शुक्रबार, बैशाख ७, २०८१

सरकारी कार्यक्रम नै भएपनि चैतेधानको खेती घट्दै

पाल्पा, वैशाख । दोस्रो बालीका रूपमा रहेको धान बालीअन्तर्गत पर्ने चैतेधान खेती बर्सेनि कम हँुदै गएको छ । युवा जनशक्ति विदेश पलायन हुन थालेपछि पछिल्लो समय गाउँघरमा चैतेधान लगाउन छाडिएको हो । एक दशक अगाडि सिँचाइ सुविधा पुगेका स्थानमा कृषकले अनिवार्य चैतेधान रोप्ने चलन थियो । तर हिजोआज भने सिँचाइ भएका स्थानमा पनि चैतेधान रोप्न छाडिएको छ ।paddy
नगरपालिका र गाउँपालिकाका विभिन्न गाउँ गाउँमा पुगेर जग्गा दलालले खेतीयोग्य जग्गा खरिद गरी प्लटिङ गर्न थालेपछि खेती गर्न छाडिएको हो । धान खेतीका लागि मुख्य अन्न भण्डारका रूपमा मानिएको माडीफाँटमा पहिले आधाआधी जति खेत चैतेधान लगाइन्थ्यो । अहिले कृषकले यहाँ चैतेधान खेती लगाउन छोड्दै गएका छन् ।
सिँचाइको सुविधा भएको पूर्वखोला फाँटभरिनै चैत–वैशाखमा चैते धान रोप्न कृषकलाई भ्याई नभ्याई हुन्थ्यो । यहाँ पनि बर्सेनि खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएको कृषक कृष्णकुमार अर्याल बताए ।
रामपुर फाँटमा सिँचाइको सुविधा भए पनि धान लगाउने जमिन दिनानुदिन घट्दै गएको छ । यस क्षेत्रमा कमैले मात्र चैतेधान खेती गरेका छन् । पहिला एक हजार रोपनीभन्दा बढीमा चैतेधान लगाइँदै आएकामा हाल करिब ५० रोपनीमा मात्र चैतेधान लगाइएको अर्यालले बताए ।
यहाँ खेतीयोग्य जग्गामा धमाधम घर निर्माण हुन थालेको छ । असारमा तयार हुने धान भए पनि एउटा स्याहार्ने अर्को लगाउने एउटै समय भएकाले सिञ्चित क्षेत्रमा पनि कृषकले क्रमिकरूपमा खेती गर्न छाडेका छन् । गत वर्ष आठ सय १५ हेक्टर क्षेत्रफलमा चैतेधान लगाइएकामा यस वर्ष भने करिब सात सय हेक्टरमा मात्र खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहनकुमार सिंहले जानकारी दिए ।
स्थानीय चैते २, चैते ३ र हर्दिनाथ जातको धान यहाँ लगाइँदै आइएको छ । जिल्लाको माडी, रामपुर, अर्गली, पूर्वखोलालगायत स्थानमा चैतेधान खेती लगाइँदै आएकामा अहिले यी स्थानका अधिकांश क्षेत्रफलमा धान लगाउनै छाडिएको छ । कामदार अभाव, खेतीयोग्य भूमि घर घडेरीमा परिणत, सिँचाइको पर्याप्त सुविधा नुहुनुजस्ता कारणले उत्पादन क्षेत्रफल घट्दै गएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख १, २०७४