सोमवार, अशोज ८, २०८०

स्याङ्जामा रु २० करोडको सुन्तला उत्पादन

पोखरा, ५ पुस । स्याङ्जा जिल्लामा विगत भन्दा यस वर्ष रु २० करोडबराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा यो वर्ष ११ हजार ८३२ मेट्रिक टन सुन्तला उत्पादन भएको स्याङ्जा कृषि विकास कार्यालयले बताएको छ । स्याङ्जामा अघिल्लो वर्ष रु १६ करोड मूल्य बराबरको ११ हजार ४९७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लामा गत वर्षको भन्दा २.९ प्रतिशत बढी सुन्तला उत्पादन भएको हो । जिल्लाका ६० गाविस र दुई नगरपालिकामध्ये दुई नगरपालिका र ५४ गाविसमा सुन्तला उत्पादन हुने गर्दछ । व्यापारीहरूले अहिले कृषकको बगैँचामै पुगी प्रतिकिलो रु ३० मा सुन्तला खरिद गर्ने गरेका छन् । यस वर्ष हुरीबतास र असिना नपरेको र अनुकूल मौसम भएकाले सुन्तलाको उत्पादनमा वृद्धि भएको प्राविधिक सहायक लामिछानेले बताउनुभयो । जिल्लाका पुतलीबजार नगरपालिकाको वडा नं १२ र १३, दाङ्सिङ, दहथुम, पेलाकोट, अर्जुनचौपारी, रापाकोट, ठूलाडिही र फापरथुम गाविसमा अत्यधिक मात्रामा सुन्तला उत्पादन हुने गर्दछ । यी गाविसका किसानले न्यूनतम रु ५० हजारदेखि रु पाँच लाखसम्मको सुन्तला बिक्री गर्ने गर्दछन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०७०