बिहिबार, बैशाख १३, २०८१

१० गतेभित्र विशेष राहत प्याकेज

काठमाडौँ, भाद्र ४ । कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढीबाट पीडित किसानका लागि भदौ १० गतेभित्र विशेष राहत प्याकेज घोषणा गर्ने बताए ।
मन्त्री यादवले बाढीले सबैभन्दा बढी क्षति कृषिमा भएकाले त्यसका लागि सरकारले विशेष राहत प्याकेज घोषणा गर्न लागेको बताउँदै उनले कृषि क्षेत्रमा धान, तरकारी, फलफूल तथा माछापालनदेखि अन्य कृषिजन्य संरचना नै ध्वस्त भएको बताए ।
उनले बाढीका कारण कृषिमा झण्डै आठ अर्ब ६४ करोड ३४ लाख रुपियाँको क्षति भएको जानकारी गराए । उनले भने, बाढीका कारण धेरै क्षेत्रमा ठूलो मात्रामा क्षति भएको छ, जनधनको क्षति भएको छ, सरकारले राहत तथा उद्धारका लागि युद्धस्तरमा काम गरिरहेको छ, मृतकको परिवारलाई दुई लाख र घर मर्मतका लागि २५ हजार दिने र दैनिक खाजा खर्चस्वरूप ७० रुपियाँ दिने निर्णय गरिसकेका छौँ ।
आफ्नो मन्त्रालय मातहतका करिब सात हजार पाँच सय कर्मचारीबाट सङ्कलित एक करोड २० लाख रुपियाँ केही दिनभित्रै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने पनि मन्त्री यादवले जानकारी गराए । क्षति कति भएको हो र कति राहत दिने भन्नेबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएको छ, त्यसले यही भदौ १० गतेभित्रै विशेष राहत प्याकेज घोषणा गरी किसानसमक्ष जाने बताउँदै उहाँले बैङ्कमा ऋण लिएका किसानलाई कति छुट दिने, मिनाहा गर्न सकिने भए मिनाहा गर्ने यी सबै बारेमा अहिले समितिले काम गरिरहेको बताए । उनले भने, कृषि विकास बैङ्कबाट ऋण लिएकालाई ब्याज छुटदेखि मिनाहा वा के गर्न सकिन्छ त्यो बारेमा पनि हामी निर्णय गर्छौं ।
नष्ट भएका अन्नबाली, खेतीहरूलाई समेत ध्यान दिएर खेत पुनः रोप्न चाहनेलाई बीउ निःशुल्क दिनेदेखि छुट समेत गरिने र माछाका भुरा उपलब्ध गराउने समेत मन्त्रालयको तयारी रहेको उनले बताए ।

प्रकाशित मिति: आइतवार, भदौ ४, २०७४