शनिबार, बैशाख ८, २०८१

बागलुङ्गमा बाहिरी जिल्लाको तरकारी आयातमा रोक

बाग्लुङ्ग । पछिल्लो समय स्थानीय तहका विक्री गर्न लगिएका तरकारी नष्ट गर्ने क्रम झन् बढ्दै गईरहेको छ । पोखरा, काभ्रे लगायतका क्षेत्रमा किसानहरुले उत्पादन गरेको तरकारी विक्री नभएका कारण गाँड्नु परेको बेला बाग्लुङ्गमा भने स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ । शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट आउने फलफूलमा रोक लगाउने सहमति भएको हो ।

कोरोना सङ्क्रमण त्रासका कारण जेठको पहिलो सातादेखि दुवै पक्षबीच भएको सहमतिका आधारमा बागलुङमा फलफूलको आयातमा रोक लगाइएको थियो । व्यवसायीको गुनासो आएपछि बागलुङ नगरपालिकाले विकल्पमा छलफल गरेको थियो । जिल्लामै पर्याप्त तरकारी उत्पादन हुने भएकाले बाहिरी जिल्लाको आवश्यक नरहेको नगरप्रमुख जनकराज पौडेलले बताए । “हामीकहाँ तरकारी पर्याप्त छ, बाहिरबाट आउने तरकारीको विषादी जाँच गर्ने अवस्थामा हामी छैनौँ”, उनले भने, “यहाँको उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई प्रोत्साहन हुन्छ, विषादीको त्रास कम हुन्छ ।”

बैठकले फलफूल आयात गर्दा पूर्ण सुरक्षित तरिकाले ल्याउने र सकभर जिल्लाभित्रकै र नभए पनि छिमेकी जिल्लालाई प्राथमिता दिने निर्णय गरेको छ । बैठकले तरकारी तथा फलफूल बिक्री वितरणका लागि यसअघि तोकिएको समयावधि समेत बढाएको छ । बिहान ७ देखि १० र साँझ ४ देखि आठ बजेसम्म पसल खोल्ने सहमति गरेको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २५, २०७७