बुधबार, बैशाख १२, २०८१

सुन्तला विक्रीमा व्यापारीको ब्रह्मलुट

बुटवल, मंसिर । यस बर्ष सुन्तलाको सिजन सुरु हुन अझै केही समय बाँकी छ । तर बजारमा अहिले पनि हरियो सुन्तला विक्रि भएको पाइएको छ । सिजन सुरु नहुदै बजारमा आएको सुन्तलामा व्यापारीहरुले ब्रम्हलुट नै मच्चाउँदै आएका छन् । किसानबाट सस्तो दरमा खरिद गरेर ल्याउने सुन्तलालाई होलसेल व्यापारी साथै रिटेलर (फुटकर) व्यापारीहरुले मनलग्दो मुल्य निर्धारण गरी लुट मच्चाएको पाइएको छ । अहिले बुटवल र आसपासमा अधिकांस स्याङ्गजा जिल्लाको सुन्तला आएको छ ।orange स्याङ्गजा लगायत पाल्पा, गुल्मी, अर्घाखाँचीका विभिन्न स्थानहरुमा पनि सुन्तला खेती हुदै आएको छ । बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीका अनुसार सस्तो दरमा खरिद गरेर व्यापारीहरुले महङ्गो दरमा सुन्तला विक्रि गरको पाइएबो बताएका छन् । नाफाको नाममा अधिक नाफा लिने गरेको उनको स्वीकारोक्ती छ । सुन्तला उत्पादन हुने स्याङ्जा जिल्लामा सुन्तला बगानमा नै किसानले सानो वा ठुलो ३५ रुपैयाँ देखि ४५ रुपैयाँ प्रतिकिलोमा होलसेल विक्रेतालाई वितरण गरिरहेका छन् भने पाल्पा जिल्लाका किसानहरुले ४० देखि ४५ रुपैयाँप्रतिकिलोमा विक्रि गरेको पाइएको छ । पाल्पाका सुन्ताल किसान जंगबहादुर कुँवरले अहिले बोटबाट ४० रुपैयाँ देखि ४५ रुपैयाँ प्रतिकिलोमा सुन्ताल विक्रि भएको जानकारी दिए । किसानबाट सस्तो दरमा ल्याएर व्यापारीहरुले भने १०० प्रतिशत भन्दा बढि नाफा खाएर विक्रि गरेको पाइएको छ ।
बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा अहिले दैनिक ६० देखि ७० टन सुन्तला विभिन्न जिल्लाहरुबाट आउने गरेको छ । अध्यक्ष पन्थीका अनुसार थोक बजारमा व्यापारीहरुले ठुलो सुन्तला ६० देखि ७० रुपैयाँ प्रतिकिलोमा र मध्यमखालको सुन्तला ३० देखि ४० रुपैयाँ प्रतिकिलोमा र सानो आकारको सुन्तला २० देखि ३० रुपैयाँ प्रतिकिलोमा विक्रि वितरण गर्ने गरेका छ ।
यसरी थोक बजारबाट फुटकर व्यापारीहरुले उपभोक्ताहरुलाई १ सय रुपैयाँ देखि १ सय ५० रुपैयाँ प्रतिकिलोमा आकार अनुसार विक्रि गर्ने गरेको पाइएको छ । बुधवार बजारमा सुन्ताला १ सय रुपैयाँ देखि १ सय २०, १ सय ५० रुपैयाँ प्रतिकिलोमा समेत विक्रि गरेको पाइएको हो । यसरी व्यापारीहरुले सुन्तालामा एक प्रकारले ब्रहमलुट नै मच्चाएका छन् ।
स्थायी समाधानः कोल्ड स्टोर
मौसमी वा बेमौसमी रुपमा उत्पादन भएका फलफुल वा तरकारीलाई चिस्यान केन्द्रमा राखेर बेमौसममा विक्रि गर्दा किसान र व्यापारी दुबैलाई फाईदा हुन्छ । तर दैनिक करिव १ करोडको कारोवार गर्दै आएको राजधानी बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द्रको रुपमा रहेको ‘बुटवल कृषि उपज तथा फलफुल थोकबाजार केन्द्र’ हाल सम्म कोल्ड स्टोर छैन ।
व्यवसायीहरुको पहलमा आर्थिक बर्ष २०६९÷०७० मा नेपाल सरकार अर्थ मन्त्रालयको रातो किताबमा नै एक क्षेत्र एक कोल्ड स्टोरेज स्थापना गर्न निश्चित बजेट विनियोजना भएको थियो । बजेटको समयमा नै सदुपयोग नभएका कारण उक्त बजेट फ्रिज भएर गएको थियो ।
कोल्ड स्टोर निर्माणको लागि तत्कालिन सरकारले छुट्याएको ५९ लाख रुपैयाँ फ्रिज भएको थियो भने सोही बर्ष कोल्डस्टोर निर्माण गर्न अनुदानबापत उपलब्ध गराउन छुट्याइएको १२ करोड रुपैयाँ पनि फ्रिज भएको थियो ।
बुटवल कृषि उपज तथा थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थीका अनुसार वि.स.२०७० साल जेठ महिनामा बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघको पहलमा जिल्ला विकास समिति मार्फत कोल्ड स्टोर निर्माणको लागि पहल भएको थियो । आर्थिक बर्ष २०६९ ÷०७० मा प्याज उत्पादन बढाउन सरकारले ‘भेन्टिलेटर’ र ‘कोल्ड स्टोरेज’ को नाममा बजेट विनियोजन गरेको भएपनि कुनै पनि क्षेत्रमा कोल्ड स्टोर निर्माण हुन नसकेर बजेट फ्रिज भएको पाईन्छ । कोहलपुर, बुटवल र पथलैयामा बिजुलीरहित खुला ठाउँमा राख्ने गरी भेन्टिलेटर कार्यक्रम ल्याइए पनि टेन्डर प्रक्रिया नमिल्दा उक्त कार्यक्रममो ५९ लाख रुपैयाँ फ्रिज भएको थियो । त्यसपश्चात अहिले कुनै पनि प्रक्रिया अगाडि बढेको छैन । -कृष्ण खनाल

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४