आइतवार, फाल्गुन २०, २०८०

कृषिमा क्रान्ति ल्याउन सरकारको सोचाइमा परिवर्तन आउनुपर्छ

vice president BL2
० विष्णुलाल श्रेष्ठ

जुन देशमा कृषिलाई प्राथमिकता दिइन्छ त्यो देशमा आर्थिक लगायत संपूर्ण पक्षमा उन्नति हुन्छ । कृषिमा सवलता नआइकन अरु पक्षको विकासले मात्र उन्नति संभव छैन । औद्योगिक देशहरुको सवाल अर्कै कुरा हो । जापान, रुस, बेलायत, अमेरिका, दक्षिण कोरिया, ताइवान, मलेसिया, फ्रान्स, जर्मनी, इजिप्टजस्ता मुलुकहरु उद्योगधन्दामा अग्रणी छन् । विभिन्न खालका उद्योगहरुको स्थापना, विस्तार र उन्नतिले ती देशले ठूलै फड्को मारेको छ । कल कारखाना, विद्युत्तीय सामग्री, औजार, मेशीनरी, गाडी, हवाइजहाज, पाटपूर्जा आदिको उत्पादनले आर्थिकरूपमा सम्पन्न र संवृद्ध बनेका छन् । उनीहरुले कृषिमा भर पर्नै पर्दैन । ती देशहरुको विकास चरम सीमामा पुगेको छ । उनीहरुको साख घट्दो हैन, बढ्दो छ । दोस्रो विश्व युद्धमा धराशयी भएको जापानले दुई दशकको अवधिमा चमत्कारपूर्ण काम ग¥यो । संसारलाई आफ्नो अभूतपूर्व सफलता देखाइदियो । फ्रान्स, अमेरिका को त कुरा नै नगरौं । पछिल्ला दिनहरुमा दक्षिण कोरियाले पनि औद्योगिक क्रान्ति ल्यायो । चीन, मलेशिया, ताइवान आदि देशहरुले विद्युतीय सामग्री उत्पादन गरेर अर्को चमत्कारिक काम गरेका छन् ।
सबै देशमा औद्योगिक उन्नति हुनै पर्छ भन्ने छैन । भारत, बंगालादेश, नेपाल, इन्डोनेशिया, नर्वे, पोल्याण्ड, वर्मा आदि देशहरु कृषिमा आधारित छन् । आफूलाई चाहिने परिमाण राखेर उनीहरुले अन्य देशहरुमा खाद्यान्न निर्यात गर्छन् । भारतले कृषिमा धेरै मुलुकलाई उछिनीसकेको छ । बंगाला देश पनि सवल बन्दै गएको छ । नेपालको भूभाग र यहाँको जनसंख्या हेर्ने हो भने अन्य देशको तुलनामा यसलाई कमजोर भन्न मिल्दैन । हिमाली क्षेत्रदेखि पहाड हुँदै तराइका सम्म मैदानसम्म पुग्दा प्रशस्त ठाउँहरुमा विभिन्न खालका खाद्य उत्पादन गर्न सकिने संभावनाहरु छन् । हामीकहाँ धान, मकै, कोदो, आलु, फापर, गहुँ, तोरी उत्पादन हुन्छन् । हिजोका दिनमा आफूलाई चाहिने अन्न मात्र उत्पादन गर्दै आएको देशले अहिले केही मात्रामा भए पनि विदेश निर्यात गर्न सक्ने भएको छ । कृषि उत्पादनका कुरा गर्दा खाद्यान्न बाहेक पशुपालन, माछा पालन, चिया, कफी, कुखुरा पालन, पशु पालन, वन पैदावर, तरकारी आदि थुप्रै पक्ष समेटिन्छन् ।
पशुपालनमा नेपाल अव्वल ठहरिएको छ । उन्नत गाई–भैंसी पालेर प्रशस्त मात्रामा दूधको उत्पादन गरिएको छ । सरकार मातहतको दुग्ध विकास संस्थानदेखि अन्य निजी क्षेत्रमा स्थापना भएका हजारौं दुध चिस्यान केन्द्रले काम पाइरहेका छन् । हिजोका दिनमा एक माना दुध दिने भैंसी वा गाई पालेर आफूलाई मात्र पनि खान नपुग्ने थियो । अहिले उन्नत जातका पशुपालनबाट किसानहरुले निकै आर्थिक विकास गरेका छन् । गाई–भैंसी पालनमा व्यावसायिकता आएको छ । विदेशको आकर्षक जागीर छाडेर नेपालमै भैंसी पालन वा गाईपालनमा लाग्ने हजारौं किसानले मनग्य धन आर्जन गरेका छन् । एउटै किसानले ५०–६० र १०० सम्मको