शुक्रबार, बैशाख ७, २०८१

साढे चार करोडको लागतमा खाद्य प्रयोगशाला बन्दै

सरकारले साढे चार करोड रुपैयाँको लागतमा खाद्यान्न परीक्षण गर्न अत्याधुनिक उपकरणसहितको प्रयोगशाला स्थापना गर्ने भएको छ । भारत सरकारको ४ करोड ४२ हजार रुपैयाँको सहयोगमा प्रयोगशाला स्थापना गर्न लागिएको हो ।
नेपाल खाद्य संस्थानको केन्द्रीय कार्यालय भद्रकालीमा तीन तले भवनसहितको प्रयोगशाला स्थापना गरिने छ । संस्थानका नायव महाप्रबन्धक श्रीमणिराज खनालले खाद्यान्न परीक्षण गर्नका लागि आधुनिक प्रयोगशालाका भवन निर्माण भइसकेको बताए । “प्रयोगशालामा खाद्यान्न, दलहन र तेलहनको परीक्षण गरिने छ,” उनले भने, “उपकरणहरू जडान गर्न बाँकी रहेकाले केही समयभित्रै प्रयोगशाला सञ्चालनमा आउनेछ ।” प्रयोगशालामा २६ प्रकारका ४ हजार २ सयवटा उपकरण जडान गर्न गरिनेछ । प्रयोगशालामा खाद्यान्नको जैविक, भौतिक र रसायन परीक्षण गरिनेछ ।
भारत सरकारले आर्थिक सहयोग गरेपछि नेपाल सरकारले प्रयोगशाला निर्माणको जिम्मा काठमाडौं जिल्ला विकास समितिलाई दिएको थियो । प्रयोगशाला निर्माणको जिम्मा पाएको जिविसले निर्माण प्रक्रिया ढिलाई गर्दा अझै सञ्चालनमा आउन सकेको छैन । जिविसले भवन र ल्याबको सम्पूर्ण काम सम्पन्न गरी एक वर्षभित्र संस्थानलाई बुझाउने सम्झौता भएको थियो । तर, लामो समय बितिसक्दा पनि जिविसले प्रयोगशाला हस्तान्तरण गर्न सकेको छैन ।
प्रयोगशालामा विश्वकै पछिल्लो अत्याधुनिक प्रविधि जडान गर्न लागिएको संस्थानले बताएको छ । संस्थानसँग खाद्यान्न परीक्षण गर्न प्रयोगशाला नहुँदा समस्या हुँदै आएको छ । हाल कृषि विकास मन्त्रालयअन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला छ । खाद्यान्नको गुणस्तरण परीक्षण गर्न संस्थानले सोही प्रयोगशामा पठाउने गर्छ । आफ्नो प्रयोगशाला नहुँदा खाद्यान्नको गुणस्तर परीक्षण गर्न धेरै समय लाग्ने गरेको संस्थानले जनाएको छ । आधुनिक प्रयोगशाला स्थापनापछि आवश्यक परेका बेला तत्काल खाद्यान्न परीक्षण गर्न सकिनेछ । प्रयोगशालाका लागि खाद्य प्राविधिकसमेत आवश्यक पर्नेछ । संस्थानसँग केही संख्यामा प्राविधिक रहेको र बाँकी नयाँ भर्ना गर्नुपर्ने छ ।
प्रयोगशाला स्थापनापछि सेवाको गुणस्तर थपिने संस्थानले बताएको छ । निजी क्षेत्रले पनि खाद्यान्नको परीक्षण खुला गर्ने गरी सरकारसँग अनुमति लिन लागिएको संस्थानले जानकारी दिएको छ । संस्थानका अनुसार प्रयोगशालामा जाँचेपछि घ्यू, तेल, दाल, चामललगायत खाद्य वस्तुमा कति विषादी प्रयोग भएको भन्ने थाहा हुन्छ ।
संस्थानले अहिलेसम्म खाद्यान्न परीक्षण नगरी बेचिरहेको छ । नेपालमा खानेकुरामा धेरै रासायनिक पदार्थ प्रयोग गरिँदैन भन्ने मान्यताका आधारमा संस्थानले बिक्री गरिरहेको हो । प्रयोगशाला स्थापनासँगै संस्थान आफैंले वितरण गर्ने खाद्यान्न परीक्षण गर्न सहयोग पुग्नेछ । –लक्ष्मी सापकोटा

प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४