शनिबार, बैशाख ८, २०८१

PPCR सेवा प्रवाह गर्ने आयोजना हो

bisnu ghimire
विष्णु घिमिरे
आयोजना प्रमुख
जलवायु प्रकोप समुन्थान निर्माण आयोजना

०किसानहरुलाई जलवायु एवं मौसम सम्वन्धि पूर्व जानकारी गर्नका लागि कस्ता कार्य योजना बनाउनु भएको छ त ?
जलवायु प्रकोप समुत्थान निर्माण आयोजना (कृषि ब्यवस्थापन सूचना प्रणाली) कृषिमा जलवायु परिवर्तनबाट देखिएका नकारात्मक असरहरुलाई कृषि मौसम सेवा र कृषि प्रविधिको जानकारी मार्फत न्यूनिकरण गरी कृषि उत्पादनमा पर्न सक्ने अनपेक्षित जोखिमहरुलाई कम गर्न नेपाल सरकार तथा कृषक समुदायहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशका २५ जिल्लाहरुमा कार्यान्वयनमा आईरहेको छ । विशेष गरी यस आयोजनामा कृषि ब्यवस्थापन सूचना प्रणाली (एमिस) को स्थापनाका लागि आवश्यक पूर्वाधारको विकास र सुदृढिकरण, एमिस मार्फत कृषक तथा सरोकारवालाहरुको लागि बहुउपयोगी हुने जानकारी मूलक उत्पादनको विकास, उत्पादनको ब्यापक प्रचार प्रसार र क्षमता अभिवृद्धिमा यसका कार्यक्रमहरु केन्द्रित रहेका छन् । यिनै कार्यक्रमहरुमा आधारित रहेर, विगतमा भएका प्रगतिहरुलाई केन्द्रमा राख्दै त्यसमा थप्नु पर्ने क्रियाकलापहरुको पहिचान गरि कार्ययोजना बनाईएको छ । मूलत हामीले एमिसको एकिकृत वेभ पोर्टल निर्माण मार्फत सूचना तथा संचारका नविन्तम उपकरणहरु र विधिको प्रयोग जस्तै कृषि ईन्फो एस.एम.एस. सेवा, हाम्रो कृषि मोवाईल एप, कृषि मौसम सल्लाह सेवा बुलेटिन र जिल्लास्तरमा किसान कल सेन्टरबाट मौसम, वाली नाली, पशुपालन, वीमा आदि सम्वन्धि जानकारीहरु स्थानियस्तरसम्म पु¥याउने कार्य योजना रहेको छ । यसका लागि आयोजनाले एकिकृत एमिस वेभपोर्टलको स्थापना, एसएमएस गेट वे, नार्क, जल तथा मौसम विज्ञान विभाग र कृषि विकास मन्त्रालय बिच हुने डाटा सेयरिंग मेकानिजम्, किसान कल सेन्टरको स्थापना गरी नियमित रुपमा संचालन, कृषि मौसम सल्लाह सेवा बुलेटिन थप १७ का लागि तयारी, तथा वितरण, कृषि ईन्फो एसएमएस सेवाको विस्तार, हाम्रो कृषि मोवाई एपको प्रर्वद्धन, कृषि मौसम सम्वन्धि ब्यापक प्रचार प्रसार र जिल्ला तथा स्थानीय स्तरमा कार्यरत कर्मचारीहरु र किसानको क्षमता अभिवृद्धि गर्ने रहेको छ ।
० हालै किसानहरुलाई आयोजना मार्फत धेरै मोवाइल वितरण गर्नु भो नि किन ?
