मङ्लबार, बैशाख ११, २०८१

सुपारीले किसानको जीवनस्तर उकासिँदै

विराटनगर, ९ फागुन । पछिल्लो समय व्यावसायिक सुपारी खेती गर्दै आएका उत्तरी मोरङका किसानको जीवनस्तर उकासिँदै गएको छ । गाउँमै प्रशोधन केन्द्र स्थापनापछि विगतमा भन्दा तेब्बर मूल्य पाउन थालेका छन् । जसका कारण कृषकहरू उत्सादित देखिन्छन् ।

५ रूपैयाँ प्रतिकिलोमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रूपैयाँ पाउन थालेका छन् । सुपारी खेतीमा संलग्न किसानहरूको आयस्तर बढाउने उद्देश्यले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि उत्तरी मोरङका सुपारी किसानहरू उत्साहित भएको मधुमल्लास्थित प्रतिष्ठा सुपारी उत्पादक सहकारी संस्थाका अध्यक्ष नगेन्द्र कार्की बताउँछन् ।

उत्तरी मोरङको लेटाङ, उर्लाबारी, जाँते, मधुमल्ला, डाँगीहाट, बेलबारी, भोगटेनीलगायतका स्थानमा बढी मात्रामा सुपारी खेती गरिँदै आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार मोरङमा ८ सय हेक्टरमा सुपारीको व्यावसायिक खेती भइरहेको छ । स्थानीयस्तरमा सहकारी नै स्थापना गरेर किसानहरूले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै अन्य किसानसमेत सुपारी खेतीतर्फ आकर्षित भएको कार्कीको भनाइ छ । “प्रशोधित सुपारीको मूल्य बढी पाउने भएकाले पनि किसानहरू उत्साहित बनेका हुन्,” उनी भन्छन्, “यस्तो सुपारी बिक्री पनि चाँडै हुने गरेको छ ।” उनका अनुसार खरिदकर्ताहरू प्रशोधन केन्द्रमै पुग्ने गरेका छन् ।

लेटाङ–भोगटेनी नगरपालिकास्थित लेटाङ बजारमा मोरङकै पहिलो सुपारी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि किसानहरूले बढी मूल्यमा सुपारी बिक्री गर्न पाएका हुन् । सुपारी उत्पादनमा संलग्न किसानले आफ्नै पहलमा करिब १० लाख रूपैयाँमा स्थापना गरेको प्रशोधन केन्द्रबाट निर्यातयोग्य सुपारी तयार हुन्छ । प्रशोधन केन्द्र नहुँदा सुपारी कृषकले उत्पादन गरेको सुपारी प्रतिकिलो ५ रूपैयाँमा बेच्ने गरेकोमा अहिले प्रशोधन केन्द्रमै प्रतिकिलो १८ रूपैयाँका दरले खरिद गर्ने गरेको मालिङ्गो सुपारी सहकारी संस्थाका अध्यक्ष यमाकान्त कोइरालाले बताए ।

लेटाङमा मालिङ्गो सुपारी सहकारी संस्था र चिसाङ सुपारी सहकारी संस्था मिलेर गत पुसेदेखि संयुक्त रूपमा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका हुन् । मधुमल्लामा समेत सहकारीकै माध्यमबाट काँचो सुपारी खरिद गरी लेटाङको प्रशोधन केन्द्र पु¥याइन्छ । सहकारीको माध्यमबाट संलग्न किसानहरूलाई सुपारीको विरुवा वितरण र क्षमता विकाससम्बन्धी सहयोग हुने गर्दछ । प्रशोधित सुपारी सुकाउन ३५ वटा चाङ राखिएको छ । गाउँमै सुपारीको प्रशोधन हुन थालेपछि ५० जनाले रोजगारी पाएका छन् । उनीहरूले सुपारी काट्ने, सुकाउने र उठाउने काम गर्दछन् । “प्रशोधन केन्द्रका कारण अब मोरङमा सुपारी खेती बढ्ने देखिन्छ,” कोइरालाले भने, “अन्य बालीमा भन्दा राम्रो आम्दानी भएपछि कृषकको आकर्षण सुपारीमा बढ्छ ।”

बेलबारीका राजकुमार लिम्बू यस वर्षदेखि धानखेती मासेर सुपारी लगाउने मनस्थितिमा पुगेका छन् । दुई बिघामा सुपारी खेती गर्दै आएका लिम्बूले यो वर्षदेखि थप ४ बिघामा सुपारी लगाउने योजना सुनाए ।

प्रकाशित मिति: शनिबार, फाल्गुन ९, २०७१