शुक्रबार, बैशाख ७, २०८१

सन्दकपुरलाई किबी क्षेत्र घोषणा गर्न माग

इलाम, असोज । इलामको सन्दकपुर गाउँपालिकाका किबी कृषकले गाउँपालिकालाई ‘किबी जोन’ घोषणा गर्न माग गरेका छन् । गाउँपालिकामा किबी क्षेत्र घोषणा गर्न योग्य सूचक रहेको र क्षेत्र घोषणापछि किबी उत्पादन अझै व्यावसायिक बन्ने भन्दै किबी क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।kiw
किबी क्षेत्र घोषणाका लागि १० हजार रोपनी क्षेत्रफलमा किबीखेती भएको र एक लाख ५० हजार बिरुवा आवश्यक पर्छ । ती प्रावधान पूरा गरिसकेकाले भौगोलिक रुपमा गाउँपालिका किबीखेती गर्न योग्य भएकाले किबी जोन घोषणा गर्न माग गरेको सन्दपुर किबी तथा कृषि सहकारी संस्थाका अध्यक्ष देउकुमार राईले बताए । “हाम्रो गाउँको ९८ प्रतिशत क्षेत्रमा किबीखेती हुन योग्य जमिन छ । हाम्रो किबी क्षेत्र घोषणा गर्नका लागि मापदण्ड पनि पुग्छ” उनले भने । “यहाँको एक हजार २०० मिटर क्षेत्रफलदेखि २५ मिटरसम्म किबीखेती हुन्छ ।
राईका अनुसार स्थानीय तहअन्तर्गत सन्दकपुर गाउँ कार्यपालिकामा पनि सिफारिस र आवश्यक कागजात पेश गरिसकिएको छ । सन्दकपुर गाउँपालिकामा यस वर्ष मात्रै दुई लाख किलोग्राम किबी उत्पादन भएको छ । किबी क्षेत्र घोषणाका लागि जिल्ला कृषि कार्यालयबाट सिफारिस गर्न पाउनु पर्ने कृषकको भनाइ छ ।
जिल्ला कृषि कार्यालयका प्रमुख राम सोगराथ साहले किबी क्षेत्र घोषणाका लागि सबै मापदण्ड पुगेमा कार्यालयले सिफारिस गर्न समस्या नपर्ने बताए । “हामीले आफैँ जोन घोषणा गर्ने होइन । हामीले कृषि मन्त्रालयमा र प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामा सिफारिस गर्नुपर्छ ।”
किबी क्षेत्र घोषणापछि चिस्यान केन्द्र स्थापना हुने, प्रशोधनका लागि कारखाना निर्माण तथा किबी अनुसन्धान केन्द्रको समेत निर्माण हुन्छ ।

प्रकाशित मिति: शनिबार, अशोज २८, २०७४