शुक्रबार, चैत्र १६, २०८०

स्थानीय तहमा कृषि अन्यौल

काठमाडौं,कार्तिक । स्थानीय निकायको निर्वाचन पश्चात स्थानीय तहमा कृषि क्षेत्रले जसरी स्थान हासिल गर्नुपर्ने थियो त्यो हुन सकिरहेको छैन । कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुको बोली र व्यवहार फरक भएकै कारण स्थानीय तहमा कृषिले महत्व पाउन सकेको छैन । हतारमा निर्णय गर्ने र फुर्सदमा धिक्कार गर्ने मन्त्रालयको विद्धानहरुका कारण पछिल्लो समयमा कृषि क्षेत्र नै ओरालो लाग्न थालेको हो ।
चालु आर्थिक वर्षमा कृषि विकास मन्त्रालयले ठूलो प्रगति गर्न सक्ने देखिएको छैन । पहिलो चौमासिक करीव सकिन लाग्दा कृषि क्षेत्रमा अन्योल र अस्थिरतामात्र देखिएको छ । स्थानीय तहका पठाइएको बजेट कृषि क्षेत्रमा लगानी भन्दा पनि अन्यत्र नै लगानी भईरहेको देखिन्छ । अवौं रकम बजेट कृषि उत्पादनमा प्रयोग हुन सकिरहेको छैन ।
एकातिर कृषिका लागि उर्वर क्षेत्रका रुपमा रहेको तराई क्षेत्रमा बाढीका कारण कृषि जन्य उत्पादन घट्दै गईरहेको छ । त्यसकारण पनि कृषि उत्पादन चालु आर्थिक बर्ष ठूलो मात्रामा घट्ने देखिन्छ । अर्को तर्फ विगतमा जिल्ला कृषि विकास कार्यालयहरुले गर्दै आईरहेको उत्पादनसँग प्रत्यक्ष जोडिएका विभिन्न कार्यक्रमहरुका बजेट चालु आर्थिक वर्षमा स्थानीय तहमा पठाईएका कारण पनि सो बजेट कृषि उत्पादनमा उपयोग हुन सकेको देखिंदैन ।
स्थानीय तहलाई सम्पूर्ण अधिकार प्रत्योजन गरेको चर्चा सर्वत्र भएपनि विभिन्न विषयगत मन्त्रालय एवं कृषि विकास मन्त्रालय समेतले जिल्ला स्थित कार्यालयहरुले बनाएका योजना सहितका कार्यक्रमलाई स्थानीय तहका बजेट पठाएपछि जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरु कतिपय स्थानीय तहमा खटिएको भएपनि के काम गर्ने, कस्ता काम गर्ने भन्ने कुरामा पनि अन्यौल छ ।
जिल्लाबाट काजमा खटिएर गएका कर्मचारीलाई पनि स्थानीय तहले कामको जिम्मेवारी दिन सकिरहेको छैन । कतिपय स्थानीय तहले कृषि क्षेत्रलाई विशेष महत्व दिएको भएपनि पनि कृषि क्षेत्रका कर्मचारीले नै त्यसलाई उपयोग गर्न सकेको देखिंदैन । जसले गर्दा स्थानीय तहका कृषि अवस्था के हुने भन्ने नै अन्योलता छाएको छ । यसैका कारण पहिलो चौमासिकको प्रगति शुन्य जस्तै देखिएको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २८, २०७४