शुक्रबार, चैत्र १६, २०८०

हाम्रो कृषि बस्तुहरुलाई ट्रेडमार्क बनाउनु पर्दछ

pradumna

प्रद्युम्नराज पाण्डे, प्रमुख
अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन शाखा
कृषि विकास मन्त्रालय

० नेपाली कृषि उत्पादनको अन्तर्राष्ट्रिय बजार कस्तो छ ?
नेपाली कृषि उत्पादनहरुको अन्तर्राष्ट्रिय बजारको सम्भावना ज्यादै नै राम्रो छ । नेपाली कृषि उत्पादनको माग पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । तर, जति माग बढ्दै गईरहेको छ सो अनुसार हामीले उत्पादन र आपूर्ति गर्न सकेका छैनौं ।
० किन आपूर्ति गर्न सकेनौं ?
यसको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा जुन बस्तुहरुको माग छ । त्यसको उत्पादनलाई हामीले बढाउन सकेनौं । अर्को कुरा हामीले उत्पादन गरेको कृषि उत्पादनहरुको गुणस्तरीयतामा पनि प्रश्न उठ्ने गरेको छ । जस्तै कफीकै कुरा गर्ने हो भने पनि गत बर्ष हरेक बर्ष ५ हजार टन माग भएको देखिन्छ । तर हामीले ३ सय टन पनि मुश्किलले उपलब्ध गराउन सक्छौं ।
० खास कुन बस्तु र बालीहरुको बढी माग भएको पाउनु भएको छ त ?
नेपालमा उत्पादन भएका वा उत्पादन हुने करीव २० किसिमका कृषिजन्य बस्तुको माग भएको हामीले पाएका छौं । अलैची, अदुवा, मह, चिया, जटिबुटी, सुगन्धित तेल, पस्मिना लगायतका धेरै बस्तुहरु विदेशी बजारमा नेपालमा नै उत्पादन भएको बढी माग हुने गरेको छ ।
० यति धेरै बस्तुहरु अन्तर्राष्ट्रिय बजारमा माग छ तर, सोही अनुरुपको माग र मापदण्ड पूरा गर्न सकिएन भन्ने कुरा आईरहेको छ नि त?
त्यसमा केही सत्यता छ । त्यसमा दुईवटा कुरा देख्छु । हामीले सम्पूर्ण तयारीका साथ काम गर्न सकेका छैनौं । हामीले काम गर्दा एउटा पाटोलाई मात्र हेरेर काम गर्ने गरेका छौं । मानौ प्रयोगशाला सुदृढिकरण भन्यौ भने त्यसमा मात्र प्राथमिकता दिएर भएन । प्रयोगशालाका लागि आवश्यक बस्तुहरु के के हुन् सवैमा ध्यान दिनु पर्दछ । हामीले खेतदेखि भान्छा र मुखसम्मका कुराहरुलाई विकास गर्ने जवसम्म लक्ष्य बनाउंदैनौ तवसम्म एकीकृत विकास हुन सक्दैन । अर्को कुरा जवसम्म खाद्य बस्तुहरुको गुणस्तरमा हामीले प्राथमिकता दिंदैनौ तवसम्म अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न सक्दैनौ ।
० तपाई अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन शाखाको प्रमुख भएर के के गर्नु भो त त्यसका लागि ?
जव म अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन शाखामा आए यसको काम सिमित थियो । यो शाखाको नाम डब्लुटिओ र आईपरेका कार्यहरु मात्र गर्ने थियो । धेरै कामहरु सरोकार राख्ने निकायहरुबाट नै हुने गरेको थियो । विभिन्न देशहरुसँग हुने दुई पक्षीय बार्ताहरुमा हाम्रो मन्त्रालयको प्रतिनिधित्व नै हुंदो रहेनछ । म यो शाखामा आईसकेपछि सरोकारवाला मन्त्रालयहरुमा समेत यसको प्रतिनिधित्व गराउने र विदेशी राष्ट्रसँग हुने वार्ता छलफलमा प्रतिनिधित्व गराउनु पर्ने काम गरेर केही रुपमा भएपनि यो शाखाको दायरालाई फराकिलो बनाउने काम गरेको छु । नेपाल भारत क्षेत्रीय आयोजना भन्ने आयोजना बाणिज्य मन्त्रालयमा तीन मिलियन डलरको रहेछ । त्यहा प्रयोगशालाका कुरा भएपनि हाम्रो प्रयोगशाला राखेको रहेनछ । त्यो सवै भन्सार विभागले नेतृत्व लिने हो । भन्सार विभागकै नेतृत्वमा कृषि, पशु र खाद्यका प्रयोगशाला आउछ भन्ने सोचले बजेट एकै ठाउंमा राखिएको रहेछ । भन्सार विभागको प्रयोगशाला एउटा छ कृषि र पशुको तीनवटा भएकाले सो आयोजनाको काम कृषिले गर्नु पर्दछ भनेपछि सांढे दुइ मिलियन डलर बजेट छुट्याउन सफल भयौं । त्यो अझैपनि प्रभावकारी हुन सकेको छैन । हामीले हाम्रो बस्तुहरुलाई ट्रेडमार्क बनाउनु पर्दछ । कृषिमा ट्रेडका कुराले त्यत्ति महत्व पाएको विषय छैन । कतिपय व्यक्तिगत रुपमा प्रयास भएको भएपनि त्यो सफल हुन नसकेको होला । त्यसकारण अव हामीले ट्रेडलाई महत्व दिनु पर्दछ भन्ने सोचमा हामी अगाडि बढिरहेका छौं ।
