शुक्रबार, बैशाख ७, २०८१

व्यावसायिक दुग्ध उत्पादनका लागि नीति सुधार्नु आवश्यक

रत्ननगर (चितवन), २३ चैत । कृषिमन्त्री हरिप्रसाद पराजुलीले समग्र कृषि व्यवसायको विकासका लागि नीतिमा सुधार गर्नु आवश्यक रहेको बताएका छन् । व्यावसायिक दुग्ध उत्पादक समाज चितवनको प्रथम साधारणसभाको उद्घाटन गर्दै मन्त्री पराजुलीले नीतिगत सुधार नभएसम्म कृषकको समस्या हल नहुने बताए । कृषकले राखेका विभिन्न जिज्ञासाप्रति उनले स्वाभिमानी किसान निर्माण गरी स्वावलम्बी बन्ने योजनासहित सरकार प्रस्तुत भइरहेको उल्लेख गरे । दूधको मूल्य, पशु बिमा, उत्पादन र वितरण प्रणालीमा धेरै समस्या रहेको स्वीकार गर्दै मन्त्री पराजुलीले अहिले सरकारले पहिलो पटक दूधमा यतिधेरै मूल्यवृद्धि गरेको दाबी गरे । कार्यक्रममा सभासद् कृष्णभक्त पोख्रेलले लागतअनुसार दूधको मूल्य किसानले पाउनुपर्ने बताउँदै यसका लागि आफू सक्रिय रहने बताए । पूर्व सभासद् चित्रबहादुर श्रेष्ठले आयोग बनाएर दूधको वैज्ञानिक मूल्य निर्धारण गरे मात्रै किसानले राहत पाउने धारणा राखे । करिब २०० कृषक उपस्थित कार्यक्रममा किसानले दूधको मूल्य ३३ प्रतिशत वृद्धि हुनुपर्ने, बिमाको उचित प्रबन्ध गर्नुपर्ने, ऋण सहुलियत तथा अनुदानको व्यवस्था गर्नुपर्नेलगायतका माग मन्त्री पराजुलीसमक्ष राखेका थिए । सो क्रममा नियमित पशुपालन गर्ने ५० भन्दा बढी किसानलाई सम्मान गरिएको थियो । जिल्लामा २०० बढी दुग्ध उत्पादन किसान छन् भने यहाँ दैेनिक दुई लाख लिटर दूध उत्पादन हुने बताइएको छ ।

प्रकाशित मिति: आइतवार, चैत्र २३, २०७०