शनिबार, बैशाख ८, २०८१

कृषि विकासबाट मात्र आत्मनिर्भरता सम्भव

Bamdev gautam
ललितपुर, २९ मङ्सिर । नेकपा (एमाले)का उपाध्यक्ष एवम् किसान महासंघका अध्यक्ष वामदेव गौतमले आधुनिक प्रविधि र उन्नत खेती प्रणालीको उपभोग गर्दै कृषि क्षेत्रमा विकास गरेमा मात्र देश आर्थिकरूपमा आत्मनिर्भर बन्नसक्ने बताउनुभएको छ । किसान महासंघले सञ्चालन गरेको ‘नयाँ कृषि अभियान कृषि सहकारी संस्था’को प्रथम साधारणसभाको हिजो ललितपुरमा उद्घाटन गर्दै उहाँले अरूले गठन गरेका उत्पादन दस्ता राजनीतिक क्रियाकलापमा जुटेका तर आफूसँग पार्टीका कार्यकर्ता पार्टीको कामसँगै कृषि उत्पादनमा जुटाउने योजना रहेको तर्क राख्नुभयो । कम लगानीमा बढी आम्दानी गर्न सकिने कृषि व्यवसायलाई प्रवद्र्धन गर्न पार्टीको पहल रहने र पार्टीको आउँदो ९ औं राष्ट्रिय महाधिवेशनबाट राज्यलाई कर तिर्ने उत्पादनमूलक काममा नलागेको व्यक्तिलाई पार्टीको सदस्य नदिने नीतिगत व्यवस्था गर्न आफूले प्रस्ताव लिन लागेको जानकारी गराउनुभयो । राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सञ्चालक केबी उप्रेतीले देशको आर्थिक स्रोतको प्रमुख मेरुदण्ड कृषि र कृषिको औद्योगिक विकासको सम्भावना बोकेको सहकारी क्षेत्रमा सरकारले लगानी नबढाएको आरोप लगाउनुभयो । सहकारी आन्दोलनका अगुवा केशवलाल श्रेष्ठ, अखिल नेपाल किसान संघका उपाध्यक्ष प्रेम दङ्गाललगायतले सहकारी आन्दोलन, कृषि क्षेत्रको विकास सम्भावना र चुनौती विषयमा आ–आफ्नो विचार राख्नुभएको थियो । रासस

प्रकाशित मिति: आइतवार, मंसिर ३०, २०७०