आयोजनाले किसानहरुलाई बहुउपयोगी हुने कृषि मौसम सल्लाह सेवा बुलेटिन तयार गरी हाल ८ वटा जिल्लाहरुको लागि प्रकाशन तथा वितरण गरिरहेको छ । यो बुलेटिनमा जिल्लास्तरको मौसमी तथ्यांकहरु, मौसमी विश्लेषण (गत हप्ता र आंउदो हप्ताको) सहितको कृषि सल्लाह समेटी तयार पारिएको हुन्छ । यसको ब्यापक प्रचार प्रसार गरि जलवायुजन्य जोखिमहरुलाई न्यूनिकरण गर्न अपनाउनुपर्ने सावधानीहरु र प्राविधिक सल्लाह सुझाव किसानहरुमा पु¥याउने उद्धेश्य बमोजिम किसान सिम कार्ड, हाम्रो कृषि मोवाईल एप सहितको स्मार्ट मोवाईल फोन नमूनाको रुपमा २५ जिल्लाहरुमा वितरण गर्ने कार्यक्रम बमोजिम कैलाली र झापा जिल्लाहरुमा प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा वितरण गरिएको हो ।
० मोवाइल अनुदानमा वितरण गरे पश्चात किसानहरुका लागि भएका फाइदा चाहि के के हुन त ?
आयोजनले किसानहरुलाई केवल मोवाईल मात्र वितरण गरेका छैन र मोवाईल मात्र वितरण गर्ने कामको खासै अर्थ पनि छैन किनकि अचेल प्राय किसानहरुको हात हातमा मोवाईल फोन छ । तर नमूनाको रुपमा किसानहरुलाई ब्यवहारिक रुपमा प्रविधिमैत्री बनाई सोको प्रयोगलाई दीगो बनाउन मोवाईल फोन वितरण गरिएको हो । किसानहरुले समय सापेक्ष मौसमी विवरण, कृषि तथा पशुपालन सम्वन्धि प्रविधि, वीमा सम्वन्धि जानकारी, बारम्बार सोधिने प्रश्नोत्तरको संगालो र जलवायुमैत्री खेती तथा पशुपालन प्रविधिको विस्तृत जानकारी प्राप्त गरी फाईदा लिन सक्दछ्न । यो सुविधा किसानहरुले ब्यक्तिगत रुपमा लिएका मोवाईल फोनमा पनि प्राप्त गर्न सक्दछन् तर यसका लागि सम्वन्धित जिल्लाका जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय मार्फत मोवाईल नं दर्ता गराउनुपर्ने छ ।
० मोवाईल फोनबाट मात्र यतिका धेरै जानकारी २५ जिल्लाका किसानहरुलाई पु¥याउन सकिन्छ ?
यस आयोजनामा हामीले कृषि मौसम तथा प्रविधि प्रसारका विभिन्न आयामहरुलाई ध्यानमा राख्दै प्रचार प्रसारका विभिन्न विधि तथा उपागमहरु प्रयोगमा ल्याई सेवा प्रवाहमा तीब्रता दिएका छौं । आयोजनाले जिल्ला स्तरमा जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयमा स्थापना भएका तथा हुने किसान कल सेन्टर मार्फत स्थानीय स्तरसम्म मौसम सम्वन्धि सूचनाहरु सम्प्रेष्ति गरिरहेको छ । सूचना तथा संचार प्रविधि अन्तर्गत रहेर कृषि ईन्फो एस.एम.एस सेवा, हाम्रो कृषि मोवाईल एप, तथा एकिकृत वेभ पोर्टल तथा एफ एम रेडियो, टि.भि. च्यानल, छपाई सामाग्रीहरु मार्फत तल्लो स्तरसम्म पु¥याईन्छ । यी बाहेक हामीले किसानदेखि किसानसम्म हुने प्रसारको विधिलाई आत्मसाथ गर्न कृषि प्रसार कार्यकर्ता, अनुसन्धानकर्ता, कृषि मौसमविज्ञ र किसानहरु सम्मिलित रोभिंग सेमिनार किसान कै घर दैलोमा पुगि संचालन गरिएको छ । यसले किसानहरुलाई मौसम सम्वन्धि उब्जिएका प्रश्नहरुको समाधान, अनुकूलनका उपाएहरु तथा एमिसका प्रोडक्टको बारेमा जानकारी लिई जलवायु परिवर्तनबाट देखा परेका असरहरुलाई न्युनिकरण गर्न सहयोग गरिरहेको छ  ।
० जलवायु परिवर्तनले कृषि क्षेत्रमा पार्ने प्रभावका बारेमा किसानहरु कत्तिको सचेत देखिएका छन् त ?
