बिहिबार, चैत्र १५, २०८०

रसायनिक मलको अभाव

काठमाडौं । सवैभन्दा बढी मल खपत हुने समयमा प्रशस्त मल दिएको कृषि विकास मन्त्रालयले यतिखेर रसायनिक मलको जोहो गर्न नसकेको हो कि भन्ने आशंका पैदा भएको छ । रसायनिक मल विक्री वितरण गर्दै आईरहेको कृषि विकास मन्त्रालय मातहत रहेको कृषि सामग्री कम्पनीले किसानहरुलाई चाहे जति मल उपलब्ध गराउन नसकेको गुनासो कृषि सहकारी संस्थाहरुको छ । कृषि सामग्री कम्पनीले विगतमा रसायनिक मल वितरण गर्दै आईरहेको भएतापनि पछिल्लो समयमा साल्ट टे«डिङ्ग कर्पोरेशनले पनि रसायनिक मल वितरणको अनुमति पाएपछि झन् मल प्रशस्त हुनु पर्ने ठाउँमा हाहाकार हुन थालेको छ । भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा यतिखेर रसायननिक मलको अभाव हुन थालेको किसानहरुले बताउँन थालेका छन् ।

कृषि विकास मन्त्रालयले कुनै पनि हालतमा मलको अभाव हुन नदिने बताईरहेको बेला किसानहरुले गहुँ छर्ने बेलामा देखिएको यो अभावले फेरि एकचोटी किसानलाई चिन्ता तुल्याएको छ । किसानहरुलाई रसायनिक मल सहज आपूर्ति गर्न सकियोस् भन्ने हेतुले मन्त्रालयले सहकारी मार्फत मल खरिदको व्यवस्था मिलाउनुका साथ साथै कृषि सामग्री संस्थानको एकलौटी खरिद गर्ने परम्परालाई तोडेर साल्ट टे«डिङ्गबाट पनि मल विक्रीको व्यवस्था गरेपछि पनि अभाव देखिनुलाई कमिशनको खेल भन्न थालिएको छ ।
कृषि विकास मन्त्रालयले मुलुकभर रसायनिक मल अभाव हुन नदिने र किसानहरुलाई सहज आपूर्तिको व्यवस्थाका लागि कहाँ कहाँ कस कसले रसायनिक मल वितरण गरिरहेको जानकारी तत्काल प्राप्त हुने गरी मन्त्रालयले जुनसुकै बेला पनि पत्ता लगाउने सक्ने व्यवस्था गर्दा पनि मलको अभाव किन ? उपत्यकाका छेउछाउका जिल्लामा रसायनिक मलको अभावका सन्दर्भमा कृषि सामग्री कम्पनीका पदाधिकाररीहरु सम्पर्कमा आउन चाहँदैनन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ११, २०७०