बिहिबार, बैशाख १३, २०८१

२१ औँ पुष्प मेला आज सोमबार सकिंदै

काठमाडौँ, वैशाख । नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना गरेको २१ औँ पुष्प मेला आज सोमबार सकिंदै छ । मेला चैत्र ३० गतेदेखि शुरु भएको हो ।
मेला उद्घाटन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रूपमा लिनुपर्ने बताएका थिए । उनल्े माटो र मल खेलाउने व्यक्तिलाई राज्यले सम्मानजनक रूपमा लिनुपर्ने बताए । तर कसरी किसानलाई सम्मानजनक रुपमा लिनेभन्ने कुरा भने उनले बताएनन् ।
“नेपालको हावापानी उत्कृष्ट रहेकाले पनि पुष्प व्यवसायका लागि नेपाल उपयुक्त देश छ, अब फूल आयात होइन निर्यात गर्न हामी सफल रहनुपर्छ” मन्त्री खनालले भने । उनले पुष्प व्यवसायीलाई लक्षित गर्दै भने, “उपयुक्त एजेण्डा लिएर आउनुस् कृषिमा अनुदानको रकम बढाउँछौँ । व्यवसायीले अन्तर्राष्ट्रिय निर्याततर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो ।
सो कार्यक्रममा काठमाडौँ क्षेत्र नं २ का प्रदेश सांसद रामेश्वर फुयाँलले शारीरिक र मानसिक दुवै तरिकाबाट काम गर्नेलाई समान तरिकाले हेर्नुपर्नेमा जोड दिँदै देशको आर्थिक संवृद्धिका लागि कृषि क्षेत्र नै सबैभन्दा बढी बलियो भएको बताए ।
उत्पादित कृषि वस्तु बजारीकरण र कृषिजन्य वस्तु प्रदर्शनीका लागि उपयुक्त कक्ष आवश्यक रहेको भन्दै त्यस्ता प्रदर्शनी स्थल निर्माण गरी व्यवसायिक वातावरण भनाईदिन एशोसिएसनका अध्यक्ष कुमार कसैँजु श्रेष्ठले सरकारसँग माग समेत गरे । मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री छन् । मेलामा फूलका ८२ कक्ष रहेका छन् । मेलामा विदेशबाट आयात गरिएका पुष्प कक्षहरु बढी देखिएको थियो ।
नेपालमा विसं २०११ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै काठमाडौँ उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो स्थितिमा छ । हाल ४१ जिल्लामा करीब ६७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । करीब १५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको बताइएको छ । अहिले यस व्यवसायमा ४३ हजारभन्दा बढी व्यक्ति सहभागी हुँदै आएका एशोसियनले जनाएको छ । अझै पनि ३० प्रतिशत फूल भारतबाट आयात गरिँदै आएको बताइएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३, २०७५