बिहिबार, बैशाख १३, २०८१

गाउँ फर्केर स्वरोजगार बन्दै युवाहरू

म्ंसिर । विदेशिएका युवा गाउँ आएपछि गाउँघरमै स्वरोजगार मुलक  व्यवसायमा आकर्षित भएका छन् । विदेशमा गरेको परिश्रम स्वेदेशमा खर्चिए मनग्यै आम्दानी लिन सकिने मिहेनत युवाको बुझाई छ । जिल्लाको विभिन्न क्षेत्रमा त्यस्ता परिश्रमी उद्यमी गर्ने युवाले अहिले विदेश छाडेर बसीबसी घरमै विदेशको कमाइ गर्न थालेका छन् । झापा, सुरुङ्गा–८ सुकेडाँगीका मधुसुधन भट्टराईले विदेशबाट फर्किए लगत्तै गाउँमै व्यावसायिक गाईपालन सुरु गरेका छन् । तीस वर्षीय भट्टराईले गाउँमा व्यावसायिक गाईपालन सुरु गरेका हुन् । स्नातकसम्मको अध्ययन सकाएका भट्टराई देशमा रोजगारी नमिल्दा तीन वर्ष पहिले रोजगारीका लागि खाडी मुलुक साउदी अरेबिया छिरेका थिए । दलालीलाई चर्को रकम बुझाएर सउदी गएका भट्टराई त्यहाँ न भनेको काम पाए, न तलब नै । साहुको ऋण तिर्न कै लागि ज्यान हत्केलामा राखेर गैरकानुनी रुपमा कम्पनी छाडी उहाँ ३३ महिनासम्म साउदीमा भागेर काम गरेको बताउनुहुन्छ । त्यहाँ कठिन काम गरी ऋण रकम तिरी केही बचत गरी नेपाल फर्किए लगत्तै उहाँले गाउँमा व्यावसायिक गाईपालन थालेका हुन् ।उहाँले आफूले विदेशबाट बचाएर ल्याएको पाँच लाख रुपैयाँ र एभरेष्ट बैंकबाट छ लाख ऋण लिएर ११ लाखको लागतमा गाउँमा गाईपालन सुरु गरेका हुन् । हाल भट्टराईको गाई फर्ममा विभिन्न विकासे सात वटा र लोकल एउटा गरी आठ वटा गाई रहेका छन् । घरकाम सकाएर दैनिक केही समय परिवारका सबैसँग मिलेर खट्ने गरेका उहाँको दैनिकी सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशको जतिकै परिश्रम गर्नसके स्वेदेशमा आम्दानी लिन सकिन्छ ।”उहाँको फर्मबाट दैनिक ६० लिटरसम्म दूध बिक्री हुने गरेको छ भने खर्च कटाएर मासिक २५ हजारसम्म बचत हुने गरेको भट्टराईको भनाइ छ । दूधबाट थोरै रकम बचे पनि गाईका बाच्छाबाच्छी १५ महिनाभित्रै ५० हजारसम्ममा बिक्री हुने हुँदा गाईपालनबाट मनग्ये आम्दानी हुने गरेको उहाँको भनाइ छ । गाईबाट जन्मिएका बाच्छी महँगो दाममा बिक्री भएपनि बाच्छा भने कम दाममा बिक्री गर्नु परेकाले सरकारले कृषकका लागि बाच्छी मात्र जन्मने प्रविधिमा सहयोग गरिदिए मात्रै व्यावसायिक गाईपालनमा अन्य युवासमेत सामेल हुने उहाँको सुझाव छ । उहाँ जस्तै उदाहरणीय काम देखाएर दमकका दीपक धिमालले स्वदेशमै गतिलो कमाइ गर्दै आउनुभएको छ । कतारको लामो बसाइँमा पनि खासै सफलता हात नलागेपछि उहाँ छ महिना यता दमक–१९ मा व्यावसायिक गाईपालन थाल्नुभएको छ । उद्यमी धिमाल भन्नुहुन्छ, “विदेशमा आधा जीवन बिताए पनि अब स्वदेशमा स्वरोजगार गर्न उत्साहित छाँै ।”

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७०