शुक्रबार, चैत्र १६, २०८०

तरकारीमा हानिकारक विषादीको प्रयोगलाइ रोक्न सकिएन

चितवन । कृषकले तरकारीमा हानिकारक विषदीको प्रयोग गर्न अझै छाडेका छैनन् । आफैँले खानुपर्ने खाद्यान्नबालीमा विषादी प्रयोग गर्न नहुने जानकारी भएर पनि तरकारी बढी फल्ने लोभले अझै उनीहरूले घातक विषादी प्रयोग गर्न नछाडेका हुन् । जिल्ला कृषि विकास कार्यालयले गरेको अनुगमनमासमेत पुराना कृषकले पनि प्रतिवन्धित विषादी प्रयोग गर्ने गरेको पाइएको कार्यालयका बालीसंरक्षण अधिकृत कमलनाथ वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा कृषकले प्राङ्गारिकखेती प्रणाली अपनाउने गरेको भएपनि अझै प्रभावकारी भने हुन सकेको छैन । “एउटा किसानले मात्रै प्राङ्गारिकखेती गरेर हुँदैन, एउटा क्षेत्रका सबै कृषकले गर्नुपर्ने हुन्छ,” वाग्लेले भन्नुभयो–“उचित सरकारी नीतिकै अभावमा यो संभव हुन सकेको छैन ।” एउटा किसानले प्राङ्गारिकखेती गरेपनि सँगैको अर्का किसानले विषादी प्रयोग गरेपछि समस्या आउने वाग्लेले बताउनुभयो । बढ्दो विषादीका कारण बालीनाली घट्ने मात्र नभइ मानिसको स्वास्थ्यमासमेत नराम्ररी असर पर्ने भएकाले विषादी न्यूनीकरण गर्न र हानीकारक विषादी भने प्रयोग नै गर्न नहुने बालीसंरक्षण अधिकृत कमलनाथ वाग्लेले बताउनुभयो । चितवनमा कृषि कार्यालयले एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) कृषक पाठशाला नै सञ्चालन गरेको छ । करिब २०० कृषक प्राङ्गारिकखेतीमा लागेका र यो क्रम जारीरहेको छ । तैपनि लुकिछिपी अवैध औषधिको प्रयोग भने भइरहेको कृषि कार्यालयले जनाएको छ । नेपालमा थायोडान, विएचसी, फस्मामेडिनलगायत १५ प्रकारका हानिकारक औषधि प्रयोगमा बन्देज लगाइएको छ । रातो लेबलका औषधि खतरनाक हुने र पहेंलो निलो र हरियो सङ्केतका औषधि प्रयोग गर्न मिल्ने भएपनि कृषक यसप्रति सचेत भने हुन सकेका छैनन् । यी औषधिले वातावरणसँगै मानव स्वास्थ्यमा निकै असर पर्ने भएकाले सचेत हुनुपर्ने वाग्लेले बताउनुभयो । बढ्दो विषादीका कारण बस्तुभाउमा पनि नराम्रो असर परिरहेको विज्ञले बताएका छन् । उत्पादन बढाउने नाममा प्रयोग गरिएको विषादीले सत्रु जिव बढ्दै गएको भन्दै आवश्यक परेमा पनि प्राविधिकको सल्लाहमा मात्र औषधि प्रयोग गर्न कार्यालयले सबैमा अनुरोध गर्नुभयो ।  हानिकारक विषादी प्रयोग रोक्न भोलिदेखि बालीसंरक्षण निर्देशनालयले विभिन्न जिल्लामा हानिकारक विषादी प्रयोग मुक्त सप्ताहसमेत मनाउने तयारी गरिएको छ । चितवनमा कुल ४५ हजार हेक्टर खेती योग्य जमिन रहेकोमा ४३ हजार हेक्टरमा खेती हुन्छ । २९ हजार हेक्टरमा खाद्यान्नबाली लाग्दै आएको र बाँकी १३ हजार हेक्टरमा तरकारीखेती हुँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७०