बिहिबार, बैशाख १३, २०८१

शहरमा बढ्दै छ कोशी तरकारीखेती

roof topकाठमाडौं । काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रमा यतिखेर कौशी तरकारीखेतीको आकर्षण बढ्दै गईरहेको छ । बढ्दै गईरहेको जनधनत्व र चर्को मूल्यमा तरकारी जन्य उत्पादन खरिद गर्नु पर्ने भएपछि धेरै घरधनीहरुले आफ्नो घरको छतमा तरकारीखेती गर्न थालेका छन् ।
कौशी तरकारीखेतीमा सर्वसाधारण मात्र होइन सरकारी कर्मचारीहरुले पनि बढी रुचि देखाएको देखिन्छ । अझ सिंहदरबारभित्र जागिर भएका उच्च सरकारी कर्मचारीहरुले घट्टेकुलो, मैतिदेवी बानेश्वर लगायतका क्षेत्रमा घर निर्माण गरेर कौशी तरकारी खेती गरिरहेका छन् । महानगरक्षेत्रभित्र शहरी कृषिलाई उत्प्रेरित गर्न काठमाडौं महानगरपालिकाले यस आर्थिक बर्षमा ५०० घरधुरीलाई कौशी तरकारी खेतीका लागि तालिम समेत दिएको देखिन्छ । चःमति क्षेत्रका ५०० घरधुरी यतिखेर काठमाडौं महानगरपालिकाको तालिम पश्चात कौशी तरकारी खेतीमा रमाईरहेका छन् । बढ्दो बस्तीको क्रमसँगै तरकारीखेतीका लागि जग्गाको अभाव हुने गरेको अहिलेको अवस्थामा कतिपयले आफ्नो शौखका रूपमा पनि कौसी तरकारीखेती गर्न थालेका छन् । तरकारीखेतीका लागि जग्गा नभएको अवस्थामा घरको छतमा प्लास्टिक तथा गमलाको प्रयोग गरी आफ्नो घरका लागि आवश्यक पर्ने तरकारी लगाउने गरेको देखिन्छ । विगतका समयमा फूलका गमला मात्र छतमा राख्ने गरिएको भएपनि पछिल्लो समयमा तरकारीखेती समेत गर्न थालिएको प्रचार प्रसार हुन थालेपछि धेरै घरधनीहरु आफै कौशी तरकारी खेतीतर्फ आकर्षित भएका देखिन्छन् ।
कौशी तरकारी खेती गर्ने धेरै सरकारी कर्मचारीहरु मध्ये काठमाडौं महानगरपालिका भौतिक विकास तथा योजना शाखामा कार्यरत प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले पनि घट्टेकुलोमा रहेको आफ्नो घरमा कौशी तरकारी खेती गरेको बताउनु हुन्छ । ताजा र बिषादी रहित तरकारी बजारमा खोजी गर्नु भन्दा आफ्नै कौशीमा फलाएको तरकारीले स्वास्थ्यमा पनि राम्रो हुने तरकारी खेतीका लागि शारीरिक श्रम पनि हुने दुवै कुराको फाइदा भएको पौडेलको भनाई छ ।
पौडेलले शुरुवात गरेको कौशी तरकारी खेती काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत एवं सहसचिव केदारबहादुर अधिकारी लगायत कर्मचारीहरुका लागि भ्रमण स्थल नै बनेको पौडेल बताउनु हुन्छ । पौडेल जस्तै साहित्यकार पवन आलोक, वैकर दिलीप श्रेष्ठ, व्यवसायी लोकदर्शन श्रेष्ठले पनि आफ्नो घरको छतमा कौशी तरकारी खेती गरिरहनु भएको छ ।
पछिल्लो समयमा बढ्दो बस्तीले गर्दा तरकारीखेतीका लागि जग्गा अभाव हुने गरेकामा तरकारीखेती गर्ने वैकल्पिक उपायका रूपमा यो प्रविधि उपयोग गर्न थालिएको छ ।
कौशी तरकारी खेतीको प्रविधिको उपयोगले घरमा आवश्यक पर्ने तरकारीको सहजै आपूर्ति गर्न सकिने मात्र नभएर रकमको बचत समेत हुने गरेको  कृषि विकास मन्त्रालय बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्मा बताउनु हुन्छ । हरेक मौसम अनुसारको तरकारी खेती गरिरहनु भएका शर्मालाई मौसम अनुकूलको तरकारी किन्न बजारमा दौडनु पर्दैन ।  शहरी क्षेत्रका जनतामा विस्तारै कौसी तरकारीखेतीतर्फ आकर्षण बढिरहेको छ । बजारमा विषादीजन्य तरकारीको बिक्री बढिरहेका अवस्थामा विषादीरहित कौसी तरकारीखेतीलाई निकै उपयोगी मान्ने गरिएका कारण पनि यसतर्फ आकर्षण बढेको कौशी तरकारी खेती गर्नेहरु बताउँछन् । शहरी क्षेत्रमा बढ्दै गईरहेको कौशी तरकारी खेतीलाई व्यवस्थित बनाउनका लागि सरकारी निकायहरुबाट पहल गर्ने हो भने काठमाडौ लगायतका शहरी क्षेत्रका घरहरु तरकारी खेतीमय बन्ने सम्भावना प्रवल देखिन्छ ।
-योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: शनिबार, फाल्गुन ३, २०७०