बुधबार, बैशाख १२, २०८१

शिक्षण पेसा छाडेर तरकारी खेतीमा

पाल्पा, चैत । रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि उनले शिक्षण पेसा छाडेर तरकारी खेती सुरु गरेका हुन् । विगत तीन वर्षयता उनले आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आएका छन् ।  कृषिमा काम गरिरहेको एक परियोजना गाउँमै गएर व्यवसायमा प्राविधिक ज्ञान तथा विभिन्न सामग्री सहयोग गरेपछि उनी तरकारी खेती गर्ने अठोट गर्दै व्यवसायमा लागेका हुन् । उनले आफ्नै १२ रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी लगाएका छन् ।
आधुनिक प्रविधिबाट पाण्डेले प्लास्टिक टनेलभित्र काँक्रो, घिरौँला, बोडी, सिमी, लौका, फर्सी जातका तरकारी लगाका छन् । तरकारी बिक्रिबाट मासिक रु २० हजारदेखि रु ३० हजार आम्दानी गर्ने गरेको पाण्डे बताउँछन् ।
“जागिरमा अर्काको बन्धनमा बाँधिनुपर्ने, व्यवसायले समाजमा नाम र दाम दुवै मिलेको छ,” उनले भने । बिक्री गर्न बजारको समस्या नभएको उनको भनाइ छ । बर्सेनि जग्गा विस्तार गरी व्यवसाय बढाउँदै लैजाने उनको सोच छ । बेमौसमी जातका तरकारीले बजारमा उचित मूल्य पाएपछि मौसमीभन्दा पनि बेमौसमी जातका तरकारी उत्पादनमा जोड दिएको पाण्डे बताउँछन् । तीन वर्ष अगाडिबाट व्यवसाय सुरु गरेका पाण्डे अहिले यस क्षेत्रकै अगुवा कृषकका रुपमा चिनिन थालेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २५, २०७३