मङ्लबार, बैशाख ११, २०८१

मसिनो चामलको प्रबर्द्धन,तर फलेन धान

डोटी, असोज । मसिनो चामलको प्रबर्द्धनका लागि जिल्ला कृषि बिकास कार्यालय डोटीले किसानका लागि बितरण गरेको विऊ रोपेका किसान धान नफलेपछि मर्कामा परेका छन् । डोटीका किसानको करिब ६ हजार रोपनी खेतमा लगाइएको धान नफलेको हो ।

स्वर्ण सब १ नामक बिउ जिल्ला कृषि बिकास कार्यालयले डोटीका तिलताली, बानेडुंग्रीसैन, पचनाली, मुडेगाउ लगाएतका किसानहरुलाई बितरण गरेको थियो । धानको बाली नै नलागेको किसानहरुले गुनासो गरेका छन् ।  Rice

बाली काटेर अन्न भित्राउने समय गुज्रन लाग्दा सम्म पनि नफलेपछि जिल्ला कृषिले पीडित किसानलाई राहत दिने तयारी गरिरहेको छ । जिल्ला कृषिले झण्डै एक हजार रोपनीमा लगाइएको धान नफलेको अनुमानित तथ्यांक निकालेको छ ।

नेपाल सरकार कृषि मन्त्रालयको केन्द्रिय कार्यक्रम अनुसार नेपालका २० जिल्लामा मसिनो चामल प्रबर्द्धन गर्न स्वर्ण सब १ जातको धान बितरण गरेको थियो ।

नेपालका पहाडी जिल्ला गुल्मी, लमजुङ्ग, डोटी तथा तराईका १७ जिल्लामा यो धान बितरण गरेको भएपनि डोटीमा भने धान नफलेको जिल्ला कृषि विकास कार्यालयले स्विकारेको छ । सरकारले उपलब्ध गराएको धानको बिउ नफलेपछि किसानहरु भने के गर्ने भन्ने चिन्ताले संकटमा परेका छन् ।

‘डोटीमा यसअघि लगाउँदै आएको धान प्रति हेक्टरमा २ दशमलब १४ मेट्रिक टनमात्र फल्ने गरेको थियो’, जिल्ला कृषि बिकास कार्यालय डोटीका बरिष्ठ कृषि बिकास अधिकृत यज्ञराज जोशीका अनुसार अहिले बितरण गरेको धान प्रति हेक्टरमा ५ मेट्रिकटन उत्पादन हुने हो तर दुर्भाग्य त्यो फलेन ।’

मल जल अरु धानको तुलनामा बढी खाने भएकाले पनि किसानहरुले धान लगाउने बिधि, धान लगाउने समयमा ख्याल गर्न नसक्दा धान नफलेको कार्यालयको दाबी छ । ‘हामीले बैशाखमै किसानहरुलाई निशुल्क धान बितरण गरेका थियौं’, जोशीले भने ‘तर किसानहरुले साउनमा मात्र आएर धान रोपेको पाइयो ।’  धानको बिउ बितरण गर्नु अघि किसानहरुलाई तालिम पनि दिइएको उनको दाबी छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ३, २०७२