शुक्रबार, बैशाख ७, २०८१

सिंचाई मन्त्रालय काम भन्दा नामलाई प्राथमिकता

काठमाडौं, ४ पुस । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पश्चात केन्द्रीय सरकारका मातहतमा रहने मन्त्रालयको समेत पुर्नसंरचना हुने भएको छ । मन्त्रालयको संख्या घट्ने मात्र होइन सरोकारवाला मन्त्रालयलाई एकै ठाउँमा राखिने तय गर्न खोजिएको जस्तो मात्र देखिन्छ ।
साविकका रुपमा रहेको पशुपन्छी विकास मन्त्रालय, कृषि विकास मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, गरिवी निवारण तथा सहकारी मन्त्रालयलाई एकै ठाउँमा राख्ने करिव करीव अन्तिम निष्कर्षमा पुर्नसंरचनामा लागेका विज्ञहरु पुगेका छन् ।
संघीय संरचना अनुरुप मन्त्रालयलाई मर्ज गर्दा पनि कृषि क्षेत्रलाई विशेष ध्यान नदिएको हो कि भन्ने आशंका पैदा भएको छ । अव बन्ने मन्त्रालय कृषि, पशुपन्छि, भूमि व्यवस्था एवं सहकारी बनाउने निष्कर्षमा पुगेपनि सिंचाईलाई बेग्लै राख्नु भनेको विज्ञहरुले पनि कृषि क्षेत्रको विकासलाई भन्दा नामलाई प्राथमिकतामा राखेको हो कि भन्ने भएको छ ।
कृषिसँग प्रत्यक्ष जोडिएको सिंचाई मन्त्रालयलाई पुर्नसंरचना गर्दा समेत छुट्टै मन्त्रालयका रुपमा राखिनुले त्यस्तो आशंका पैदा भएको हो । सिंचाई मन्त्रालयको स्थापना नै कृषि उत्पादकत्व बृद्धि गर्नका लागि सिंचाई सुविधा पु¥याउने हो भने पुर्नसंरचनामा जाँदा कृषि विकास मन्त्रालयसँग जोडिनु अनिवार्य थियो । तर त्यसो हुन सकेन । सिंचाई मन्त्रालयलाई छुट्टै मन्त्रालयका रुपमा स्थापित गर्दा हुने फाइदा भन्दा पनि कृषि क्षेत्रको विकासका लागि भने धेरै नै बेफाइदा हुने देखिएको छ ।
विगतदेखि नै कृषि क्षेत्रको विकास नहुनुमा सरकारी संयत्रवीचको समन्वय अभावका कारण देखाइउने गरिएको छ । हरेक चौमासिक वैठकमा समेत मन्त्रालयहरु वीच समन्वय नहुँदा काम गर्न असहज भईरहेको बताउने सरकारी उच्च अधिकारीहरुले कृषिसँग सवैभन्दा महत्वपूर्ण र प्रत्यक्ष सरोकार राख्न सिंचाई मन्त्रालयलाई कृषि मन्त्रालयमा राखिनु पर्दछ भन्ने कुरा किन भन्न सकिरहेका छैनन् ।
सरकार कृषि उत्पादकत्व बृद्धि गर्ने अभियानमा जुटिरहेका बेला कृषि उत्पादकत्व बृद्धि गर्नका लागि महत्वपूर्ण पाटो सिंचाई क्षेत्रलाई नै बेग्लै राख्नुलाई पुर्नसंरचना आयोगले पनि कृषिलाई प्राथमिकता दिन खोजेन भन्दा उपयुक्त हुन्छ होला ।
यदि साँच्चै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने हो भने भूमि सुधार तथा व्यवस्था मन्त्रालयलाई भन्दा सिंचाई मन्त्रालयलाई कृषि मन्त्रालयमा जोड्नु उपयुक्त हुन्छ । अन्यथा काम भन्दा नाम प्यारो गर्नुको कुनै अर्थ देखिंदैन ।

प्रकाशित मिति: मङ्लबार, पुस ४, २०७४