बिहिबार, बैशाख ६, २०८१

५० हजार क्विन्टल धान खरिद गरिने

काठमाडौं, २६ मंसिर । नेपाल खाद्य संस्थानले बाँके र बर्दियाबाट यो वर्ष ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । बाँकेमा २० हजार र बर्दियामा ३० हजार क्विन्टल गरी ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित धान खरिद गर्न सुरु गरिएको नेपाल खाद्य संस्थानको नेपालगन्जस्थित संघीय कार्यालयले जनाएको छ ।दुवै जिल्लामा मोटो धानको मूल्य निर्धारण गरेर धान खरिद सुरु गरे पनि किसानहरू निकै कम संख्यामा संस्थानमा धान बिक्री गर्न आइरहेको कार्यालयका प्रमुख पूर्णप्रसाद दाहालले बताए । उनले अधिकांश किसानले व्यवसायीलाई धान बिक्री गरिरहेकाले पनि संस्थानमा कम आएको हुनसक्ने बताए ।
बर्दियामा करिब तीन साता अघिनै धानको मूल्य निर्धारण गरेर धान खरिद गर्न शुरु गरिएको भए पनि धेरै धान खरिद नभएको र बाँकेमा पनि दुई साताअघि नै मूल्य निर्धारण गरेर धान खरिद सुरु गरिए पनि सोचेभन्दा कम धान आएको दाहालले बताए ।
बर्दियाको राजापुरमा रहेको संस्थानको आधुनिक चामल कारखानामा धान खरिद सुरु गरिए पनि निकै न्यून संख्यामा मात्र किसान धान बिक्री गर्न आएको जनाइएको छ । संस्थानले राजापुरमा बढी उत्पादन हुने मध्यम र मसिनो धानको मूल्य नतोकेर मोटो धानको मात्रै मूल्य निर्धारण गरेर सोही धान मात्र खरिद गर्न थालेपछि निकै कम संख्यामा किसान आएको बताइएको छ ।
राजापुर क्षेत्रको १५ हजार हेक्टरमा करिब ८० प्रतिशत मध्यम मकवानपुर जातको धान र २० प्रतिशतमा मात्र मोटो धान उत्पादन हुने गरेकाले मध्यम जातको धानको मूल्य नतोकिएको तथा खरिद पनि शुरु नगरिएकाले मोटो धान मात्रै बिक्री गर्न नगएको राजापुर–१ दौलतपुरका किसान जीवन थारूले बताए । थारुका अनुसार मोटो धान मात्रै खरिद गर्ने भएपछि न्यून संख्यामा यहाँका किसानले खाद्य संस्थानमा धान ल्याएका कारण खरिद मात्रा घटेको छ ।
यसैगरी संस्थानले बाँकेमा पनि मोटो धानको मात्रै मूल्य तोकेर सोही धानलाई खरिद गर्न शुरु गरेको छ । बाँकेमा पनि मध्यम र मसिना जातको धानको मूल्य नतोकिँदा किसान समस्यामा परेका छन् । बाँकेमा पनि मोटोभन्दा मध्यम र मसिनो जातको धान बढी उत्पादन हुने गरेको छ ।
एकातिर धानको मूल्य तोक्न ढिलासुस्ती गर्नु र अर्कोतिर बढी उत्पादन हुने मध्यम धानको मूल्य नतोक्नु संस्थानको गम्भीर लापरवाही भएको किसानको ठहर छ । तर, माथिको निर्देशनअनुसार मोटो धानको मात्र मूल्य तोकिएको र सोही धानलाई खरिद गरिएको खाद्य संस्थानको नेपालगञ्जस्थित संघीय कार्यालयका निमित्त प्रमुख दाहालले बताए ।
मध्यम र मसिनो जातको धानको मूल्य नतोकिँदा व्यवसायीले मनपरी तरिकाले सस्तोमा सो धान खरिद गरिरहेको किसानहरूले बताएका छन् । उनीहरूले तोकिएको मूल्य पनि निकै कम भएकाले संस्थानमा धान बिक्री गर्न नगएको जनाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २६, २०७४