सामान्यतया नेपालका किसानहरुको माग प्रायः मल, उन्नत वीउ, सिंचाई र बजारीकरणमा केन्द्रित देखिन्छ । तथापि ब्यवसायिक किसान तथा साना किसानहरुमा मौसमको जानकारी र उचित सूचना उपयुक्त समयमा आवश्यक रहेको कुरा हामीले फिल्ड निरीक्षण, पत्रपत्रिका तथा स्वयं किसानहरुको अनुभवहरुबाट थाहा पाएका छौं । जस्तै लामो समय सम्म हुन सक्ने सुख्खा, वर्षामा आउने फेर वदल, तापक्रममा हुने अनपेक्षित घटबढ, तुषारो, नयां नयां रोग कीराहरु देखिनु, वालीहरुमा जातीय अवगुणहरुको फैलावट आदिले उत्पादनमा परेको असर र उत्पादन जोखिमलाई हेर्दा किसानहरु जलवायु परिवर्तन प्रति सचेत देखिएका छन् । हाल वाली वीमामा बढ्दै गरेको आर्कषणले मौसमको जानकारी, प्रक्षेपण आदिको महत्व बढाई दिएको छ । जसलाई हामीले जलवायु परिवर्तनको एउटा आयामको रुपमा हेर्न सकिन्छ ।
० आयोजना लागू भएको करीव सांढे ३ बर्ष भएको देखिन्छ । त्यस पश्चात भएका उपलब्धिहरु के के हुन् त ?
यो आयोजना नितान्त प्राविधिक तथा सूचना संचार प्रविधिसंग सम्वन्धित रहेकोले ३ वर्षको अवधिमा हामीले आशातित उपलब्धी हासिल गर्न केही पछाडि परेको देखिन्छ तर पनि यस अवधिमा आयोजनाको प्रारम्भिक कामहरु सम्पन्न गरी पूर्णरुपले कार्यान्वयनलाई अगाडि बढाउन जग भने बसालेका छौं । जस्तै केन्द्रदेखि जिल्लास्तरसम्म एमिस पूर्वाधारको विकास तथा सुदृढीकरण, १५ जना भन्दा बढी विज्ञ समूहहरुको सहयोगबाट ८ जिल्लाहरुको लागि नेपालमा पहिलो पटक कृषि मौसम सल्लाह सेवा बुलेटीन जारी, एसएमएस सेवा, हाम्रँे कृषि मोवाईल एप र नेपाल टेलिकमको सहकार्यमा किसान सिमको ब्यवस्था हाल सम्मका उपलब्धीहरु ह्ुन् । यसका साथै ८ वटा जिल्लामा किसान कल सेन्टरको स्थापना तथा संचालन पनि उपलब्धिका सूचीहरुमा छन् । यी सबै उपलब्धिबाट किसानहरुले कृषि मौसम, वाली तथा पशुपालन प्रविधि र वीमा सम्वन्धि जानकारीहरु पाई राखेका छन् ।
० कृषिका अरु आयोजना जस्तै यो आयोजनाले पनि अनुदान वितरण गर्ने मात्र गरेको हो कि भन्ने आशंका जन्माएको छ नि ?
वास्तवमा भन्ने हो भने यो आयोजनाले नगण्य रुपको अनुदान सहयोगमा आर्थिक रुपमा ठूलो प्रभाव पार्न सक्ने र अनपेक्षित उत्पादन जोखिमलाई कम गर्न कृषि मौसम, कृषि प्रविधि, वीमा आदि सम्वन्धि अलर्ट म्यासेज, सूचना, जानकारी अनुदानमा वितरण गरिरहेको छ । यसलाई अनुदान भन्नुभन्दा पनि सेवाको रुपमा बुझ्न राम्रो हुन्छ । यस आयोजनाले कृृषि विकास मन्त्रालय अन्तर्गत संचालित विभिन्न कार्यक्रम तथा आयोजनाहरुको पुरकको रुपमा पनि काम गरेको देखिन्छ ।
० किसानहरुको माग चाहि के छ ?
