बिहिबार, बैशाख १३, २०८१

संगठनका नाममा कार्यक्रम बहिष्कार गरेको पत्रकारलाई आरोप

काठमाडौं । केही दैनिक तथा टेलिभिजनमा कृषि विटमा काम गर्दै आईरहेका पत्रकारहरुको संगठनलाई संस्थागत रुपमा रकम नदिएको भन्दै कृषि सूचना तथा सञ्चार केन्द्रद्धारा आयोजित कृषि विज्ञहरुसँगको अन्र्तक्रिया कार्यक्रम पत्रकारहरुले बहिष्कार गरेको आरोप लागेपछि  कृषि विभाग मात्र होइन सम्पूर्ण निर्देशनालय एवं विभागमा समेत खैलाबैला मच्चिएको छ । केन्द्रद्वारा आयोजित कृषि विकास विज्ञ–कृषि सञ्चारकर्मी अन्तक्रिया कार्यक्रममा केही कृषि पत्रकारहरुले आफू निकट संस्थालाई बजेट नदिएकोले  कार्यक्रम बहिष्कार गरेको हल्ला कार्यक्रमको शुरुवातीमा नै भएपछि कार्यक्रममा उपस्थिति विभिन्न विभागका महानिर्देशक, कार्यक्रम निर्देशकहरु, कृषि विज्ञहरु र स्वयं पत्रकारहरु नै तीन छक्क परेका हुन् ।   करीव एक दर्जन पत्रकारहरु उपस्थित भएको सो अन्तक्रिया कार्यक्रममा आयोजकले केही पत्रकारहरुले आफ्नो कार्यक्रम बहिष्कार गर्ने खवर गरेकोमा दुख व्यक्त गरेपछि यथार्थ घटना बाहिर आएको हो । सूचना केन्द्रले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नका लागि छुट्याएको बजेट एक संस्थालाई एकमुष्ट रकम उपलब्ध नगराएकोले उनीहरुले कार्यक्रम बहिष्कार गरेको आरोप लागेको छ ।
पछिल्लो समयमा विषयगत पत्रकारिताले स्थान पाउन थालेपछि कृषि क्षेत्रमा कलम चलाउनेहरुले पनि आ–आफ्नै ढंगबाट संस्था स्थापना गर्न थालेका छन् ।  कृषि क्षेत्रमा क्रियाशील करीव पौने एक दर्जन पत्रकार उपस्थित रहेको सो कार्यक्रममा कतिपय सञ्चार माध्यमका सम्वाददाताहरु नदेखिएपछि  एक सञ्चारकर्मीले अन्तक्रिया कार्यक्रम केही पत्रकारहरुले बहिष्कार गरेको  भन्ने हल्ला के हो भन्ने प्रश्न गरेपछि सूचना केन्द्रले आफूहरुले जिम्मा लगाएको एक संस्थाले कार्यक्रम बहिष्कार गरेको सुन्नमा आएको भन्ने जवाफ दिएको थियो ।  कार्यक्रममा कान्तिपुरका सुरज कुँवरले आयोजक समक्ष आफूहरु कृषिको समाचार खोजी खोजी लेख्ने भएकाले जुन सुकै कृषिका विषयमा कलम चलाउने बताए । कृषि समाचारको पुष्टि गर्नका लागि स्रोतव्यक्तिहरुसँग सम्पर्क गर्दा समाचार उपलब्ध नगराउने गरेकाले सञ्चारकर्मीहरुले सास्ती खेप्नु परेको उनले बताए । यस्तै कृषि र प्रविधिकी सम्पादक सुनिता न्हेम्हाफुकीले कृषि सञ्चार माध्यमहरुलाई कृषि विकास मन्त्रालय मातहतका कार्यालयले नै उपेक्षा गरिरहेको बताउँदै समाचार सम्प्रेषणका लागि कृषि सञ्चार माध्यमहरुलाई
हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने बताईन् । समाचार बहिष्कारको घटनाले निकै नै स्थान पाएको सो कार्यक्रममा उपस्थित  आयोजक तथा विज्ञहरुसँग विभिन्न जिज्ञासा राखेका थिए । अन्र्तक्रिया कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक बीरन्द्र बहादुर हमाल, पशु सेवा विभागका महानिर्देशक नर बहादुर रजवार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवन प्रभा लामा, नेपाल कृषि अनुसन्धान परिषद्का सुरेश कुमार राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.प्रभाकर पाठकले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै कृषि सम्वन्धि कुनै पनि समाचार लुकाउनु नपर्ने बताउँदै बरु जति सक्दो धेरै समाचारहरु आफू दिन तयार रहेको बताए । प्रवक्ता पाठकले विशेष परिस्थितिमा विशेष विषयबस्तु बाहेकका अन्य जानकारी माग भए बमोजिम तत्काल सञ्चारकर्मीहरुलाई उपलब्ध गराउन आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७०