शुक्रबार, चैत्र १६, २०८०

स्वघोषित कार्यकारी निर्देशक कहिलेसम्म रहने नार्कमा

काठमाडौं, कार्तिक । हेर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै छ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) । कृषि तथा पशुपन्छी विकास मन्त्री अध्यक्ष रहने नार्कमा कार्यकारी निर्देशक रिक्त भएको लामो समय वितिसक्यो । तर अहिलेसम्म पनि नार्कको कार्यकारी निर्देशक नियुक्ति गर्न सकिएको छैन ।
कार्यकारी निर्देशक डा यमराज पाण्डेको कार्यकाल सकिएसँगै रिक्त रहेको नार्कका वरिष्ठताको आधार भन्दै डा वैद्यनाथ महतोलाई तात्कालिन कृषि मन्त्री रामकृष्ण यादवले कायम मुकायम काम गर्ने गरी एउटा पत्र थमाएका थिए ।
कांग्रेस निकट त्यसमा पनि मधेश समुदायको भएको भन्दै उनलाई नियम विपरित कायम मुकायम कार्यकारी निर्देशक बनाइएको थियो केवल ६ महिनाका लागि । कृषि मन्त्री रामकृष्ण यादवले सो पत्र २०७४ साउन २३ गते सो जिम्मेवारी दिएका थिए । पत्र पाएका मितिले २०७४ माघ २२ गते नै उनलाई दिएका कायम मुकायम कार्यकारी निर्देशक पद सकि सकेको छ ।
तर महतो विगत ९ महिनादेखि गैरकानूनी रुपमा कायमकुकायम कार्यकारी निर्देशकका रुपमा कार्यरत देखिन्छन् । नार्क जस्तो कृषिको अनुसन्धान गर्ने महत्वपूर्ण निकायमा गैरकानूनी नेतृत्व हुँदा त्यसले कसरी काम गर्ला । हो त्यही चक्रमा फसेको छ नेपाल कृषि अनुसन्धान परिषद् । ६ महिनाका लागि कामु रहेका डा वैद्यनाथ महतोले आफूलाई पूर्ण रुपमा नै नार्कको कार्यकारी निर्देशकका रुपमा प्रस्तुत गरिरहेका छन् । जसको प्रमाणका लागि नार्कको आधिकारिक वेवसाईट मात्र हेरेपनि पुग्छ ।
प्रधानमन्त्री मुलुकलाई कानूनी राजमा चलाउँछु भन्ने नार्कलाई अन्तर्राष्ट्रिय बनाउँछु भन्ने तर नार्कको कार्यकारी निर्देशक गैरकानूनी रुपमा कहिलेसम्म रहिरहने ? नार्कका कार्यकारी निर्देशकको पत्र डा वैद्यनाथ महतोले कहिले पाए ? र कसले दियो ? कृषि विकास मन्त्रालयले हेर्न भ्याएको छ ? यदि छैन भने कृषि विकास मन्त्रालयले कृषि क्षेत्रको विकास गर्छु भनेर डिङ्ग हाँक्नु हाँस्यास्पद मात्र हुने छ ।
स्वघोषित कार्यकारी निर्देशक बैद्यनाथ महतो यस विषयमा बोल्न नै चाहँदैनन् । उनी ‘भन्छन् माथि नै गएर सोध्नुस् म कसरी कार्यकारी निर्देशक भए’ । महतो भन्दा माथिका व्यक्ति अर्थात अध्यक्ष कृषि मन्त्री हुन् । यतिखेर उनी व्यक्तिगत भ्रमणको सिलसिलामा मलेसिया पुगेका छन् । के अव कामु कार्यकारी निर्देशकले पूर्ण रुपमा नै कार्यकारी निर्देशक बन्न पाउने हो ?

प्रकाशित मिति: मङ्लबार, कार्तिक २७, २०७५