शुक्रबार, बैशाख ७, २०८१

हटाइँदै पशु सेवा विभागका महानिर्देशक, सम्झना काफ्लेको सम्भावना बढ्यो

काठमाडौं, साउन । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणीले एक पछि अर्को गर्दै आफूमातहतका विभाग तथा कार्यालयका प्रमुखहरुलाई हटाउँदै अघि बढ्न थालेका छन् । मन्त्री भएर आए लगतै कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्मालाई हटाएका थिए । अहिले फेरि राजनीतिक आस्था नमिलेको भन्दै शर्मालाई जस्तै कृषि तथा पशुपन्छी मन्त्रालय मातहतमा रहेको पशुसेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मललाई पनि पनि मन्त्री चक्रपाणी खनालले हटाउने तयारी गरेका छन् ।
तात्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारका पालामा उनी आफैले सम्हालेको तात्कालिन पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको सो विभागको महानिर्देशकका रुपमा निर्मललाई नियुक्ति गरिएको थियो ।
त्यस बेला एमाले निकट मानिएका डा केशवप्रसाद प्रेमीलाई महानिर्देशकबाट हटाएर विमललाई ल्याइएको थियो । करीव दुई वर्ष महानिर्देशक पदमा बसेका प्रेमीले मन्त्रालयमा सहसचिवका रुपमा आउनु भन्दा विभागमै महानिर्देशकका रुपमा रहिरहने चाहना राखेपनि तात्कालिन माओवादी निकट कर्मचारीहरुले प्रेमीलाई कुनै हालतमा पनि हटाउनु पर्ने दवाव पशुपन्छी विकास मन्त्री समेत रहेका पुष्पकमल दाहाललाई दिएका थिए ।
अहिले पनि करीव त्यस्तै परिस्थिति आएको छ । तात्कालिन माओवादी नेतृत्वको सरकारका पालामा नियुक्ति भएका पशु सेवा विभागका महानिर्देशक डा विमल कुमार निर्मललाई हाल परिवर्तित कृषि तथा पशुपन्छी विकास मन्त्रालय माओवादीको नेतृत्वमा भएका बेला हटाउने लविङ्ग शुरु भएको छ । माओवादी निकट कर्मचारीहरुले निर्मललाई हटाएर माओवादी निकट नै रहेकी डा सम्झना काफ्लेलाई महानिर्देशक बनाउने तयारी गरिरहेका छन् ।
यद्यपी पशु सेवा विभागको महानिर्देशकमा विमल कुमार निर्मलले नै बसिरहने चाहना भने व्यक्त गरेका छन् । तर त्यसो हुन सक्ने अवस्था देखिएको छैन । हाल पशु स्वास्थ्य निर्देशनालयमा कार्यक्रम निर्देशकका रुपमा कार्यरत डा सम्झना काफ्ले पशु सेवा विभागको पहिलो महानिर्देशक बन्ने आकांक्षी हुन् । पशु सेवा विभागको महानिर्देशक हालसम्म महिलाहरु भएका छैनन् । त्यसकारण पनि उनले आफूलाई भावी महानिर्देशकका रुपमा प्रस्तुत गदैैै नियुक्तिका लागि प्रयास गरिरहेकी छिन् ।
उनी मात्र होइन यस अघिपनि महानिर्देशक बन्न लालायित बनेका डा वंशी शर्माले पनि महानिर्देशक बन्नका लागि शक्तिकेन्द्र धाउन थालेका छन् । जो अहिले प्रदेश २ मा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवका रुपमा कार्यरत छन् । कांग्रेस निकट मानिएका वंशीलाई महानिर्देशक बनाउनु पर्ने भन्दै केही माओवादी (हाल नेकपा) निकट कर्मचारीले कृषि मन्त्रीलाई दवाव दिएको समेत बुझिएको छ । मध्यमाञ्चल पशु निर्देशनालयमा कार्यरत क्षेत्रीय निर्देशक डा महेशराज विष्ट पनि महानिर्देशकका लागि अर्का प्रतिष्पर्धा हुन् । तर उनको विगतका विभिन्न कार्यालयको काम कार्वाहीलाई मूल्यांकन गर्ने हो भने पनि महानिर्देशक बन्न सक्ने व्यक्तिका रुपमा छाप बनाउन सकेका छैनन् । कुनै पनि निर्णय लिन नसक्ने सहसचिवका रुपमा विष्टलाई लिने गरिन्छ ।
पशु सेवा विभागको महानिर्देशक बन्नका लागि लालायित व्यक्तिहरुको अवस्थालाई हेर्ने हो भने चार जना मध्ये डा सम्झना काप्mलेलाई नै मन्त्री चक्रपाणीले महानिर्देशक बनाउने सम्भावना पनि बढ्दै गएको छ । महेशराज विष्ट वा वंशीलाई महानिर्देशक बनाउन सक्ने सम्भावना अन्त्यन्तै कम रहेको छ । भने खनालले कांग्रेस निकट रहेका र महानिर्देशक कै रुपमा आसिन डा विमललाई नै महानिर्देशकका रुपमा थप समयका लागि जिम्मेवारी दिने सम्भावना भने देखिंदैन ।
विभिन्न सम्भावना र लिगे लिगे दौडको अवस्थालाई हेर्ने हो भने पशु सेवा विभागले इतिहासमा नै पहिलो महिला महानिर्देशक पाउने सम्भावना देखिएको छ । राजनीतिक आस्था र शक्ति संचयका हिसावले पनि अव पशु सेवा विभागको महानिर्देशकका रुपमा सम्झना काफ्लेको सम्भावना बढ्को छ ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०७५