शुक्रबार, बैशाख ७, २०८१

व्यावसायिक रुपमा अल्लो खेती

सल्लेरी, वैशाख  । सोलुखुम्बुको एक सहकारीले व्यावसायिक अल्लो खेती सुरु गरेको छ । महाकुलुङ–३ छेस्काममा रहेको महाकुलुङ गरिबी निवारण कृषि सहकारी संस्था लिमिटेडले ८३ रोपनी क्षेत्रफलमा अल्लो खेती सुरु गरी गाउँमा नै प्रशोधन सुरु गरेको हो । सहकारीले अल्लो खेतीबाट गत आर्थिक वर्षमा ३६ लाख बढी आम्दानी गरेको पनि जनाएको छ ।

अल्लो खेतीमा स्थानीयको आकर्षण बढेपछि सहकारीले व्यावसायिक खेती सुरु गरेको जानकारी दिएको छ । व्यावसायिक अल्लो खेतीमा छ सय ३८ जना सेयर सदस्य रहेको सहकारीका अध्यक्ष शक्ति कुलुङले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीले खेतीसम्बन्धी तालिम, प्रशोधन तालिम, उद्यमशीलता तथा व्यावसायिकता तालिम, अल्लो धागो निकाल्ने गरी धेरै प्रकारका तालिम पनि उपलब्ध गराउँदै आएको छ ।
सहकारीले गरिबी निवारण कोषको २४ लाख ९७ हजार ९२५ रुपियाँ र घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुको एक लाख ६१ हजार आर्थिक सहयोगमा व्यावसायिक खेती गरेको जनाएको छ । उक्त लगानीबाट खेती सुरु गर्नुका साथै संरक्षणका लागि तारबार, मलजल, तालिम, कपडा बुनाइको काम आदि सम्पन्न गरिएको सहकारीले जानकारी दिएको छ । अल्लो प्रशोधनका लागि कुवा निर्माण, भण्डारण केन्द्र व्यवस्था, सिँचाइजस्ता पूर्वाधार निर्माण गरी सहकारीले खेती गर्दै आएको छ । स्थानीय बजारमै अहिले अल्लोको राम्रो बजार मूल्य रहेको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख १२, २०७५