बुधबार, बैशाख ५, २०८१

डेरी उद्यमी भन्छन् दूध अभाव छ, उत्पादक भन्छन् दूध फालाफाल छ

भारतबाट धूलो दूध आयात गरी विक्री वितरण गर्नका लागि डेरी उद्योगहरुले कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई दवाव दिईरहेको सार्वजनिक भएको छ भने अर्कोतिर दूध उत्पादन गरिरहेको किसानहरुका संगठन कुनै हालतमा पनि धूलो दूध ल्याउन नहुने तर्क गरिरहेका छन् । यसै सन्दर्भमा डेरी एशोसिएसन नेपालमा महासचिव प्रल्हाद दाहाल र नेपाल डेरी फार्मस एशोसिएनका अध्यक्ष प्रदीप पन्तकोसँग गरिएको कुराकानीको अंश ः
धूलो दूध नल्याउने हो भने डेरी उद्योग बन्द हुन्छ


प्रल्हाद दाहाल , डेरी एशोसिएन नेपाल महासचिव
० किसानहरुले दूध विकेन भनिरहँदा पनि डेरी एशोसिएसन भारतबाट धूलो दूध ल्याउने कसरत गर्दै छ नि किन ?
कसले के भन्यो भन्दा पनि डेरी उद्योगका लागि यो दुई महिनाका लािग दुध आवश्यक छ । अहिले दूध उत्पादनमा कमी आएको छ । धूलो दूध नल्याउने हो भने डेरी उद्योग बन्द हुन्छ । किसानहरुले अहिले धूलो दूध ल्याउन हुन्न भन्ने हो भने दूध डेरी उद्योगहरु वन्द हुन्छ । जसको मारमा किसानहरु आफै पर्ने हो । डेरी उद्योग वन्द भएपछि किसानको दुख पाउँछन् । त्यो दुख नहोस् भन्नका लागि हो ।
० किसानको दूध नकिन्ने भारतको धूलो दुध बेचेर किसानहरुले दूख पाउँछन् भन्न सुहाउँछ भन्या ?
त्यस्तो होइन । नेपालमा दूध उपलब्ध भएसम्म डेरी उद्योगहरुले किनेका छन् । यो दुई महिना दूधको उत्पादन घटेको कारण उद्योग चल्न नसक्ने भएकाले नै हामीले धूलो दूध ल्याउनु पर्दछ भनेका हौं । सँधैका लागि धूलो दूध ल्याउनु पर्दछ भन्ने होइन नि ?
० सरकारले किसानबाट खरिद गर्ने दूधको मूल्य बढाउँदैछ नि के भन्नु हुन्छ ,
सरकारले दूधको भाउ बढाउनु पर्दछ त्यसमा दुईमत नै छैन । दूधको मूल्य बृद्धि नभएको करीव ३ वर्ष भयो । प्रत्यके वर्ष बजार भाउ १५ प्रतिशत बढिहेको छ । यो हिसावले पनि बजारभाउ ४५ प्रतिशत बृद्धि भईसकेको छ । यो अवस्थामा दूधको भाउ बढाउनु हुन्न भन्ने कुरै आउँदैन । किसानहरुले दानादेखि वैकमा बुझाउनु पर्ने ऋणको व्याजसम्म बृद्धि हुँदै गईरहेको छ । अनि दूधको मूल्य बृद्धि गर्न पाइँदैन भन्ने त कुरा नै आउँदैन नि ?
० दूधको मूल्य पनि बृद्धि होस् भन्ने अनि त्यही निहुँ गरेर किसानहरुको दूध नकिन्ने भुक्तानी नदिने काममा त डेरी उद्योगहरु अगाडि नै छन् त ?
त्यसो हुँदै होइन हामीले त्यस्तो गरेकै छैन । दूधको मूल्य बृद्धि हुने कुरामा हामीले कहिल्यै पनि विरोध गरेका छैनौ र गर्दा पनि गर्दैनौ । किसानहरुले उत्पादन गरेको दूधको उचित मूल्य पाउनु पर्दछ भन्ने हामी छौं ।
० तपाईहरुले मन्त्रीलाई दवाव दिएरु धूलो दूध आयात गर्दै हुनुहुन्छ ?
मन्त्रीलाई उद्योगीहरुले दवाव दिएका छैनन । हामीले त अनुरोध मात्र गरेका हौं । गुणस्तरीय दूध दुई महिनाका लागि आयात गर्नु पर्दछ भनेका छौं । सरकारले निश्चित परिमाण नै तोकेर आयात गर्दा पनि हुन्छ भनिरहेका छौं ।
० डेरी उद्योगको चलखेल बढेको छ रे नि त ?
हामीले चलखेल गर्नु पर्ने कारण नै छैन । उद्योगहरुले सहज रुपमा उद्योग सञ्चालन हुनु पर्दछ भन्ने हो । दूध अभावका कारण उद्योग सञ्चालन गर्न कठिनाई भएका कारण निश्चित समयका लागि धूलो दूध आयात गर्ने व्यवस्था सरकारले गरोस् भन्ने हाम्रो भनाई हो ।

