले करोडौँको भवन उपयोगविहीन भएको हो,” ढुङ्गानाले भन्नुभयो । कृषि उत्पादनमा अग्रणी मानिएको यस जिल्लाका किसानलाई सहयोग पु¥याउने उद्देश्यले भारत सरकारको लगानीमा सो शीतभण्डार निर्माण भएको हो । धेरै कोठा भएको शीतभण्डार आवश्यक पर्ने भएपछि टेन्डर लाग्न नसकेको इलाम नगरपालिकाले जनाएको छ । शीतभण्डार प्रयोगमा नआउँदा मेसिनरी सामानसमेत खिया लागेर बिग्रने अवस्थामा पुगेका छन् । दुई हजार मेट्रिक टन क्षमताको सो शीतभण्डार निर्माण भए पनि सञ्चालनमा नआउँदा यहाँका किसानले आफूले उत्पादन गरेको नगदेबाली झापासम्म पु¥याउनुपर्ने बाध्यता छ । तर कसैकसैले इलाम ठन्डी क्षेत्र भएकाले शीतभण्डार आवश्यक नरहेको समेत चर्चा गर्न थालेका छन् । शीतभण्डार सञ्चालनमा नआए पनि इलाम नगरपालिकाले वार्षिक रु चार लाख विद्युत् महसुल बुझाउँदै आएको छ । यहाँ उत्पादन भएका आलु, सुन्तला, अदुवा, किवी र तरकारी शीतभण्डारमा राख्न सकेमा यहाँका किसानलाई धेरै फाइदा हुने स्थानीय शिव गौतमले बताउनुभयो ।

प्रकाशित मिति: बिहिबार, पुस १८, २०७०