० तपाईले टे«डका कुरा त गर्नु भो तर नेपालमा आयात हुने कृषि बस्तु सहज रुपमा भित्रने तर नेपालका कृषि उत्पादन निर्यात गर्दा निकै कठिनाई छ रे नि त ?
त्यसैले भनेको बलियो हुनु पर्दछ । हाम्रो समाजमा जो सिधा छ जसले पनि हेप्छ । त्यसैले आफू बलियो र मापदण्ड बमोजिम भयो भने कसैले पनि हेप्न सक्दैन भनाईको मतलव के हो भने हामीले उत्पादन गरेका कृषि उपज गुणस्तरयुक्त छ भन्ने प्रमाणित गर्न सक्यो भने त जति पनि निर्यात गर्न सकिन्छ । त्यसकारण हाम्रो प्रयोगशाला, क्वारेण्टाईन बलियो हुनु पर्दछ । त्यसका लागि कर्मचारीहरुलाई उत्साहित गर्नु आवश्यक छ । क्वारेण्टाईन, प्रयोगशालाका उपसमूहहरुलाई भिन्नै बनाएर उनीहरुलाई जोखिम भत्ता सहित प्रयोग गर्नु पर्दछ । त्यस्ता कार्यालयमा विषय विज्ञहरुलाई मात्र राख्नु पर्दछ । सरुवा हुने बेलामा मन लाग्दो किसिमले सरुवा नगरी विशेषाज्ञताका आधारमा सरोकार कार्यालयमा नै राख्ने व्यवस्थ ागर्ने होभने हामीले पनि अन्तर्राष्ट्रिय मापदण्डमा उत्पादन गर्दछौं । विदेश निर्यात गर्दा कठिनाई भएको हो ।
० विदेशबाट नेपाल आउने कृषि उपजका लागि अन्तर्राष्ट्रिय मापदण्ड नचाहिने नेपालले पठाउंदा मापदण्ड चाहिने भएकाले आयात बढी भएको हो भन्दा हुन्छ ?
यसका लागि प्रमुख भूमिका भनेको हामीले बनाएका नीति नियमले नै गर्ने हो । अन्तर्राष्ट्रिय रुपमा डब्लुटिओको मान्यता अनुसार हामीले काम गर्दा समग्रतामा गर्न सकिएको छैन । हामीले आफूले उत्पादन गरेका बस्तुहरु गुणस्तरीय उत्पादन गर्नु पर्दछ । विदेशीहरुले आफ्नो किसिमले नेपाली कृषि क्षेत्रमा सहयोग गरिरहेको देखिन्छ । अव त्यस्तो होइन कुनै विदेशीले कृषि उत्पादन बृद्धि गर्नका लागि नै चासो देखाउंछ भने समग्रमा एउटा बस्तुको उत्पादनदेखि बजारीकरणसम्मको योजनामा काम गर्न दिने गर्ने हो भने हाम्रा उत्पादन पनि विदेश निर्यात गर्न सहज सकिन्छ भन्ने मलाई लाग्दछ । अहिले त किसानहरुले एउटा बस्तु उत्पादन गरेको छ । माग अर्कोतिर छ । उत्पादन गर्नका लागि धेरै समस्या छन् । कुनै रोग वा प्रकोप भयो भने किसानहरुले सहज रुपमा रोग प्रकोप नियन्त्रण गर्नका लागि औषधी पाउन सक्दैनन् । मलको अभाव छ । गुणस्तरीय बीउ उत्पादनको पक्षमा लाग्न सकियो भने हामीले कृषि बस्तु सहज रुपमा नै निर्यात गर्न सक्छौं ।
० नेपाली कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धामा जानका लागि के गर्नु पर्ला त ?
यसका लागि सवैभन्दा पहिल गुणस्तरीय बीउमा ध्यान दिनु पर्दछ । स्थानीय जातका बीउहरुको सुरक्षामा पनि ध्यान पु¥याउनु पर्दछ । स्थानीय जातका उत्पादनको प्रचार प्रसारमा पनि जोड दिनु आवश्यक छ । प्रविधि विस्तार विदेशले किसानहरुलाई अनुदानको व्यवस्था गरेजस्तै प्रविधि विस्तारमा अलि जोड दिएर प्रविधि विस्तार मार्फत कृषि उत्पादन बृद्धि गर्नेलाई अनुदानको व्यवस्था गर्नु आवश्यक छ । एकले अर्कालाई दोष देखाउने भन्दा पनि सरकार, निजी क्षेत्र वा किसानहरुको सहकार्यमा अगाडि बढेर कृषि उत्पादन बद्धि गर्ने हो भने बजारीकरणमा रहेका समस्यालाई समेत समाधान गर्न सकिन्छ । –वैकुण्ठ भण्डारी

प्रकाशित मिति: बुधबार, भदौ १, २०७३