मङ्लबार, बैशाख ४, २०८१

अनुदान रकमबाट हुन लागेको युगान्डा भ्रमण रोकियो

काठमाडौं,फागुन । कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको कृषि तथा खाद्य सुरक्षा आयोजनाको अनुदान रकमबाट हुन लागेको युगान्डा भ्रमण रोकिएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्ला, कालिकोट, रुकुम, रोल्पा, प्यूठान, सल्यान, सुर्खेत, दैलेख , जाजरकोट, बझाङ, बाजुरा, वैतडी, डडेल्धुरा, डोटी, दार्चुला र अछाम कार्यक्षेत्र बनाएर ती क्षेत्रका जनताकाको खाद्य सुरक्षाका लागि सञ्चालनमा आएको सो आयोजनाकै रकमबाट १२ गते शनिबार बेलुका युगाण्डा भ्रमणमा जान लागेको समाचार कृषि अनलाईनले शुक्रबार प्रकाशन गरेको थियो । अनलाईनमा प्रकाशन भएको विदेश भ्रमणमो समाचार शुक्रबार नै हटाउन दवाव आएको भएपनि अन्तत ः कृषि अनलाईनको सोही समाचारका कारण कृषि मन्त्रालय प्रशासन महाशाखाका सहसचिवको नेतृत्वमा शनिबार हुन लागेको युगाण्डा भ्रमण रोकिएको हो ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको नयाँ सरकारले सरकारी रकममा कुनै पनि कर्मचारीहरुलाई विदेश भ्रमण जानबाट रोक्ने निर्णय गरेको दुई दिन लगतै कृषि विकास मन्त्रालयको टोली युगाण्डा जाँदैथियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलाई लत्याउँदै कृषि विकास मन्त्रालयको टोली विदेश भ्रमणमा जान लागेको समाचार कृषि अनलाईनले प्रकाशन गरेको थियो ।
कृषि तथा खाद्य सुरक्षा आयोजना विश्व वैकको अनुदानमा सञ्चालित आयोजना हो । सोही आयोजनाको रकमबाट ४२ लाख खर्च गरेर आधा दर्जन भन्दा बढी व्यक्ति युगाण्डा भ्रमण जाने तम्तयारी गरेर बसेको भएपनि अन्तिम समयमा समाचार कै कारण भ्रमण रद्द गर्नु परेको कृषि विकास मन्त्रालय श्रोतले बताएको छ । श्रोतका अनुसार कृषि अनलाईनले प्रकाशित गरेको समाचारका कारण भ्रमण रद्द त भयो तर भ्रमण रद्द भएका कारण टिकट बुकिङ, होटल बुकिङ गरेको रकम खेर गएको छ । आयोजनाले खर्च गरेको होटल बुकिङ्को सो रकम बेरुजु देखिने डर आयोजनालाई परेको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १३, २०७४