हाराहारीमा भैंसी पालन वा गाई पालन गरेर वार्षिक लाखौंंको आम्दानी गरेका छन् । त्यत्ति मात्र नभएर लाखौं वेरोजगारहरुलाई रोजगारीको अवसर जुटाएका छन् । माछा पालनमा पनि धेरै उन्नति देखिएको छ । अझ त्यसमाथि ट्राउट माछा खेतीबाट अन्य माछा पालन व्यवसाय भन्दा तेब्बर आम्दानी गर्न किसान सफल देखिएका छन् । त्यसैगरी कुखुरा पालन, बंगुर पालन, बाख्रा पालन आदिबाट पशस्त आम्दानी भएको छ । चिया खेतीमा पनि विकास भएकै छ । कफी खेती हलक्क बढ्दो छ । तरकारी सवैभन्दा अव्वल आम्दानीको स्रोत भएको छ । लाखौं वेरोजगार युवाहरुको संलग्नता यसैमा देखिएको छ । एक रोपनी जमिन हुने हो भने सानो परिवार राम्रैसँग पालिएको छ तरकारी व्यवसायबाट । अझ अहिले त तरकारीमा आएको व्यावसायिकताले निकै राम्रो आम्दानीको बाटो बनेको छ ।
यहाँनेर एउटा जिज्ञासा उब्जिन्छ, त्यसो भए नेपालमा कृषि क्रान्ति भएकै छ त ! के कुरामा कमी आयो र ? तर खेतीपाती गरियो भन्दैमा त्यसमा आधुनिकता र वैज्ञानिक प्रविधि अपनाइएन भने उत्पादन राम्रो हुन सक्दैन । त्यसैगरी आधुनिक औजार, उन्नत मल बीउ–विजन आदि पनि उत्पादन वृद्धि गर्नका लागि अपरिहार्य कुरा हुन् । कृषिमा उन्नति गर्ने विज्ञहरु नेपालमा नभएका होइनन् । तर ती आफ्नो पेशाप्रति इमानदार देखिएका छैनन् । सरकारी कर्मचारीले आफ्नो दायित्व निर्वाह गरेका छैनन् । कुर्सीमा बसेर जागीर पकाउनु बाहेक कृषिमा कसरी क्रान्ति ल्याउने भन्नेमा सोच विचार गर्दैनन् उनीहरु । दिन कसरी कटाउने र पेन्सन कसरी पकाउने भन्ने ध्याउन्न बाहेक अरु केही अतिरिक्त विचार उनीहरुमा आएजस्तो लाग्दैन । होलान् दुई चार जना इमानदार कर्मचारी पनि । तर तिनले मात्र के गरुन् ? सरकार चलाउने उच्च ओहादाका ओहोदाधारीमा नै उन्नत सोच विचार पाइँदैन । यो देशको सरकारले कृषिमा क्रान्ति ल्याउन गतिलो नीति कहिल्यै ल्याएन । उही पुरानो ढर्रा र ढस्सामा दिन बिताउँदै छ । यसरी कसरी देशमा कृषि क्रान्ति आउँछ ?
अब बन्ने सरकारले गंभीरतापूर्वक सोच्नु पर्ने बेला आएको छ । जबसम्म नेपालको कृषि क्षेत्रमा आधुनिकता आउँदैन, क्रान्ति ल्याइन्न, नीति नियम बनाउने योजनाकारहरुमा गतिलो बुद्धि पलाउँदैन, विज्ञहरुले इमानदारीपूर्वक काम गर्दैनन्, कर्मचारीहरु घाम तापेर मात्र दिन नकटाइ आफ्नो कृषि कर्ममा लाग्दैनन्, किसानहरुलाई राम्रो प्रशिक्षण, मल, बिउ–विजन, औजारमा सहुलियत प्रदान गरिदैन तबसम्म कृषिमा आमुल परिवर्तन आउँदैन, मुलुक अघि बढ्न सक्दैन । कृषिमा विकास गर्ने संभावनाहरु थुप्रै छन् । आफूलाई राखेर आधा उत्पादन निर्यात गर्न सकिने संभावनाहरु पनि धेरै छन् । तर त्यसका लागि नीति निर्माण गर्ने सरकारको प्रतिबद्धता आवश्यक पर्छ । विज्ञ, इमानदारी कर्मचारीहरु दत्तचित्त भएर लागी पर्नुपर्छ । किसानहरुले अन्य क्षेत्रभन्दा कृषि कर्मलाई नै सर्वोपरि ठानेर समर्पित भए भने कृषि क्रान्ति आउन धेरै वर्ष कुर्नु पर्दैन यो देशमा । यसो भएको खण्डमा मुलुक अघि बढ्ने कुरामा कुनै द्विविधा रहने छैन ।

प्रकाशित मिति: सोमवार, मंसिर १७, २०७०