शुक्रबार, चैत्र १६, २०८०

हावादारी आश्वासन बाँड्दै पशुपन्छी विकास मन्त्री र राज्यमन्त्री

काठमाडौं, असोज । काम नै नभएको नभएको भन्दै उपेक्षित गरिएको पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा दिएको योगदानका हिसाव हेर्ने हो भने करीव आधा हिस्सा नै ओगट्ने गरेको देखिन्छ । तर पशुपन्छी विकास मन्त्रालयको बजेटलाई अध्ययन गर्ने हो भने कृषि विकास मन्त्रालयको बजेटको चौथाईको हाराहारीमा मात्र रहेको देखिन्छ । pasu mantri
पशुपालन व्यवसायले मुलुकलाई केही बस्तु उत्पादनमा आत्मनिर्भरतातिर फड्को मारिरहेको देखिन्छ । तर पशुपन्छी विकास मन्त्रालयका नीति निर्माताहरुको हावादारी गफले भने व्यवसायिक रुपमा पशुपालन गरिरहेका किसानहरु नै वाक्क दिक्क भएका छन् ।
यतिखेर पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु र राज्यमन्त्री गोमा कुँवर जिल्ला जिल्लामा गएर हावादारी आश्वासन बाँड्दै हिड्न थालेका छन् । जिल्लाका किसानहरुलाई भेला पारेर हरेक गाउँपालिकाहरुमा एक पशु चिकित्सक सहित सुविधा सम्पन्न पशु स्वास्थ्य कार्यालय खोल्ने बताईरहेका छन् । चालु आर्थिक वर्ष २०७४÷७५ को बजेट नै स्थानीय तहमा गईसकेको अवस्थामा पशुपन्छी विकास मन्त्रीद्धयले बजेट अध्ययन गरेका छैनन् कि छैनन् कुन्नी गफ भने दह्रो दिएर हिड्न थालेका छन् ।
संविधानमा हस्ताक्षर गर्ने बेलामा गाउँपालिकाहरुलाई अधिकार सम्पन्न गराउने भन्दै हस्ताक्षर गर्ने, बजेट निर्माणका बेला निशर्त रुपमा भएको बजेट गाउँपालिकामा पठाउने, पशुपन्छी क्षेत्रको विकासका लागि स्थानीय तहले बजेट विनियोजन नगर्दा पनि मौन बस्ने मन्त्रीले कुर्सीमा बसुञ्जेल जे बोले पनि हुन्छ भन्ठानेका छन् र होला प्रत्येक गाउँपालिकामा पशु स्वास्थ्य केन्द्र खोल्ने आश्वासन दिन थालेका छन् ।
पशुपन्छी विकास मन्त्री सन्तकुमार थारुले रसुवा जिल्लाका किसानहरुलाई त भ्रममा पारेका छन् नै आफ्नै जिल्ला बर्दियामा गएर पशु चिकित्सक सहितको पशु स्वास्थ्य केन्द्र खोल्न सक्लान् ? मन्त्री थारु र राज्यमन्त्री कुँवर दुवैले यस्ता हावादारी गफ किसानहरुलाई नदिएको भए हुन्थ्यो कि ?

प्रकाशित मिति: सोमवार, अशोज २, २०७४