शनिबार, बैशाख ८, २०८१

सिँचाइ आयोजना अलपत्र

सुर्खेत, ३ चैत । यहा“को मैनतडा–५ र ६ मा पर्ने काठेघारी सिँचाइ आयोजना झन्डै चार वर्षदेखि अलपत्र परेको छ । आयोजनाका लागि आवश्यक बजेट तथा सुधारमा निरन्तरता नभएपछि अलपत्र परेको स्थानीयवासीले बताएका छन् । मैनतडा–५ र ६ मा रहेको कुइरे गाउ“मा सिँचाइ गर्ने उद्देश्यले आर्थिक वर्ष २०६४÷०६५ मा आयोजना निर्माण गरेको भए पनि आफूहरूले एक वर्ष मात्रै सिँचाइ गर्न पाएको मैनतडा–५ कुइरेका मैसरा विकले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०६४÷०६५ मा गाउँ विकास समितिबाट ४० हजार र स्थानीयवासी स्वयम्ले रकम उठाएर कुलो निर्माण गरी सिँचाइको व्यवस्था मिलाएका थिए । तर त्यसपछिका वर्षहरूमा कुलोको सर्मत–सम्भारलाई निरन्तरता नदिँदा आयोजना अलपत्र परेको हो । वडा नं ५ काठेघारी जङ्गलबाट कुलो निर्माण गरी वडा नं ६ कुइरेसम्म पु¥याउनका लागि बीचमा खोला पर्ने र उक्त खोलामा कलभर्ट निर्माण नहुँदा आयोजना अहिले बन्द भएको हो । “कुलोको बीचमा एउटा खोला छ”–उहाँले भन्नुभयो–“त्यहीँ खोलामा कलभर्ट मात्रै बनाए पनि कुलो सञ्चालनमा आउँछ तर कसैले सहयोग गरेका छैनन् ।” आयोजना निर्माण समितिकी उपाध्यक्षसमेत रहेकी विकले कुलो निर्माणपछि वडा नं ५ र ६ को झन्डै ६० बिघा जमिन सिञ्चित हुने बताउनुभयो ।
कुलो निर्माणपछि सिँचाइबाट खेती हुने भएकाले आफूहरूले गाविस, जिविस र विभिन्न सङ्घसंस्थामा आयोजना सञ्चालनका लागि निवेदन दिएको स्थानीयवासीले बताएका छन् । मैनतडा गाविसका मुखिया घनबहादुर सुनारले भने वडा नागरिक मञ्चबाटै आयोजनाका लागि पहल हुन नसक्दा आयोजना पुनः सञ्चालन हुन नसकेको बताउनुभयो । मैनतडाका सबैजसो स्थानमा सुक्खा पर्ने गर्दछ । साथै खानेपानीको पनि चरम अभाव रहेको छ । खानेपानीको अभावका कारण स्थानीयवासी भेरीको पानी खाने गर्दछन् ।-कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, चैत्र ३, २०७०