बिहिबार, चैत्र १५, २०८०

चारबुँदे बाली घोषणापत्र अनुमोदन

मंसिर । विश्वका अति कम विकसित मुलुकहरू (एलडिसी) को बैठकले चारबुँदे बाली घोषणापत्र अनुमोदन गरेको छ । विश्वका ४९ देशका वाणिज्य मन्त्री सदस्य रहेको एलडिसीले भन्सार तथा कोटारहित बजार पहुँच, कटन, सेवा व्यापारमा छूट र सहुलियतपूर्ण उत्पतिको नियम सरलीकृत गर्ने एजेण्डा सर्वसम्मत पारित गरेको छ । बैठकले आफ्ना माग तत्काल लागू गर्न विकासशील मुलुकहरूलाई दबाब पनि दिएको छ । बैठकको अध्यक्षता गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले अति कमविकसित मुलुकमा रहेको गरिबी अन्त्य गर्न बहुपक्षीय व्यापार प्रणाली आवश्यक भएको बताउनुभयो । व्यापारलाई आर्थिक विकासको आधार बनाउनुपर्ने बताउँदै मन्त्री कोइरालाले बहुपक्षीय व्यापार प्रणालीबाट फाइदा लिन आर्थिक तथा प्राविधिक अवसरको बाटो खोल्नुपर्नेमा जोड दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।आपूmले पाउनुपर्ने अधिकार स्थापित गर्न एलडिसीले एकस्वरले आवाज उठाउन जरुरी भएको बताउँदै कोइरालाले भन्नुभयो, ‘डब्लुटिओका तीनवटा प्रमुख अङ्गमध्ये एक रहेको एलडिसीलाई थप उत्तरदायी बनाउँदै लानुपर्छ । यसबाट चुनौतीसँगै अवसरका बाटाहरू पनि खुल्नेछन् ।” एलडिसीको अध्यक्ष रहेको नेपालले अर्को कार्यकालका लागि युगाण्डालाई पद हस्तान्तरण गरेको छ । डब्लुटिओमा विश्वका १४९ देश सदस्य छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७०