शुक्रबार, चैत्र १६, २०८०

बासनादार धानको अध्ययन गर्दै नार्क

ललितपुर, जेठ । नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले त्यसमा अध्ययन थालेको छ । नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन । महाशाखाअन्तर्गतको धान शाखामा कार्यरत प्राविधिक अतित पराजुलीले अहिले सबैतिर बिहे, व्रतबन्ध, सम्मेलनलगायतमा भोजका लागि बासनादार चामलको प्रयोग बढेको बताए ।

जनकपुरमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले भने तराईका लागि यसअघि नै बीउ सिफारिस गरिसकेको छ । हाल भारतबाट आयात गरिएको बासनादार चामलले नै बजार धानेको छ । बासनादार चामलको बीउ किसानलाई सिफारिस गर्न सके आयात कम गर्न सकिन्छ  । पराजुली भन्छन् ,“हामीले यसअघि बीउको निरन्तरताका लागि रोप्दै आए पनि किसानलाई सिफारिस नै गर्ने उद्देश्यले अध्ययन गरेका थिएनौँ ।”

महाशाखाले वर्षेनी धेरै जातका धानका बीउ लगाउने गरेको छ । तीमध्ये नेपालको हावापानी सुहाउँदो र किसानले अहिले लगाइरहेका भन्दा बढी उत्पादन दिने बीउ किसानलाई सिफारिस गरिन्छ । पहिले आफ्नो खेतबारीमा अध्ययन गरेपछि नार्कले किसानका खेतमा समेत परीक्षण गरेर मात्रै नयाँ बीउ सिफारिस गर्दै आएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १०, २०७५