बुधबार, बैशाख १२, २०८१

सहकारीको मारमा किसान, दूधमा बढेको मूल्य पाउलान् त ?

काठमाडौं, भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरुले उत्पादन गर्ने दूधको लागत मूल्य बढ्दा किसानहरुमा नैराश्यता उत्पन्न भएर पलायन हुने अवस्था संकेत पाएपछि तीन वर्ष पछाडि दूधमो मुल्य बृद्धि गरेको छ ।
दूधको मूल्य बृद्धि भएसँग एकातिर उपभोक्ता मारमा त परेका छन् नै । तर, उपभोक्ताले तिरेको दूधको मूल्य किसानको हातसम्म पुग्छ कि पुग्दै न भन्ने नै यकिन गर्न सक्ने अवस्था छैन ।
अहिले दूधको मूल्य बढेको भएपनि दूधको मूल्य किसानहरुले पाउन नसक्ने अवस्थामा पुगेको छ । सरकारले किसानका लागि मूल्य बृद्धि गरेको भएपनि यो मूल्य बृद्धि दुग्ध सहकारीहरुका लागि पोस्नका लागि हो कि भन्ने प्रश्न पनि उब्जन थालेको छ । विशेष गरी चितवन लगायतका जिल्लामा दूध संकलनमा सहकारीहरुको सिण्डिकेट रहेको छ । तीनै सहकारीहरुले राज्यबाट विभिन्न किसिमका अनुदान पनि हात पारेका देखिन्छन् । यद्यपी किसानहरुका लागि पनि त्यो सवै कागलाई वेल पाक्यो हर्ष न विष्मात भने जस्तो देखिएको छ ।
हुन त सरकारले उपभोक्ता लक्षित गरी दूधको मूल्य प्रति लिटर ६ रुपैयाँ बढाएको छ । तर दुग्ध विकास संस्थान र केही निजी डेरीहरुले प्रति लिटर प्याकेट दूधमा ६ रुपैयाँ नै बृद्धि गरेको भएपनि धेरैले प्रति लिटर १० रुपैयाँसम्म मूल्य बृद्धि गरेका कारण उपभोक्ता मारमा परेका छन् ।
मूल्य बृद्धि उपभोक्ताका लागि हित नहोला तर किसानको हित गर्दछ त्यसकारण पनि दूधको मूल्य बृद्धि हुनु पर्दछ भन्ने चर्चा र बहश भईरहँदा किसानहरुले दूधको बढेको मूल्य पाउन नसकेको देखिन्छ । व्यापारीहरुले जस्तै दुग्ध सहकारी संस्थाहरु पनि सञ्चालकहरु मोटाउने र वास्तविक किसान जसले दूध उत्पादन गर्छ, गाईभैसी पालन गरिरहेको छ उनीहरु मारमा परेको देख्न सकिन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य त बृद्धि गरेको छ । तर जसका लागि राहत पुगोस् भन्ने सोचले मूल्य बृद्धि गरेको हो त्यसका लागि लाभदायक हुन नसक्ने हो भने त्यसको औचित्य छैन तसर्थ किसानसम्म मूल्य बृद्धिको नियमन अनिवर्या हुनु आवश्यक छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६