शुक्रबार, बैशाख ७, २०८१

६ अर्बको मल वीरगन्जकाे सुख्खा बन्दरगाहमा

कार्तिक २, २०७२- जारी बन्द हडतालका कारण २ महिनादेखि ढुवानी सम्भव नहुँदा वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा झन्डै ६ अर्ब बराबरको रासायनिक मल थन्किएको छ । कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख राजेन्द्रबहादुर कार्कीका अनुसार साउन मसान्तदेखि हालसम्म आयातित मल थन्किएको हो ।  त्यहाँ ३ अर्ब ६८ लाख ५१ हजार रुपैयाँ बराबरको ४ लाख ९ हजार ६ सय ४० बोरा युरिया र २ अर्ब २५ लाख रुपैयाँ बराबरको २ लाख बोरा डीएपी मल बन्दरगाहमा थन्किएको छ । यसबाहेक रक्सौल रेल्वे स्टेसनमा ४९ हजार बोरा युरिया मल बोकेर आएको एउटा रेल्वे र्‍याक थन्किएर बसेको पनि उनले जानकारी दिए । सुख्खा बन्दरगाहको बीसीएन गोदाम मलले भरिएपछि गोदाम बाहिर पनि मल भण्डारण गर्नुपरेको कार्की बताउँछन् ।  यो बन्दरगाहमा अब मल भण्डारण गर्ने ठाउँसमेत नरहेको तर कोलकाता बन्दरगाहबाट मल आउने क्रम निरन्तर जारी रहेकाले थप समस्या भइरहेको उनले बताए । बुधबार पनि कोलकातामा २ र्‍याक डीएपी मल लोड गरेर वीरगन्जका लागि हिँड्ने तयारीमा रहेको उनले जानकारी दिए ।  सुख्खा बन्दरगाहमा मजदुर समस्याको कारण रेल्वे र्‍याकबाट मल अनलोड गर्न गाह्रो भएकाले ठेकेदारले तेस्रो मुलुकबाट कोलकाता बन्दरगाहसम्म आयात गरी ल्याएको मल वीरगन्जसम्म ढुवानी गरेर ल्याउन समस्या भइरहेको कार्की बताउँछन् । यसका कारण ठेकेदारले कोलकाता बन्दरगाह प्रशासनलाई मल भण्डारणको विलम्ब शुल्क डलरमा तिर्नु परिरहेको गुनासो ठेकेदारले गरेको उनले बताए ।  कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डर आह्वान गरी अन्तर्राष्ट्रिय ठेकेदारहरू सामसङ र स्विस सिंगापुर कम्पनीमार्फत रासायनिक मल आयात गरिरहेको छ । सामसङले ३५ हजार टन युरिया मल ल्याइसकेको छ भने स्विस सिंगापुरले आफ्नो जिम्माको ५५ हजार टन डीएपी मलमध्ये २० हजार टन डीएपी कोलकातासम्म ल्याइसकेको छ । – कान्तिपुरबाट

प्रकाशित मिति: सोमवार, कार्तिक २, २०७२