जब किसानहरुले यस आयोजनाका क्रियाकलाप र प्रोडक्टहरुको बारेमा थाहा पांउदछन् त्यस पश्चात उनीहरुले किन यति ढिला गरि यस आयोजना आयो भनेर प्रश्न गरेको देखिन्छ । ति प्रश्नहरुमा किसानहरुले विभिन्न मागहरु उठाएका छन् । एसएमएस सेवा अन्गर्तको म्यासेज दैनिक रुपमा आउनु पर्ने, हाम्रो कृषि मोवाईल एप कमसेकम एक हप्तामा अपडेट हुनुपर्ने र उक्त एसएसमएस तथा एपमा आफ्नो प्रतिक्रिया र विज्ञसंग अन्तरक्रिया गर्न पाउने सुविधा भए राम्रो हुन्थ्यो भन्ने जिज्ञाशा देखिन्छ । यसका साथ साथै जिल्लास्तरमा स्थापना भएको किसान कल सेन्टरको नियमित संचालन पनि उहँंहरुको माग रहेको छ ।
० आयोजनाले कृषि विकास मन्त्रालयको कृषिमा आत्म निर्भर हुने लक्ष्यलाई कसरी सहयोग पु¥याउन सक्ला ?
हाल आयोजनाले संचालन गरेका कार्यक्रमहरु कृषि विकास मन्त्रालयले परिलक्षित गरेको संकल्प, उद्देश्य, नीति तथा रणनीति बमोजिम नै रहेको छ । खासगरी यस आयोजनाले मौसम विज्ञ र किसानहरु बिचको खाडललाई पुरी जलवायुमैत्री खेती प्रविधिमा जोड दिई अनुकूलनका कार्यक्रमहरुलाई अगाडि बढाई जलवायु परिवर्तनबाट भएका उत्पादन जोखिमहरुलाई न्यूनिकरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्यले कृषि क्षेत्रमा आत्मनिर्भर हुने कृषि विकास मन्त्रालयको संकल्पलाई साकार गराउन मद्धत गर्नेछ ।
० अन्त्यमा ः
यस आयोजनाले नेपालमा वैज्ञानिक विधिमा आधारित कृषि ब्यवस्थापन सूचना प्रणालीको स्थापना गरी जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुन सक्ने जोखिम र क्षतिहरुलाई न्यूनिकरण गर्न समय सापेक्ष वास्तविक मौसम, बाढी तथा सुख्खाको प्रक्षेपणलाई सुधार गरी जलवायु परिवर्तनबाट जोखिममा पर्न सक्ने कृषक समुदायहरुमा सतर्कता अपनाउन सहयोग गरि जलवायुबाट हुने उत्पादन जोखिम न्यूनिकरण गर्न कृषक समुदायहरुलाई सहयोग गर्ने उद्धेश्य बमोजिम २५ जिल्लाहरुमा नमूनाको रुपमा कार्य संचालन गरि राखेको छ । तसर्थः किसानहरु, सरोकारवालाहरुले जिल्लास्तरमा स्थापित किसान कल सेण्टर, हाम्रो कृषि मोवाईल एप, एसएमएस सेवा, कृषि मौसम सल्लाह सेवा बुलेटिनका संस्करणहरु मार्फत सूचना लिई सो को आदान प्रदान र प्रचार प्रसारको लागि अनुरोध गर्दछु । साथै यो आयोजना कृषि विकास मन्त्रालयको समग्र सूचना प्रणालीको रुपमा लिन सकिन्छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, माघ २, २०७३