शनिबार, बैशाख ८, २०८१

सुपारीको आयातमा दोब्बरले वृद्धि

भद्रपुर, २४ चैत । मुलुकको पूर्वी नाका काँकरभिट्टा भएर तेस्रो मुलुकबाट सुपारीको आयातमा दोब्बरको हाराहारीमा वृद्धि भएको पाइएको छ । खासगरी झापाली उपभोक्ताको मागभन्दा केयौँ गुणा बढी सुपारीको आयात गर्नुमा भारततर्फ तस्करी गर्ने मनसाय लुकेकाले नै सुपारीको आयातमा निरन्तर रूपमा वृद्धि भइरहेको देखिएको हो । तस्करले ठूलो परिमाणमा सुपारीको अवैध ढङ्गले निकासी गर्न खोज्दा सुरक्षाकर्मीले निरन्तर रूपमा बरामद गरिरहेकाले त्यस्ता सुपारी तस्करी गर्ने मनसायले नै तेस्रो मुलुकबाट आयात गरिएको पुष्टि हुन्छ । यस क्षेत्रमा सुरक्षाको कडा प्रबन्ध मिलाइएकाले सुरक्षाकर्मीले ठूलो परिमाणमा सुपारी बरामद गर्न सफल भइरहेको भए पनि तस्करले सोही क्षेत्रलाई नै मुख्य तस्करीको क्षेत्रका रूपमा छनोट गरेको देखिन्छ ।यसका साथै भारतसँग झापाको ११७ किलोमिटरको खुल्ला सिमानाको फाइदा उठाएर भद्रपुरलगायत विभिन्न ठाउँबाट सुपारीलगायतका सामानको तस्करी हुने र पक्रने कार्य दिनचर्या नै बनेको छ ।

काँकरभिट्टास्थित मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार, गत आवमा सात हजार ९३१ मेट्रिक टनमात्र सुपारी आयात भएकामा चालु आर्थिक वर्षको मात्र आठ महिनामा रु एक अर्ब ४५ करोड मूल्य बराबरको १६ हजार ६१४ मेट्रिक टन सुपारी आयात भएको छ । चालु आवमा रु छ करोड ५८ लाख मूल्य बराबरका सुपारी, विभिन्न प्रकारका सामान र गाडी भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि प्रहरीद्वारा दर्ता गरिएको छ ।भन्सारले यस्ताखाले सामानको लिलामीबाट उठेको रकमको ३५ प्रतिशत रकम पुरस्कारस्वरूप सामान पक्रने र सुराकीलाई प्रदान गर्दै आइरहेको छ । तेस्रो मुलुकबाट सुपारी भित्रिने र तस्करीको क्रममा प्रहरीद्वारा सुपारी बरामद गरी लिलामका लागि भन्सारमा दाखिला गरेपछि भन्सारलाई दोहोरो फाइदा हुने गर्दछ । सुपारी आयातको क्रममा व्यापारीबाट राजस्व प्राप्त हुन्छ र प्रहरीद्वारा तस्करीको क्रममा बरामद गरी लिलाम गरेपछि पुनः सोही सुपारीको लिलामीबाट प्राप्त आम्दानीका कारण भन्सारलाई दोहोरो फाइदा पुगेको हो तेस्रो मुलुकबाट आयातित सुपारीबाट भन्सार शुल्क ३० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत प्राप्त हुन्छ ।

चालु आर्थिक वर्षको आठ महिनामा सो भन्सार कार्यालयले सुपारीको आयातबाट राजस्वस्वरूप रु ६८ करोड प्राप्त गरेको सो कार्यालयका प्रमुख मुक्ति पाण्डेले जानकारी गराउनुभयो । पूर्वी नाका काँकरभिट्टामा ९८ प्रतिशतभन्दा बढी इन्डोनेसियाबाट र दुई प्रतिशतको हाराहारीमा थाइल्यान्डबाट सुपारी भित्रिने गरेको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । सुपारीको सम्बन्धमा झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश डालमियाले दसगजा क्षेत्रबाट सुपारी बरामद गर्नु प्रहरीको दायित्वभित्र पर्दछ, तर आन्तरिक खपतका लागि गोदामबाट लाने क्रममा प्रहरीले सुपारी नियन्त्रणमा लिने कार्यले यस व्यवसायमा संलग्न व्यापारी हतोत्साहित भइरहेको बताउनु हुन्छ ।

प्रकाशित मिति: सोमवार, चैत्र २४, २०७०