बिहिबार, चैत्र १५, २०८०

च्याउको बीउ माग धेरै उत्पादन थोरै

कञ्चनपुर, जेठ । कन्ये च्याउको बीउको माग धेरै भए पनि उत्पादन थोरै हुँदा किसानले अन्यत्रबाट बीउ ल्याएर व्यावसायिक खेती गर्दै आएका छन् । पाँच वर्षयता थोरै समयमा धेरै आम्दानी दिने च्याउखेतीमा आकर्षण बढ्दै गए पनि सबै किसानले बीउ नपाउँदा अन्यत्र जिल्लाबाट च्याउको बीउ ल्याई व्यावसायिक खेतीलाई निरन्तरता दिँदै आएका छन् ।

बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले प्रतिवर्ष दुई हजार बोतल कन्ये जातको च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिई बीउ उत्पादन गर्दै आएको छ । यस वर्षमात्रै दुई हजार ११६ बोतल च्याउको बीउ उत्पादन गरेको प्रयोगशालाले गत वर्ष चार हजार २४२ बोतल बीउ उत्पादन गरेको थियो ।व्यावसायिक च्याउखेती गर्ने किसान बढ्दै जाँदा बीउको माग बढ्न थालेको हो । प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले भने, “थोरै बजेट र दक्ष जनशक्तिको अभावमा धेरै बीउ उत्पादन गर्न सकिँदैन ।”

उनका अनुसार बीउ उत्पादनका लागि वार्षिक रुपमा विनियोजन हुने रु एक लाख बजेटले पूरै प्रदेश नं ७ का किसानलाई सहज रुपमा बीउ उत्पादन गरी उपलब्ध गराउन सकिँदैन । “अनुकूल मौसम नहुँदासमेत वर्षभरि नै बीउ उत्पादन गर्न निकै कठिन हुने र प्राविधिक समस्या झेल्नु पर्छ”, उनले भने । बीउ उत्पादनका लागि आवश्यक पर्ने उपकरणसमेत पर्याप्त नहुँदा समस्या छ । प्रदेशको पहाडी क्षेत्रमा च्याउको माग बढ्दो छ । बाह्रै महिना वातावरण अनुकूल बनाइएका प्लाष्टिक घरमा च्याउ उत्पादन गर्न सकिन्छ । तराई क्षेत्रका धेरै किसानले व्यावसायिक रुपमा च्याउको खेती गर्नका लागि कैलालीको चुरे गाउँपालिका क्षेत्रमा जग्गा भाडामा लिई च्याउखेती गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतवार, जेष्ठ १३, २०७५