शुक्रबार, चैत्र १६, २०८०

सेनाको जागिर छाडेर च्याउखेती

भोजपुर । सदरमुकामबाट पूर्वमा पर्ने श्यामशिला गाविस ३ का २९ वर्षिय कमल भुजेल १२ वर्ष अघी नेपाली सेनामा भर्ना भए । सानै देखि देशको सेवा गर्ने इच्छा अनुरुप उनी सैनीक सेवामा भर्ति भएका हुन् । सेवामा प्रवेश गरेर सानै देखिको इच्छा त पुरा गरे तर सैनीक जीवनमा आत्म सन्तुष्टि भने प्राप्त गर्न सकेनन् ।

उनलाई देशमा दिनप्रतिदीन बढेको बेरोजगारी र खस्कदो कृषि क्षेत्र प्रतिको चिन्ताले सतायो । युद्ध भैरव गण महाराजगञ्जमा ११ वर्ष सैनिक जिवन विताएका भुजलेलाई त्यहि चिन्ताले २ वर्ष अघी अन्ततः जागिर छोड्न बाध्य बनायो । जागिर छाडेर उनी आफुसँगै अरुलाई पनि रोजगारीको अवसर दिनु बाटोमा लाग्ने निश्चय गरे । जागिर छाड्ने वित्तिकै भोजपुर नगरपालिका ६ मा १२ रोपनी जग्गा बार्षिक ४२ हजारमा भाडामा लिएर ४ लाख लगानी गरि मातृभुमी कृषि फार्म खोलेर कृषि कर्ममा लागे । “आफु मात्रै जागिरे भएर के गर्नु देशमा म जस्ता हजारौ बेरोजगारी समस्याबाट पिरोल्यीएका छन् । कृषि प्रधान देश भनेर चिनिएको नेपाल दिन प्रतिदिन कृषिमा परनिर्भर भएको देख्दा साह्रै पिडा भयो अनि जागिर छोड्न बाध्य भए,” भुजेलले अतित सम्झिए ।

कृषि कर्ममा लागेको छाटो समयमा नै कमलको प्रगतीले धेरैलाई अचम्मीत बनाएको छ । हाल उनको फार्ममा कन्य च्याउ, अर्गानिक तरकारी खेती, अलैची र पाउलोनिया (छिटो बढ्ने काठ) को नर्सरी छ । कमलले अलैचि विकास निर्देशनालय इलाम र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा २ लाख अलैचीका विरुवा उमारेका छन् भने जापान देखि विउ ल्याएर ५० हजार पाउलोनियका विरुवा उमारेका छन् । उनको कृषि प्रतिको लगावका कारण हाल उनको फार्म हेर्न जानेको संख्या बढ्न थालेको छ । “दिनमा १०\१२ जना मेरो फार्म हेर्नका लागी आउने गरेका छन् । यसरी फार्म हेर्न मानिसहरु आँउदा मलाई कृषिमा खट्नका लागी थप उर्जा समेत मिलेको छ, उनले भने ।

कमलले जिल्ला कृषि विकास कार्यालयले दिएको ४० हजार अनुदानको सहयोगमा गरेको कन्य च्याउ खेतीबाट ४० दिनमै २ लाख ५० हजार आम्दानी गर्ने बताए । अहिले उनी प्रतिकेजी २५० का दरले धमाधम च्याउ बेचिरहेका छन् । परालबाट उत्पादन हुने कन्य च्याउ स्वस्थ्यकर साथै जुन सुकै रोग भएकाहरुले समेत खान मिल्ने भएकाले मानिसहरु च्याउ किन्नका लागि उनकै फार्ममा पुग्ने गरेका छन् । हाल एउटा टनेलमा च्याउ खेति गरिरहेका कमलले थप ३ वटा टनेल बनाइरहेका छन् । “छोटो समयमा नै धेरै आम्दानी गर्न सकिने र बजारको समेत समस्या नभएकाले च्याउ खेति विस्तारको काम गरिरहेको छु,” कमलले भने । रासायनिक हतियारका माध्यमबाट हैन अर्गानिक कृषिबाट देशको विकास गर्न सकिन्छ भन्ने सोचका साथ आफुले अर्गानिक खेतिलाई प्राथमिकतामा राखेर काम गरिरहेको कमल बताउँछन् ।

आफु मात्र हैन अरुलाई पनि रोजगारी दिनु पर्छ भन्ने मान्यता राख्ने कमलले हाल मासिक ६ हजार दिएर २ जनालाई रोजगारी समेत दिएका छन् । १० बर्ष भित्र भोजपुरलाई कृषि क्षेत्रमा नमुना जिल्ला बनाउने आफ्नो योजना उनको रहेको छ । वैदेशिक रोजगारीमा जाने युवाहरुको लस्कर देख्दा दुख लाग्ने गरेको बताउँने कमल भन्छन् “१\२ लाख खर्चेर विदेश गएर २४ घण्टा खट्दा पनि मासिक १५ हजार पनि बचाउन गाह्रो हुन्छ । विदेश जाने पैसा स्वदेशमै कृषि कर्ममा लगाउने हो भने पनि पैसा कमाउन सकिन्छ नी, किन जानु विदेश ? ।” अव कृषिमा आधुनिकीकरण र औद्योगिकरणले मात्र देशको विकास हुन सक्ने भएकाले किसानहरु कृषि क्रान्तिमा लाग्नु पर्ने बताउँछन् । “सरकारले व्यवसायिक किसानहरुलाई अनुदान हैन विना धितो ऋण दिने व्यवस्था गरे हामी जस्ता किसानहरु लाभान्वित हुने थियौ,” कमले भने “सरकारी अनुदानले किसानले केही गर्न सक्दैनन् किनकी सरकारी अनुदान कुनै पनि काम गर्नका लागी पर्याप्त छैन । त्यसैले किसानलाई लगानी गर्न विनाधितो ऋणको आवश्यकता छ ।” सरकारले किसानले उत्पादन गरेको वस्तु सहजरुपमा विक्री गर्ने वातावरण बनाइदिनु पर्ने माग राख्छन् । कृषि सम्बन्धि २ दर्जन बढी तालिममा सहभागिता जनाएका कमलले अरु किसानहरुलाई सिप सिकेर कृषि कर्ममा लागौ नेपालमै उज्वल भविष्य बनाऔ भन्ने सल्लाह दिने गरेका छन् । आफ्नो जिवनभर कृषि कर्ममै विताउँछु भन्ने कमलले व्यवसायिक बन्न चहाने किसानहरुलाई सल्लाह, सुझाव र सक्दो सहयोग समेत गर्ने गरेका छन् । -तिर्थराज बस्नेत

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १५, २०७१