कुनै हालतमा पनि धूलो दूध ल्याउनु हुँदैन

प्रदीप पन्त
अध्यक्ष, नेपाल डेरी फार्मस् एशोसिएसन
० धूलो दूध आयात गर्ने चर्चा छ तपाईहरु त मौन बस्नु भएको छ ?
हामी मौन बसेका छैनौ । धूलो दूध कुनै पनि हालतमा ल्याउनु हुन्न भनेर हामीले कृषि तथा पशुपन्छी मन्त्रीलाई भनेको छौं । अर्थमन्त्रीलाई जानकारी गराएका छौं । नेपालमा आजसम्म ल्याईएका धूलो दूध कहिल्यै पनि गुणस्तरीय आएनन् र भविष्यमा पनि आउने छैनन् । त्यसकारण पनि धूलो दूध आयात गर्नु हुँदै हुँदैन ।
० त्यसो भए गुणस्तरीय धुलो दूध आयात गर्न पाईयो त ?
नेपालका किसानहरु जोखिम मोलेर दूध उत्पादन गरिरहेका छन् । किसान यसले गर्दा मारमा पर्दछन् । अर्को कुरा धूलो दूध नेपाली दूध उद्योगलाई फाइदा पुग्ने किसमिले ल्याएको पनि छैन । दूध ल्याउनु पर्दछ भन्ने कुरा नै आउँदैन किन ल्याउने धूलो दूध ।
० डेरी उद्योगहरुले दूध अभाव भो धूलो चाहियो भन्ने माग गरेका छन् ?
नेपालका डेरी उद्योगहरुको दूध उत्पादनमा कुनै योगदान छैन । दूध अभाव भन्ने कुरा गलत हो । दूध अभाव छैन । किसानहरु दूध विक्री नभएर समस्यामा परेका छन् । किसानको लागत मूल्य आउने गरी खरिद गर्ने हो भने किसानहरुले दूध जति पनि उत्पादन गर्न सक्छन् । हामीसँग दूधको समस्या होइन । दूध उत्पादन गर्ने किसान फाइदा लिने डेरी उद्योग भए । दुध उत्पादनमा योगदान नगर्ने डेरी उद्योगलाई सरकारले अनुदान दिएको छ । डेरी उद्योग आफ्नो स्वार्थमा लागेका छन् । त्यसैले अभाव भयो भन्छन् ।
० डेरी उद्योगहरु दुध पाएनन् भन्दै धूलो दूध आयात गर्न खोजिरहेका छन् तपाईहरु दूधको मूल्य बृद्धि गर्नु प¥यो भनिरहनु भएको छ मिल्छ त कुरा ?
त्यो सवै डेरी उद्योगीले गरेको झुठ कुरा हो । दुध प्रशस्त छ । सरकारले किसानहरुको समस्या समाधान गर्ने भन्दा पनि डेरी उद्योगीहरु कै सल्लाहमा चलेको । उनीहरुले जे भन्यो त्यही मान्ने । किसानहरुले पाउने सुविधा बञ्चित गराउने खोजिरहेको छ । अहिले जति पनि किसानका नामबाट सेवा सुविधा लिएका छन् सवै दूध उत्पादन गर्ने किसानहरु भन्दा डेरी उद्योगीहरुले लिएका छन् ।
० तपाईहरुले केही पनि पाउनु भएको छैन त्यसो भए ?
हेर्न सक्नु हुन्छ । सहुलियत कृषि कर्जा कसले लिएका छन् । कति जना किसानहरुले लिए भन्ने कुरा तपाईले हेर्न सक्नु हुन्छ । किसानका नाममा ठूलो साहुहरुले सहुलियत कृषि ऋण लिएर उपयोग गरिरहेका छन् । साना किसानहरुको त पहुँच नै पुग्न सकेको छैन । भविष्यमा पनि पहुँच किसान हुँदेन ।

प्रकाशित मिति: बिहिबार, साउन ३०, २०७६