बिहिबार, चैत्र १५, २०८०

हाइव्रिड बीउका नाममा दलालको चलखेल बढ्यो, गुणस्तरले देखेन

काठमाडौं,२८ पौष । यतिखेर किसानहरु आलु र मकैको गुणस्तरीय बीउ खोजिमा रहेका बेला मुलुकभर गुणस्तरीय बीउ पाउन नसकेको गुनासो गर्न थालेका छन् । गत बर्ष चौधरी ग्रुपको सिजी सिड्सले विक्री गरेको मकैको बीउमा घोगा नलागेपनि किसानहरुले हार गुहार गरेपनि त्यसबाट कुनै सफलता हात पर्न नसकेपछि किसानहरु यतिखेर मकै र आलुको बीउको खोजीमा भौतारिएका छन् । नेपाल सरकार मातहत रहेको बीउ विजन कम्पनीसँग पनि पर्याप्त मात्रामा मकैको बीए नभएको बताइएको छ । जति मकैको बीउ छ त्यो पनि किसानलाई आवश्यक परेको समयमा बेच्न नसकिने अवस्थामा रहेको बीउ विजन कम्पनी स्रोतले बताएको छ । सरकारी कम्पनीले अनुदानको बीउ किसानलाई आवश्यक परेका बेला उपलब्ध गराउन नसक्नाले निजी कम्पनीहरु यसको फाइदा उठाउन लालायित देखिन्छन् । बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रबाट कतिपय बीउको कारोबार गर्नेहरुले स्वीकृति नै नलिई बीउ विक्री गर्ने गरेको पाइएको छ । यतिखेर काठमाडौं उपत्यकामा मात्र तीन दर्जन भन्दा बढी भारत, थाइल्याण्ड, बंगलादेश, जापान, चीन लगायतका देशको विभिन्न जातका बीउ विक्री गर्ने मुख्य एजेण्टका रुपमा काम गरिरहेका भएता पनि उनीहरुले सरकारको आँखा छल्ने काममा सफल भएका छन् । यही कारण पनि हाइव्रिड बीउका नाममा किसान ठगिने क्रम जारी छ । बढी उत्पादन हुने हाइव्रिड बीउ भन्दै किसानलाई दलालहरुको पञ्जाबाट जोगाउनु पनि अहिलेको आवश्यकता हो ।
हाईव्रिड बीउबाट केहीले उत्पादन बढी भयो भनिरहेका छन् भने कसैले उत्पादन शुन्य भयो भन्ने गरेको पनि पाइन्छ । तर, हाइव्रिड बीउले कति उत्पादन दियो र त्यसको दीर्धकालिन उत्पादनका बारेमा किसानहरुलाई जानकारी भने दिएको पाईदैन । विगत लामो समयदेखि बहुराष्टिूय कम्पनी मोन्सान्टो कम्पनी लगायतबाट आयात गरिएका हाईव्रिड बीउले उत्पादन नदिएको गुनासो किसानहरुबाट आईरहेको बेला फेरि सोही कम्पनी मकैको बीउ कै किनबेचको शुरुवात भईरहेका देख्न सकिन्छ ।नेपालका घराना कम्पनी चौधरी ग्रुप अन्तर्गत सिजी सिड्सले विक्री गरेको सो कम्पनीको मकैको बीउबाट विगत बर्षमा  मकै उत्पादन नभएपछि किसानहरु मकैको बोटै सहित सडक आन्दोलनमा उत्रिएका थिए । तर आन्दोलनमा उत्रिएका किसानहरुले त्यसबाट राहत पाउन सकेनन् ।  किसानहरुले लहै लहैमा लागेर त्यस्ता बीउ किन्दा आफ्नै अप्ठेरोमा परिसकेकका कारण फेरि मकै बाली लगाउने बेला आईपुगेको छ । मोन्सान्टो जस्ता कम्पनीका बीउ अझै पनि किन्ने सोचमा रहेका किसानहरुले यदि सजगता नअपाउने र कमिशनको खेलमा रमाएका दलालहरुकै भरमा बीउ किन्ने र बाली लगाउने हो भने पछि फेरि सडक आन्दोलनमा उत्रिएर राहत माग्नुको कुनै अर्थ छैन ।
नेपाली किसानहरुलाई व्यवसायिक कृषि गर्न तर्फ उत्प्रेरित गर्ने कार्यमा सरकार लागिरहेका बेला यस्तै यस्तै कारणले गर्दा पनि किसानहरु कृषि पेशाबाट विमुख हुँदै गईरहेका छन् । कृषि आश्रित किसानहरु
मात्र होइन युवा बेरोजगारहरुलाई पनि कृषिमा समाहित गर्नु पर्ने वर्तमान परिप्रेक्ष्यमा किसानहरु बीउ अभाव वा गुणस्तरीय बीउ नपाएका कारण खेती बाँझो राख्नु पर्ने अवस्थामा पुग्नु मुलुकका लागि दुर्भाग्य नै सावित हुने छ  ।
अहिले कृषि विकास मन्त्रालयले कृषिको विकासका लागि योग्य सचिव अनि कृषि विज्ञ मन्त्री पाएको छ । किसानहरुलाई मलखाद तथा बीउ विजन अभाव हुन नदिन आफ्ना सम्पूर्ण शक्ति परिचालन गराएर स्वयं अनुगमनमा निस्किएर किसानका पक्षमा उभिने सचिव पाउनु पनि किसानका लागि गौरव कै कुरा हो । यस्तो अवस्थामा किसानहरु सजग भएर बीउ खरिद गर्ने र बीउ गुणस्तीय हो वा होइन सम्वन्धित कृषि कार्यालयबाट जानकारी लिने वा प्राविधिकहरुबाट सल्लाह लिएर मात्र स्वीकृत प्राप्त एग्रोभेटहरुबाट बिल सहित बीउ खरिद गरी कृषिबाली उत्पादनमा लाग्ने हो भने पक्कै पनि किसानहरुले विगतमा जस्तो  सडक आन्दोनल गर्नु पर्ने छैन । उत्पादन भएन भने पनि क्षर्तिपूर्ति भराउन काममा लाग्न सरकार वाध्य हुनु पर्ने छ । गुणस्तरीय बीउ भन्दै स्वीकृत नभएका बीउहरु पनि  बजारमा विक्री भईरहेकोले सरकाले पनि अनुगमन गरी त्यस्ता बीउ विक्रेतालाई कार्वाही गर्नु पर्ने देखिएको छ ।

प्रकाशित मिति: आइतवार, पुस २८, २०७०