सोमवार, मंसिर १५, २०७७

लकडाउनका बेला पनि विषादी परीक्षण गरिरहेका छौं

लकडाउनका समयमा नेपाली किसानहरुले उत्पादन गरेका कृषि उपजहरु खेतमा नै कुहिएर गईरहेको भएपनि भारतबाट तरकारी जन्य बस्तुको आयात भने रोकिएको छैन । यस समयमा एकातिर कोरोनाको त्रास छ भने अर्कोतिर विषादी प्रयोगको मात्रा पनि बढी भईरहको बताइएको छ । यस समयमा विदेशबाट आयात गरिरहेका तरकारी तथा फलफूलको विषादी परीक्षण कसरी भईरहेको छ भन्ने विष्वायमा प्लाण्ट क्वारेण्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँसँग गरिएको कुराकानीको अंश :

० अहिले लकडाउनको अवस्था छ, तरकारी तथा फलफूलहरु उपत्यका भित्रिने क्रम रोकिएको छैन तर विषादी परीक्षण रोकिएको छ भन्छन् नि जनताले विषादी खाईरहेका छन् ?

लकडाउनका अवस्थामा उपत्यका भित्रिएका ताजा तरकारी तथा फलफूलहरु कतिपय आफ्नै देशमा उत्पादन भएका छन् भने छिमेकी राष्ट्र भारतबाट पनि आयात भईरहेको अवस्था छ । बाहिर हल्ला भए जस्तो विषादी परीक्षण नभएको होइन । सीमानामा नै विषादी परीक्षण गरेर नै भित्रिने गरेको छ । उपभोक्ताहरुलाई ढुक्कसँग ताजा तरकारी तथा फलफूल उपभोग गर्न अनुरोध गर्दछ ।

० अहिले कोरोना संक्रमण न्यूनिकरण गर्नका लागि कालिमाटी तरकारी बजार वन्द गरिएको भन्ने आईरहेको छ । यो अवस्थामा तरकारी त अन्य स्थानबाट पनि विक्री भईरहेको छ विषादी मुक्त होला भन्ने कुरा कसरी विश्वास गर्ने त ?

भारतबाट आयात गरिएका तरकारी तथा फलफूलहरु विशेष गरी नेपालगञ्ज, भैरहवा विराटनगर भन्सार नाका नजिक रहेको विषादी विश्लेषण केन्द्र मार्फत परीक्षण गरेर नै आईरहेका छन् । त्यहाँबाट काठमाडौं आईसकेपछि कालीमाटीमा रहेको प्रयोगशालामा विभिन्न स्थानबाट नमूना संकलन गरी परीक्षण गरिँदै आएका छौं ।

० तरकारी विहानै आउँछ परिक्षणको प्रतिवेदन आईपुग्दासम्म उपभोक्ताको भान्सामा पुगिसकेको हुन्छ । यो अवस्थामा सुरक्षित विषादी मुक्त तरकारी कसरी भन्ने त ?

हामीले भारतबाट आयात गरिएका तरकारीहरु सीमानामा नै परिक्षण गरिसकेका हुने छौं । परिक्षण गरेर विषादी छैन भन्ने पुष्टि भएपछि प्रमाणपत्र उपलब्ध गराएर मात्र आयात हुने गर्दछ । काठमाडौं आईसकेपछि भनि विषादी चेकजाँच गरेर प्रतिवेदन आईसकेपछि मात्र विक्री वितरण गर्नका लागि हामीले व्यवसायीहरुसँग आग्रह गरिरहेका छौ ।

० यो भारतबाट आयात गरिरहेका तरकारीका कुरा भए तर नेपालमा उत्पादन भएका तरकारीमा पनि त विषादी त धेरै प्रयोग हुने गरेको त विगतले देखाउँछ ?

हो । त्यही भएर पनि हामीले यो लकडाउनको समयमा सवै ठाउँमा पुग्न नसकेपछि आयात हुने नाकाका विभिन्न स्थानहरुमा पुगेर नमूना संकलन गरी विषादीको मात्र चेकजाँच गरिरहेको छौं । हामीले गर्नु पर्ने काम लकडाउनको समयमा पनि छुटाएका भने छैन । कसरी उपभोक्ताहरुलाई विषादी रहित ताजा तरकारी ख्वाउने भन्नेमा हामी लागिरहेको छौं ।

० उपभोक्ताहरुलाई आफूले खरिद गरेर ल्याएको तरकारीमा विषादी छ कि भन्ने शंका लाग्यो भने के गर्ने छ ?

सवैभन्दा महत्वपूर्ण कुरा के हो भने विषादीको मात्रा धेरै भएको तरकारी पूर्ण रुपमा वन्देज छ । तरकारीमा विषादी नै प्रयोग हुनु हुँदेन भन्ने होइन । किसानले तरकारी उत्पादन गर्नका लागि प्रयोग गरेको विषादीको प्रयोगपछि कहिले तरकारी बजारमा ल्यायो र त्यसमा विषादीको मात्रा कति छ भन्ने हो । हामीले त्यसका लागि नै विषादी परीक्षण गर्ने हो । अव उपभोक्ताहरुलाई शंका लाग्नु स्वभाविकै हो । यदि त्यस्तो लाग्दछ भने बजारबाट तरकारी किनेर भान्सामा ल्याईसकेपछि तरकारी पकाउनु भन्दा अगाडि केही सावधानी अपनाउने हो भने त्यसबाट पनि बच्न सकिन्छ ।
० बढी विषादी हुन सक्ने तरकारीहरु चाहिँ कुन कुन हुन त ?

किसानहरुले उत्पादन गरेको बेमौसमी तरकारीमा विषादी बढी प्रयोग गर्ने गरेको पाइन्छ । मौसम अनुसारका तरकारी भन्दा पनि बेमौसमी तरकारी उपभोक्ताहरुले खरिद गर्नु भएको छ र भान्सामा पु¥याउनु भएको छ भने त्यस्ता तरकारीमा विषादी प्रयोग गर्नु पर्ने किसानको वाध्यता भएका कारण बेमौसमी तरकारीमा ख्याल गर्नु पर्ने हुन्छ ।

० भान्सामा पु¥याईसकेपछि पनि सजगता नपाउने सकिन्छ होला नि त ?

पक्कै सकिन्छ । यदि उपभोक्ताहरुलाई आफूले किनेको तरकारी वा फलफूलमा विषादी प्रयोग भएको छ भन्ने शंका लागेमा सवैभन्दा पहिलो किनेको तरकारी तथा फलफूल निर्मलीकरण गरी प्रयोग गर्ने । त्यससँगै विषादी प्रयोग गरिएका तरकारी बजारमा लैजानुभन्दा अगाडि किसानहरुले कुर्नु पर्ने समय कुरिदिनु भयो भने सहज हुन्छ । यो किसानहरुले प्रयोग त गरिरहनु भएको छ तर कहिलेकाँही विषादी प्रयोग भएको र कुर्नु पर्ने समय नकुरिकन बजारमा ल्याएको देखिन्छ । त्यसबाट बच्नका लागि हामीले बजारबाट किनेर ल्याएको तरकारीलाई मनतातातो नून पानीमा २० मिनेट डुवाएर राख्ने हो भने त्यसबाट हामी मुक्त हुन सक्छौं । त्यो सँगै हामीले खाने सोडाको पानी घोलेर फलफूल तथा तरकारीलाई २० मिनेट डुवाएर राख्ने र त्यसपछि शुद्धमानीले सफा गरेर पनि विषादीबाट मुक्त हुन सक्छौं ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६, २०७७