मङ्लबार, चैत्र ६, २०८०

कृषि मन्त्रालयको २७ अर्वमा ६ अर्व फ्रिज

काठमाडौं, साउन । कृषि विकास मन्त्रालयको गत चालु आर्थिक वर्ष २०७३÷७३ को कूल विनियोजित बजेट २७ अर्व २१ करोड मध्ये ६ अर्व ३ करोड फ्रिज भएको छ । प्रत्येक वर्ष कृषि विकास मन्त्रालयका लागि बजेट अपुग भएको भन्दै विलौना गर्ने कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुले ६ अर्व बजेट खर्च गर्न नसकेर फ्रिज भएपछि फेरि बजेट अपुग भयो भन्न सक्लान् । ministry-of-agriculture
कृषि क्षेत्रको विकास र कृषि उत्पादकत्व बृद्धि गर्ने कार्यक्रममा लाग्नु पर्ने कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुलाई विदेश शयर गर्नमा नै फुर्सद नभईरहेका कारण पनि कार्यक्रम तर्फको बजेट खर्च हुन सकेको देखिंदैन । कृषि विकास मन्त्रालयले निर्माण गर्ने योजनाहरु केवल परिकल्पनाका आधारमा गर्ने गरेका कारण पनि यो अवस्था आएको हो ।
२७ अर्व कूल बजेट भएको कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुले ६ अर्व बजेट के कारणले फ्रिज भयो भन्ने कुराको जवाफ दिन सकिरहेका छैनन् । ६ अर्व बजेट फ्रिज भएको प्रसंग कोट्याउने हो भने कृषि विकास मन्त्रालयका अहिले जवाफ दिने व्यक्ति समेत मन्त्रालयमा भेटिंदैनन् ।
कृषि विकास मन्त्रालयका सचिवदेखि प्रवक्ता एवं अन्य सहसचिव, उपसचिवहरु प्राय सवै यतिखेर विदेश भ्रमणमा देखिन्छन् । कृषि विकास मन्त्रालयका कृषिका उच्च अधिकारीहरुलाई भेट्न मुश्किल पर्दछ । यतिखेर कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरु कोरिया, फिलिपिन्स, थाईल्याण्ड लगायतका देशमा भ्रमण छन् ।
हरेक वर्ष यति ठूलो रकम फ्रिज हुने कृषि विकास मन्त्रालयको बजेट अपुग भयो भन्ने योजनाकारहरुलाई ६ अर्व बजेट फ्रिज भएर गतिलो झापड लागेको छ । आषाढ २८ गतेसम्म ९ अर्व फ्रिज देखिएको मन्त्रालयको बजेट आषाढ ३० गतेको अन्तिम चेक काटेपछि ६ अर्व फ्रिज भएको देखिएको हो ।

प्रकाशित मिति: सोमवार, साउन २, २०७४