बिहिबार, चैत्र १५, २०८०

सामुहिक बीउ उत्पादनबाट ११ करोड

चितवन, २८ फागुन । बीउ अभाव खेपिरहेन किसानहरुले सामूहिक रुपमा बीउ उत्पादन गर्दा सफलता मात्र होइन बीउको अभावबाट मुक्त हुने प्रमाणित भएको छ । चितवनका किसानहरुले सामूहिक रूपमा बीउबिजन उत्पादनमा गर्न एकजुट भएपछि विभिन्न बीउ उत्पादनमा उल्लेख्य सफलता हासिल भएको छ । चितवनमा खाद्यान्न, गेडागुडी र तेलहनका दुई हजार ८६७ मेट्रिक टन बीउ उत्पादन हुने गरेको छ ।
गत वर्ष उत्पादित सो परिमाणको बीउमध्ये एक हजार ११९ मेट्रिक टन बीउ जिल्ला बाहिर बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीका अनुसार जिल्लाभित्र ७५७ मेट्रिक टन बीउ खपत भएको छ भने बाँकी ९९१ मेट्रिक टन बीउ स्टक रहेको छ । जिल्लामा एक हजार ७५२ हेक्टरमा बीउका लागि खेती हुने गरेको छ ।
बीउ बिक्रीबाट रु ११ करोड एक लाख १५ हजार आम्दानी भएको कार्यालयका प्रमुख अधिकारीको भनाइ छ । सबैभन्दा धेरै धानको बीउ बेचेर आम्दानी भएको तथ्याङ्कले देखाएको छ । थोरै उत्पादन भए पनि बोडीको बीउको मूल्य अरू बीउको भन्दा उच्च रहेको छ ।
जिल्लामा धान, मकै, गहुँ, राज्मा, बोडी, तोरी, भटमास र मसुरोको बीउ उत्पादन हुने गरेको छ । जिल्लामा १५ वर्षअघि व्यावसायिक बीउ उत्पादन कार्यक्रम सुरु भएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २८, २०७०