शुक्रबार, चैत्र १६, २०८०

६५ लाख खर्चेर कृषि मन्त्री चक्रपाणी खनालको कोठा सिंगार्दै

काठमाडौं, वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई यदि तपाई भेट्न जानु भो भने पहिलो धूलो खानुस् र पाँचौ तल्लामा गएर मन्त्रीलाई भेट्नुस् । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको कार्यकक्ष अहिले पहिलो तल्लामा नभएर पाँचौ तल्लामा सरेको छ ।
विगत लामो समयदेखि पहिलो तल्लामा बस्दै आएका मन्त्री किन पाँचौ तल्लामा पुगे भन्ने अनौठो पनि लाग्ला । तर अनौठो भने मान्नु पर्दैन । किनकी अहिले मन्त्रालय पुरै मन्त्रीको रिझाउन लागि रहेको छ त्यो पनि कोठा सिंगारेर । कृषि मन्त्रीको कोठा न त भत्किएको थियो नत हेर्नै नहुने भएको थियो । मन्त्रीको कार्यकक्ष, वैठक कक्ष, गोप्य कक्ष सवै ठिक हुँदा हुँदै पनि भत्काइयो र पुनर्निमाण भईरहेको छ । त्यसैले मन्त्री पाँचौ तल्लामा पुगेका हुन् ।
कृषि मन्त्री चक्रपाणीको कार्यकक्ष अहिले ६५ लाख खर्च गरेर पुर्ननिर्माण हुँदै छ । राम्रै कक्ष भएपनि मन्त्रालयको केही उच्च अधिकारीहरुले मन्त्रीको कोठा झकिझकाउन बनाउने भन्दै राज्यको ढुकुटी दोहन गर्दै निर्माण गर्न थालेका छन् । आर्थिक फाइदाका लागि अहिले मन्त्रीको कोठा निर्माण मात्र होइन झ्याल ढोका नै परिवर्तन गरिएको छ । जवकी मन्त्रीको कार्यकक्षको ढोका राम्रै थियो र अहिले पनि छ जुन देख्न पनि सकिन्छ । मन्त्री तथा राज्यमन्त्री बस्दै आईरहेको मन्त्रालयको पहिलो तल्लामा भद्रगोल राखिएका कार्याकक्षका सामग्रीहरु, ढोकाका खापाहरु, कार्पेटहरुको अवस्था हेर्ने हो भने तत्काल परिवर्तन गर्नु पर्ने कुनै आवश्यकता नै छैन ।
तर अहिले धमाधम फेरिँदै छन्, निर्माण हुँदै छन् । ६५ लाख खर्चे बनाउन लागिएको कृषि मन्त्री चक्रपाणी खनालको कार्यकक्ष पक्कै पनि आधुनिक बन्ला । तर किन फेरिँदै छ त्यहाँ कार्पेटदेखि ढोकासम्म ? मन्त्रालयका पदाधिकारी सहि जवाफ दिँदैनन् । मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्रीको कार्यकक्षमा पानी रसायो त्यही भएर पुर्ननिर्माण गरिएको रे !
उनकै कुरालाई विश्वास गर्ने हो भने पनि छ तल्लाको सो भवनको पहिलो तल्लामा कसरी पानी रसायो भन्ने प्रश्न उव्जिएको छ । तर पनि मन्त्रीको कार्यकक्ष सिंगार्ने नाउमा ६५ लाखको डोजर लगाउन खोज्नेहरुलाई मान्नै पर्दछ ।

प्रकाशित मिति: सोमवार, बैशाख १६, २०७६