बिहिबार, चैत्र १५, २०८०

वैतडीका किसानलाई निर्वाचन भन्दा मकै छर्ने चटारो

बैतडी, जेठ । स्थानीय तहको निर्वाचन जेठ ३१ मा हुने भएपछि यहाँका कृषकलाई मकै छर्न चटारो परेको छ । जिल्लाको मध्यक्षेत्रमा पर्ने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा मकै छर्न चटारो भएको स्थानीयवासी हेमराज गिरीले बताए । वैशाख अन्तिम सातादेखि जेठ अन्तिम सातासम्म मकै छरिसक्नुपर्ने हुन्छ ।
मकै जिल्लाको मुख्य बर्र्खे खाद्य बाली हो । मकै छर्दा खेतलाई राम्रोसँग खनजोत गरेर छर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्द बताउँछन् । “यस जिल्लाको हकमा जेठ पहिलो सातादेखि दोस्रो सातासम्म मकै छर्नु उपयुक्त मानिन्छ,” उनले भने ।
स्थानीय जातभन्दा उन्नत जातको बीउ लगाउँदा मकै बढी फल्ने चन्दको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयले यसअघि नै किसानलाई ७५ प्रतिशत अनुदानमा उन्नत जातको मकैको बीउ वितरण गरिसकेको छ । जिल्लामा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १, २०७४